गोरखाको नौ पालिकामा माओवादी, दुईमा कांग्रेस विजयी «

गोरखाको नौ पालिकामा माओवादी, दुईमा कांग्रेस विजयी

गोरखा-गोरखाका ११ मध्ये नौ पालिका प्रमुख नेकपा माओवादी केन्द्रले जितेको छ । अघिल्लो स्थानीय तहको चुनावमा २ वटा पालिकामा सीमित भएको माओेवादी यो पटक नौ पालिकामा विजयी हुन सफल भएको हो । अघिल्लो पटक आफूले जितेको सात पालिकामा माओवादी विजयी भएपछि कांग्रेसले यो पटक दुई पालिका प्रमुखमा चित्त बुझाएको छ ।
माओवादी केन्द्रले शहिद लखन, बारपाक सुलिकोट, धार्चे, चुमनुब्री, अजिरकोट र पालुङटार नगरपालिकामा मेयर र उपमेयर दुबै पदमा जितेको छ । गोरखा नगरपालिका, भिमसेन थापा गाउँपालिका र गण्डकी गाउँपालिकामा प्रमुख माओवादीले जित्दा उपप्रमुख नेपाली कांग्रेसले जितेको छ । कांग्रेसले आरुघाट र सिरानचोक गाउँपालिकामा प्रमुख उपप्रुख दुवै पदमा विजयी भएको छ ।
गोरखामा एमाले र जसपाले कुनै पनि पालिका प्रमुख र उपप्रमुख जितेको छैन । जसपाले पालुङटारमा ३ वटा वडा मात्रै जितेको छ । ०७४ मा जसपाले ५ वडा जितेको थियो । गोरखामा एमालेले ९४ मध्ये जम्मा १० वडामात्रै जितेको छ । ०७४ मा एमालेले १४ वडा जितेकोमा यसपालि चार वडा गुमाएको हो ।
आरूघाट गाउँपालिकामा एमालेले चार वडा, गण्डकीमा एक वडा, गोरखा नगरपालिकामा दुई वडा, धार्चे गाउँपालिकामा दुई वडा, शहिदलखन गाउँपालिकामा एक गरी १० वडा एमालेले जितेको हो ।
गोरखाका ९४ वडामा माओवादीले ४३, कांग्रेस ३७, एमाले १०, जसपा ३ र स्वतन्त्र १ जनाले वडा जितेका छन् ।
गोरखामा पालिका प्रमुख र उपप्रमुखमा कांग्रेसले गोरखा नगरपालिकामा एकीकृत समाजवादीको साथ पाएको थियो भने माओवादीले गण्डकी गाउँपालिका र गोरखा नगरपालिकामा जनता समाजवादी पार्टी (जसपा) सँग गठबन्धन गरेको थियो ।
माओवादीले गठबन्धन गरेको दुवै पालिकामा प्रमुख माओवादीले जिते पनि उपप्रमुखमा जसपालाई जिताउन सफल भएन । उपप्रमुख भने एक्लै लडेको नेपाली कांग्रेसले जितेको छ । गोरखा नगरपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार कृष्णबहादुर राना ८९ सय ६४ र उपमेयरमा कांग्रेसकी मसलीमाया थोकर (सपना पुन) ७४ सय ५३ विजयी भए ।
जसपाका नेता डा. बाबुराम भट्टराईको गृहनगर पालुङटार नगरपालिकामा कांग्रेससँगको गठबन्धन प्रयास सफल हुन नसकेपछि जसपाले नेकपा एमालेसँग गठबन्धन गरेको थियो । मेयर आफूले लिएर जसपाले एमालेलाई उपमेयर दियो तर यो गठबन्धनले चुनाव जित्न सकेन ।
पालुङटारमा नेकपा माओवादी केन्द्रका मेयरका उम्मेदवार विवस चिन्तन ६०७२ र उपमेयरमा माओवादीकै बन्दना पाण्डे ५५ सय ७९ मतका साथ निर्वाचित भए ।
धार्चे गाउँपालिकामा कांग्रेसले पालिका र वडा सबै गुमाउनु प-यो । धार्चेको अध्यक्षमा माओवादीका लक्ष्मण गुरुङ ३७ सय ७१ मतका साथ अध्यक्ष र उपाध्यक्षमा सुनिला गुरुङ ३७ सय ७९ मततका साथ निर्वाचित भए ।
गण्डकी गाउँपालिकामा जसपासँग तालेमत गरी चुनावमा होमिएको माओवादीले गाउँपालिका अध्यक्ष जित्यो तर जसपाका उम्मेदवार उपाध्यक्षमा हारे । अध्यक्षमा नेकपा माओवादी केन्द्रका दिपक तिमिल्सिना (साकार) ६३ सय २६ र उपाध्यक्षमा विजयी कांग्रेसकी ललिता अधिकारीले ४८ सय २१ मतका साथ जिते । कांग्रेसको गढका रुपमा चिनीएको भिमसेनथापा गाउँपालिकामा माओवादी उम्मेदवार लोकप्रसाद बन्जारा ५६ सय ५१ मतका साथअध्यक्ष निर्वाचित भए ।
कांग्रेसकी अमृता वस्ती ५१ सय ४७ मतका साथ उपाधयक्षमा विजयी भइन् । यो गाउँपालिकाको २, ३, ४ वडामात्रै कांग्रेसले जित्यो भने माओवादीले गाउँपालिका अध्यक्षसहित वडा नम्बर १, ५, ६, ७ जितेको छ ।
योपटक पनि बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा माओवादीका विष्णु भट्ट ५७ सय १९ र सनमाया गुरूङ ५७ सय ६५ मतका साथ दोहोरिए । आरूघाट गाउँपालिकामा कांग्रेसका अध्यक्ष राजु गुरुङ ५५ सय ५६र उपाध्यक्षमा कल्पना नेपाली ५६ सय ३१ मतका साथ विजयी भए ।
शहिदलखन गाउँपालिकामा दोस्रो कार्यकालका लागि माओवादीबाट अध्यक्षमा रमेश थापा ५४ सय ७४ र उपाध्यक्षमा इन्दिरा तिवारी ४९ सय ९६ मतसहित निर्वाचित भए । अघिल्लो पटक कांग्रेसले जितेको अजिरकोट गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार अध्यक्ष र उपाध्यक्ष निर्वाचित भए । ०७४ मा अध्यक्ष हारेका माओवादी केन्द्रका दीपक देवकोटाले यसपालि ३७ सय ८७ मतसहित अध्यक्ष जिते भने पहिले उपाध्यक्ष हारेकी अनिता भुजेल ३५ सय ३२ मतसहित यसपालि निर्वाचित भइन् ।
सिरानचोक गाउँपालिकामा कांग्रेसले अध्यक्ष र उपाध्यक्षसहित ५ वडाध्यक्ष जितेको छ ।
अध्यक्षमा ज्ञानेन्द्र गुरूङ ५४ सय तीन र उपाध्यक्ष रीता देवकोटा ४८ सय चार मतसहित विजयी भए । माओवादी वरिष्ठ नेता नारायणकाजी श्रेष्ठको वडा सिरानचोक ८ मा पनि कांग्रेसले जित हात पा-यो । विकटमा रहेको चुमनुब्री पनि माओवादीले कांग्रेसबाट खोसेको छ । अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार निमा लामा १६ सय २४ र उपाध्यक्षमा लक्ष्मी गुरुङ १५ सय ६५ मतले जिते । सात वडामध्ये यहाँ कांग्रेसले ५ वडाध्यक्ष जितेको थियो ।
कांग्रेसबाट नौ पालिका प्रमुख खोसेको माओवादीले यसलाई महत्वपूर्ण सफलता भनेको छ । बाबुराम भट्टराईले नयाँ शक्ति गठन गर्दा यसअघि माओवादीलाई लागेको धक्का अब पूर्ति गर्ने बाटोमा आफूहरू रहेको माओवादी नेताहरू बताउँछन् ।
माओवादी नेतासमेत रहेका प्रतिनिधिसभा सांसद हरिराज अधिकारीले माओवादीले ०७४ मा चुनाव हारेपछि अधिकांश नेता तथा कार्यकर्ता आफ्ना क्षेत्रमा निरन्तर लागिपर्दा अहिले जनताले मत दिएको बताए ।
गठबन्धन गर्न केन्द्रले दबाब दिँदा चुनावी प्रचार पनि राम्रोसँग गर्न नपाइएको र आन्तरिक समस्याले धेरै पालिका गुमाउनुपरेको कांग्रेसले जनाएको छ ।
उम्मेदवार छनोटलगायत आन्तरिक कारणले पनि कांग्रेसले पराजय भोग्नुपरेको जिल्ला सचिव किशोरजंग थापाले बताए ।
गृहनगर पालुङटारमा जसपाका उम्मदेवारलाई मेयर जिताउन जसपाका संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई दिनरात खटे पनि आफ्नो पक्षमा मत ल्याउन सकेनन् ।
भट्टराईले पालुङटारलाई आफूले नमुना बनाउन खोजेको तर सफल नभएको प्रतिक्रिया दिए । जसपाका गोरखा अध्यक्ष यानप्रसाद भट्टले गठबन्धन गर्न दलहरूबाट सहयोग नपाएको बताए ।
गठबन्धनका क्रममा कुनै दलबाट राजनीतिक गद्दारी र कुनै दलबाट अहम दम्भको पराकाष्ठाका कारण गणितमा आफूहरू फेल भएको उनको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्