असारदेखि भैरहवाबाटै श्रम स्विकृृति «

असारदेखि भैरहवाबाटै श्रम स्विकृृति

भैरहवा-श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले भैरहवामा १ असारदेखि वैदेशिक रोजगार विभागको कार्यालय स्थापना हुने बताएका छन् ।
सिद्धार्थ उद्योग वाणिज्य संघमा आयोजित छलफल कार्यक्रममा मन्त्री श्रेष्ठले भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट २ जेठदेखि अन्तर्राष्ट्रिय उडान सुरु भएसँगै यहाबाट वैदेशिक रोजगारीका लागि उडान भर्नेहरुले श्रम स्विकृति लिन काठमाडौं जानु पर्ने बाध्यता भएपछि सहजताका लागि सरोकारवाला निकायले श्रम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको ध्यानकर्षण गरेका थिए ।
मन्त्रालयका निमित्त सचिवलगायत विभिन्न फाँटका प्रमुखसहित भैरहवा आएका मन्त्री श्रेष्ठले १असारदेखि वैदेशिक रोजगार विभाग कार्यालय स्थापना हुने भएकाले सहयोग गर्न सबै सरोकारवाला निकायमा आग्रह गर्दै भने, “श्रम स्विकृति दिने कार्यालय मात्र नभइ वैदेशिक रोजगारमा जाँदा गरिने स्वास्थ्य परीक्षण, खाडी मुलुकका भिसा सेन्टरका शाखा, म्यापावर कार्यालयका शाखासमेत स्थापना गर्ने तयारी भइरहेको छ” मन्त्री श्रेष्ठले भने ।
यो विमानस्थल नेपालको आर्थिक समृद्धिसँग जोडिएकाले पूर्णरुपमा सञ्चालन हुने गरी योजना बनाउनु पर्ने भन्दै उनले भने, “पर्यटन मन्त्रालयले अन्तर्राष्ट्रिय विमानस्थल बनायो, श्रम मन्त्रालयले यो विमानस्थल चलाउँछ । यो विमानस्थलको सफलताका लागि श्रम मन्त्रालयले कुनै कसर बाकी राख्ने छैन” उनले भने ।
छलफल कार्यक्रममा रुपन्देहीका संघीय सांसद प्रमोद यादवले कुनै पनि हालतमा वैदेशिक रोजगारमा जानेहरुको आवश्यक सबै काम भैरहवाबाटै हने व्यवस्था गर्न आग्रह गरे । उनले श्रमसँग आवश्यक सबै सरोकारवाला पनि एकै साथ स्थापना हुनु पर्नेमा जोड दिए ।
सिद्धार्थनगर नगर पालिकाका नव निर्वाचित मेयर इश्तियाक अहमद खानले श्रम सम्बन्धि आवश्यक सबै कार्यालय स्थापना भैरहवामा गर्न नगरपालिकाले सक्दो सहयोग गर्ने बताए ।
नेपाल नागरिक उड्यन प्राधिकरणका महानिर्देशक ई प्रदिप अधिकारीले बुद्ध जन्मस्थल लुम्बिनीलाई प्रवद्र्धन नगरी यो विमानस्थल पूर्णरुपमा सञ्चालन हुन नसक्ने भन्दै सबै पर्यटन व्यवसायीलाई लुम्बिनीको प्रवद्र्धन एवं प्रचारमा लाग्न आग्रह गरे । वैदेशिक रोजगारीमा जानेहरुका लागि श्रम सम्बन्धि सबै काम यहीबाट छिटै हुनेमा आफू विश्वस्त रहेको उनले बताए ।
सिद्धार्थ होटल संघ नेपाल शानका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठले श्रम स्विकृतिलगायतका समस्या यो विमानस्थलमा आउन नहुने भन्दै समाधान तुरुन्त हुनु पर्नेमा जोड दिए । उनले यो क्षेत्रमा होटलमा अर्बौ रुपैयाँ लगानी भइसकेकाले त्यो लगानी सुरक्षित गर्न पनि विमानस्थल निरन्तर सञ्चालनमा आउनु पर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्