Logo

नबिलले एनबी बैंक प्राप्ति गर्ने पक्का

अन्ततः नबिल बैंक लिमिटेडले (नबिल बैंक) नेपाल नेपाल बंगलादेश बैंक लिमिटेडलाई (एनबी बैंक) प्राप्ति गर्ने पक्का भएको छ । शनिबार सम्पन्न नबिल र एनबी बैंकको छुट्टाछुट्टै विशेष साधारणसभाले यी दुई बैंक एक आपसमा एक्विजेसन (प्राप्ति) गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गरेर अख्तियारी दिएपछि गाभ्ने– गाभिने प्रक्रिया अगाढि बढेको छ ।
दुवै बैंकको विशेष साधारणसभाले सभामा प्रस्ताव गरेका सबै एजेण्डा पारित गरेको बैंकहरुले जनाएका छन् । एनबी बैंकलाई गाभेपछि नबिल बैंक अधिकांश सूचकमा पहिलो बैंक बन्ने उसले दाबी गरेको छ । एनबी बैंकको सम्पत्ति र दायित्वको मूल्यांकन प्रतिवेदन तथा अन्य सम्वद्ध व्यवस्थाको आधारमा निर्धारण गरिएको सेयर मूल्य अनुपात १००ः४३ लाई विशेष साधारण सभाले स्वीकृति प्रदान गरेका कारण एनबी बैंकका सेयरधनीले १०० कित्ताबराबर नबिल बैंकको ४३ कित्ता सेयर प्राप्त गर्नेछन् ।
साथै, विशेष साधारणसभाले एनबी बैंकलाई नबिलले प्राप्ति गर्ने सम्बन्धमा भएको सम्पत्ति, दायित्व, तथा कारोबारको मूल्यांकनकर्ता पिकेएफ टी.आर. उपाध्याय एण्ड कम्पनी, चार्टर्ड एकाउण्टेन्ट्सको नियुक्ति तथा निजलाई भुक्तानी गरिएको पारिश्रमिक, सम्पत्ति तथा दायित्व मूल्यांकन प्रतिवेदन, समझदारीपत्र तथा अन्तिम सम्झौता पत्रलगायतका सम्पूर्ण कामकारवाहीलाई अनुमोदन गर्ने प्रस्ताव समेत पारित गरेको पनि बैंकले जनाएको छ
२०७८ चैत मसान्तसम्मको वित्तीय विवरण अनुसार नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरेपछि नबिल बैंकको चुक्ता पुँजी २२ अर्ब ८३ करोड २९ लाख ८ हजार पुग्नेछ भने कर्जा रकम ३०९ अर्ब र निक्षेप रकम ३२० अर्ब पुग्ने बंैकले जनाएको छ । त्यसैगरी बैंकको गैरकोषमा आधारित व्यवसायको आकार १४५ अर्ब पुग्नेछ भने प्राप्तिपश्चात् नबिल बैंकको शाखा सञ्जाल वृद्धि भई २५४ पुग्ने पनि बैंकले जनाएको छ । त्यसैगरी, ९ महिनाको संयुक्त खुद मुनाफा ४ अर्ब ४६ करोड हुनेछ ।
नबिल बैंक र एनबि बैंकबीचको मर्जर रोक्न परेको रिट निवेदकले फिर्ता लिएपछि मर्जर अगाडि बढाउन सहज भएको हो । लक्ष्मीबहादुर श्रेष्ठ समूहको कम्पनी दिव्यश्वरी इन्भेष्टमेन्ट प्रालि र नेपाल पावर डेभलपमेन्ट एण्ड इन्भेष्टमेन्ट कम्पनीले दुई छुट्टाछुट्टै रिट अदालतमा हालेका थिए । कम्पनीले नेपाल स्टक एक्सचेन्ज र नेपाल धितोपत्र बोर्डलाई पनि मुद्दा हालेका थिए । साथै दुवै बैंक, नेपाल राष्ट्र बैंकविरुद्ध पनि उनीहरुले मुद्दा हालेका थिए ।

प्रतिक्रिया दिनुहोस्