धुनीबेसीलाई नमुना नगरपालिका बनाउने योजना «

धुनीबेसीलाई नमुना नगरपालिका बनाउने योजना

प्रदेश : बागमती
जिल्ला : धादिङ
स्थानीय तह : धुनीबेसी नगरपालिका

वडा संख्या : ९
नवनिर्वाचित प्रमुख : बालकृष्ण आचार्य
नवनिर्वाचित उपप्रमुख : सुरज उप्रेती
प्रमुख प्रशासकीय अधिकृत : हरिदत्त कँडेल
क्षेत्रफल : ९८.६४ वर्गमिटर
जनसंख्या : ३६ हजार ५४

मुलुक संघीय संरचनामा गएपछि दोस्रो कार्यकालका लागि स्थानीय तह सदस्य निर्वाचन २०७९ वैशाख ३० मा सम्पन भई नतिजासमेत सार्वजनिक भइसकेको छ । धादिङ जिल्लाको पूर्वी क्षेत्रमा पर्ने धुनीबेसी नगरपालिका संघीय राजधानी काठमाडौं प्रवेश गर्ने त्रिभुवन राजपथमा पर्छ । यस नगरपालिकामा दोस्रो कार्यकालका लागि पुनः बालकृष्ण आचार्य निर्वाचित भएका छन् । आचार्य धुनीबेसी नगरपालिकालाई संघीय राजधानीको गेटवे नमुना नगरपालिका बनाउने सोच यसरी सुनाउँछन् ।
संघीय राजधानी काठमाडौं आवतजावत गर्ने मुख्य राजमार्ग प्रवेशद्वार धुनीबेसी नगरपालिका हो । यस कारण पनि धुनीबेसीको चौतर्फी विकास गर्नु मेरो नेतृत्वमा रहेको जनप्रतिनिधिहरूलाई चुनौती छ । तर, यस किसिमको चुनौतीलाई अवसरका रूपमा लिएर हामी अघि बढ्छौं ।
संघीय राजधानी आउने–जानेहरू जसले नागढुंगा निस्कँदा होस् वा धार्के प्रवेश गर्दा होस्, धुनीबेसीको विकास हेर्ने र आ–आफ्नो पालिकामा गएर विकास त धुनीबेसीको जस्तो हुनुपर्छ भनेर सुनाउन लायक बनाउने सोचलाई साकार पार्न पुनः नगरप्रमुखमा निर्वाचित गराउनुभएको छ ।
राजमार्ग क्षेत्रमा यात्रुमैत्री सार्वजनिक शौचालय बनाउने, होटलका सेवाहरू यात्रुमैत्री बनाउने र सडकको वातावरण शान्तपूर्ण र चालकमैत्री बनाउने योजना छ । नागढुंगाको ट्राफिक जाम सुरुङ मार्ग सञ्चालनमा आएपछि केही हदमा कम हुन्छ । धार्के–सीतापाइला सडकको स्तरोन्नति भइरहेको छ, सम्पन्न भएपछि ट्राफिक जाम हुँदैन ।
राजधानीमा कामविशेषले बाहिरी जिल्लाबाट आउनुभएका वा काठमाडौंमै बस्दै आउनुभएकाहरूका लागि एक दिन धुनीबेसीमा बसूँ–बसूँ लाग्ने बनाउन कृषि पर्यटन, खेल पर्यटन, धार्मिक पर्यटनलाई एकसाथ विकास गर्ने योजना यस अघिबाटै सुरु गरेका छौं । धुनीबेसी पार्क निर्माण गरेका छौं ।
प्याराफिटसहित राष्ट्रिय स्तरको खेल मैदान निर्माण भइरहेको छ । भ्यू पार्क निर्माण गरेका छौं । मठमन्दिर निर्माण गरेका छौं । यहाँ व्यावसायिक कृषि उत्पादन हुँदै आएको छ । यी सबै चिजलाई व्यवस्थित गर्दै उद्यमी तथा व्यावसायिक शिक्षा पाठशाला व्यवस्थित गर्ने र कोर्स पूरा गरेपछि स्वरोजगार वा रोजगार हुन के गर्ने भनेर नअलमलियोस् ।
निःशुल्क एम्बुलेन्स सेवा दिँदै आएका छौं र निरन्तरता दिन्छौं । विशेषज्ञ सेवासहित नगरस्तरीय अस्पताल सञ्चालन गर्छौं । सहाराविहीन वृद्धवृद्धा र अपांगता भएकाहरूको विशेष हेरचाह गर्नेछौं । स्वास्थ्य सेवासहित सुविधासम्पन्न वृद्धाश्रम स्थल निर्माण गरेका छौं । आवश्यकताअनुसार थप गर्दै लगिनेछ । खानेपानी एक घर एक धारा बनाउन ४० प्रतिशत बाँकी छ । यो काम दुई वर्षभित्र पूरा गर्छौं ।
धुनीबेसी नगर क्षेत्रभित्रका २ सय १० वटा सडकलाई बाह्रै महिना सुचारु गर्ने योजना छ, जसले गर्दा किसानले थाप्लोमा नाम्लो राख्न नपरोस् । नगर क्षेत्रका मुख्य सडकहरू पाँच वर्षभित्र कालोपत्रे ढलान गरेर पक्की बनाउँछौं ।
संघीय सरकारको कृषि विकास मन्त्रालयअन्तर्गत बजार विकास निर्देशनालयको नाममा रहेको धार्केको जग्गा भोगचलन प्राप्ति गरी राजमार्ग तरकारी बजार सञ्चालन गर्ने योजना छ, जुन बजारबाट धुनीबेसीका किसानले फलाएका तरकारी सबै जिल्लामा पुगोस् । किसानहरूलाई हचुवा र अनुमानको भरमा अनुदान दिने व्यवस्थाको अन्त्य गरी उत्पादन तथा बिक्रीको आधारमा अनुदान दिने व्यवस्था मिलाउने योजना छ ।
किसानहरूको सामाजिक सुरक्षालाई ध्यानमा राखी वृद्ध अवस्थामा केही सेवासुविधा दिन पनि योजना ल्याउँछौं, जसले गर्दा कृषि कर्म नभई पेसा, व्यवसाय बनोस् । तरकारी तथा फलफूल नर्सरी बनाउने किसानले सजिलैसँग तरकारी र फलफूलका बिरुवा मौसमअनुसार पाउन सकून् ।
पशुपालनका क्षेत्रमा किसानहरूलाई आकर्षण गर्न दुग्ध संकलन केन्द्र तथा चिस्यान केन्द्र बनाउन साझेदारी गर्ने, बाख्रापालनमा सहयोग, पाडापाडीमा अनुदान दिने र सहकारीहरूलाई व्यावसायिक साझेदारी बनाउने योजना छ ।
जग्गा नभएका परिवारले कृषि गर्न चाहे जग्गा भाडा नगरपालिकाले तिर्ने व्यवस्था मिलाउनेछौं । यी सबै गर्दा पनि खाद्य अधिकार प्राप्त गर्न नसक्ने परिवारलाई कानुनअनुसार खाद्य सहायता परिचयपत्र दिनेछौं । नागरिकको खाद्य अधिकार सुनिश्चित भएको नगरपालिका बनाउने योजना छ । त्यसका लागि खाद्य तथा पोषण सुरक्षा योजना बनाएका छौं ।
धुनीबेसी नगरपालिकाको प्रशासनिक भवन निर्माण भइरहेको छ । नगरपालिकामा सेवा लिन आउनेहरूलाई लक्षित गरी नगरपालिका कार्यालयबाट १७ वटा रुटमा नगरबस सञ्चालन गर्ने योजना छ । निजी सवारी साधन नहुने जोकोही सेवाग्राहीलाई अप्ठ्यारो वा असहज हुँदैन ।
बालमैत्री स्थानीय शासन घोषणा गर्न आवश्यक तयारी थालेर यही कार्यकालमै नमुना बनाएर देखाउने योजना छ । सेवा लिन आउने सेवाग्राहीहरूले महसुस गरून् कि हाम्रो नगरपालिकामा भ्रष्टाचार हुँदैन । हाम्रा जनप्रतिनिधि र कर्मचारी सुशासन कायम गर्छन् भन्ने हो । जनमुखी सेवा र सुशासनमा कमी हुन नदिने मेरो प्रण छ । हामी जनप्रतिनिधिहरू शासन गर्न चुनिएका होइनौं । हामी जनतालाई कानुनको अधीनमा रही जनतालाई चुस्तदुरुस्त सेवा प्रवाह गर्न सहजीकरण गर्ने र काम गर्न चुनिएका हौं ।
प्रस्तुति : राजेन्द्र बस्नेत

प्रतिक्रिया दिनुहोस्