स्थायी राजधानी र नामाकरण नटुङ्गिएकोमा सांसद आक्रोशित «

स्थायी राजधानी र नामाकरण नटुङ्गिएकोमा सांसद आक्रोशित

हेटौंडा-स्थायी राजधानी र नामाकरणको विषय टुङ्ग्याउन प्रदेश सभामुख र सरकारले पदाधिकारीले नै आलटाल गरिएको भन्दै ३ नम्बर प्रदेशका सांसदहरुले आक्रोश पोखेका छन् । स्थायी राजधानी र नामाकरणको विषय छ्ट्टिै टुङ्ग्याइने भन्दै प्रदेशसभा सदस्यलाई आश्वासन मात्र दिइएको तर, प्रक्रिया सुरु नगरिएको प्रति बुधबारको प्रदेशसभाको शून्य समयमा बोल्ने सांसदहरुले आक्रोश पोखे ।
संविधानले तोकेको अधिकार प्रयोग गर्दै चाँडो भन्दा चाँडो राजधानी र नामाकरणको विषय टुङ्ग्याउनुपर्नेमा उनीहरुको जोड रहेको थियो । राजधानीको विषय चाँडै टुङ्ग्याउने भन्दै प्रदेश सरकार र सभामुखले आश्वासन मात्र दिएको तर, प्रक्रिया भने सुरु नगरेको भन्दै प्रदेशसभा सदस्यहरुले प्रश्न उठाएका थिए । सांसद छिरिङ दोर्जे लामाले प्रदेश सरकार अलमल भएपनि प्रदेशसभा अलमल हुन नहुने भन्दै प्रदेशसभामा सभामुखले उद्घोष गरेको राजधानी टुंगो लगाउने कार्यविधि कहाँ पुग्यो भनेर सोधेका थिए ।
राजधानी र नामाकरणको विषय टुङ्ग्याउने अधिकार प्रदेशसभालाई संविधानले नै व्यवस्था गरेको भए पनि त्यसबारेमा सभामा छलफल नै हुन नसकेको भन्दै उनले आक्रोश पोखे । राजधानीको विषय नटुङ्गिँदा प्रदेश सरकार नै भूमरीमा फस्ने उनको तर्क थियो । अर्का सांसद् जीवन डंगोलले प्रदेशको स्थायी राजधानीको विषयमा प्रदेशसभामा प्रस्तुत नै नहुनु केही स्वार्थ केन्द्रित व्यक्तिको पराजित मानसिकताले काम गरेको आरोप लगाइन् । चालु अधिवेशनमै राजधानी र नामाकरण गर्छु भनी सभामुखले अभिव्यक्ति दिएको स्मरण गराउँदै उनले अबको केही समयमै सो विषयको टुङ्गो लाग्नुपर्ने उनको भनाइ थियो । संवैधानिक अधिकारको प्रयोग गर्न सांसद र सभामुख दुवै चुकिरहेको उनको भनाइ थियो ।
गत चैत २६ र २७ गतेको बैठकको विशेष समयमा उठेका सवालको जवाफ दिँदै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले राजधानीको विषय टुङ्ग्याउन सत्तापक्ष र विपक्ष दुवै गम्भीर भएर लाग्नुपर्ने बताए । राजधानी र नामाकरणको टुङ्गो नलागेको प्रति सरकारलाई मात्र आरोप लगाइरहिएको भन्दै उनले भने, “यस विषयमा दुई तिहाईले शीर झुकाउनुपर्ने, अल्पमतले शीर ठाडो पार्नुपर्ने अवस्था छैन, राजधानी र नामाकरणको बारे टुङ्गो लगाउन सबै एक भएर संवैधानिक प्रक्रियालाई रोज्नुपर्छ,” उनले भने ।
बुधबारको शून्य समयमा जगतबहादुर सिम्खडा, केशबराज पाण्डे, गणेशप्रसाद दुलाल, कृष्णप्रसाद खनाल, केशबप्रसाद पोखरेल, इन्द्रमाया गुरुङ, कृष्णप्रसाद भुर्तेल र कल्पना नेपालीलगायत १४ सांसदले समसामयिक विषय, आफ्नो क्षेत्रका समस्यालगायतको बारेमा बोलेका थिए । ३ नम्बर प्रदेशसभाले पहिलो पटक शून्य समयको अभ्यास गरेको हो । बुधबार दिउँसो १ बजे बसेको प्रदेशसभाको बैठकमा सभामुख सानुकुमार श्रेष्ठले पहिलो पटक शून्य समयको व्यवस्था गरिएको जानकारी गराएसँगै सो समयमा बोल्न सांसदले नाम टिपाएका थिए ।

एक विधेयक पारित, २ प्रतिवेदन पेश
बुधबारको प्रदेशसभा बैठकबाट एउटा विशेयक पारित भएको छ भने दुई वटा विधेयकमाथिको प्रतिवेदन सम्बन्धित समितिले प्रदेशसभामा पेश गरेको छ । सामाजिक विकास मन्त्रालयले पेश गरेको प्रदेश बालबालिकाको अधिकार सम्बन्धी विधेयक बुधबारको बैठकले सर्वसम्मत पारित गरिएको हो । मंगलबारको बैठकमा शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति घनश्याम दाहालले प्रदेश बालबालिकासम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमाथि शिक्षा स्वास्थ्य तथा कृषि समितिले बनाएको प्रतिवेदन सदनमा पेश गरेकोमा बुधबारको बैठकले सर्वसम्मत पारित गरेको हो । गत चैत २५ गतेको प्रदेशसभाले उक्त विधेयक छलफलको लागि समितिमा पठाएको थियो । योसँगै प्रदेशसभाबाट हालसम्म २६ वटा विधेयक पास भएको छ ।
बैठकमा प्रदेश मामिला समिति सभापति माधव पौडेलले प्रदेशसभाका पदाधिकारी तथा प्रदेशसभा सदस्यहरुको सेवासुविधाको सम्बन्धमा बनेको विधेयक–२०७५ माथिको संशोधन प्रस्तावको समितिमा दफाबार छलफलपश्चात् सदनमा प्रतिवेदन पेश गरेका छन् । त्यस्तै शिक्षा, कृषि तथा स्वास्थ्य समिति संयोजक घनश्याम दाहालले प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको समितिमा दफाबार छलफलपश्चात् सदनमा पारित गर्नका लागि पेश गरेका छन् । प्रदेशसभाको अर्को बैठक आज बिहीबार १ बजेको लागि बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्