हिमाका अध्यक्ष शाहीको पहिलो निर्णय
‘नागरिकको स्वास्थ्य बिमादेखि फ्रिवाईफाईसम्म’
जुम्ला -नवनिर्वाचित पालिका प्रमुखहरूले मुख्य निर्वाचन अधिकृतबाट पद तथा गोपनियताको शपथ लिएसँगै पदभार ग्रहण तथा धमाधम महोत्वकांक्षी पहिलो निर्णय गरिरहेका छन् । जसअन्तर्गत जुम्लाको हिमा गाउँपालिकाका नव निर्वाचित अध्यक्ष लक्ष्मण बहादुर शाहीले पदभार ग्रहण गर्दै हिमाका प्रत्यक नागरिकको निःशुल्क स्वास्थ्य बिमा गरिने लगायतका ६ वटा निर्णय गरेका छन् ।
आर्थिक अभावले उपचार नपाएर रोगसँग लडिरहेका जनताको राहत र बिमा पहुँचबाट छुटेकालाई बिमामा समेट्न पालिकाले प्रत्यक नागरिकको निःशुल्क स्वास्थ्य बिमा गर्ने पहिलो निर्णय गरिएको अध्यक्ष शाहीले बताए ।
साथै नमुना परीक्षणका लागि भैरव आधारभूत विधालय हिमा ३ जोगिवाडामा अंग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन गर्ने, हिमाका सम्पूर्ण वडा कार्यालय, सम्पूर्ण विद्यालय, स्वास्थ्य संस्था र प्रहरी चौकीहरूमा फ्रिवाईफाई र सीसी क्यामरा जडान गरिने निर्णय भएको अध्यक्ष शाहीले जानकारी दिए ।
उनले भने, “गाउँपालिकाको लागतले गर्न सक्ने र नागरिकले प्रत्यक्ष राहत पाउने कार्यक्रमलाई पनि प्रथामिकता दिइनेछ । ६० बर्ष माथिका जेष्ठ नागरिक, गर्भवति, सुत्केरी, गरिब, बिपन्न,अपांग तथा असाहय व्यक्तिहरूका लागि निःशुल्क एम्बुलेन्स सेवा संचालन गरिने छ । भने, हिमाका सम्पूर्ण सरकारी कार्यालय, सामुदायिक विद्यालयहरूमा विद्युतीय हाजिरीको ब्यबस्था गरिने छ ।”
संघीयताको मर्मअनुसार जनतालाई स्थानीय सरकारको महसुश हुने गरि सेवा प्रवाहदेखि नागरिकमैत्री तथा आवश्यकता मुखी योजना निर्माणमा जोड दिईने उनको भनाई छ । आफ्नो कार्यकालमा थोरै निर्णय धेरै नतिजामुखी काममा गर्नेसमेत प्रतिबद्धता गरे ।