नेप्से परिसूचक १५.८२ अंकले गिरावट «

नेप्से परिसूचक १५.८२ अंकले गिरावट

अड लटको मात्र कारोबार हुँदै आएकोमा यसपटकदेखि शुक्रबार पनि सेयर बजारमा नियमित कारोबार सुरु भएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आइतबारदेखि बिहीबारसम्म पाँच दिन नियमित कारोबार हुँदै आएकोमा शुक्रबार ‘अड लट’को मात्र कारोबार हुँदै आएको थियो । तर, सरकारले पेट्रोलियम पदार्थको बचत गर्ने नाममा १ जेठदेखि शनिबार र आइतबार सातामा दुई दिन बिदा दिने घोषणा गरेका कारण नियमित सेयर कारोबार चार दिनमा खुम्चने आशंकाका बीच नेपाल धितोपत्र बोर्डले नेप्सेलाई शुक्रबार पनि नियमित कारोबार गरि पाँचै दिन नियमित कारोबार गर्न निर्देशन दिए बमोजिम यसपटक शुक्रबार कारोबार स्रु भएको हो ।
सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय गरअनुसार सेयर बजार शुक्रबार पनि खोल्ने निर्णय गरिए पछि पहिलो पटक भएको नियमित कारोबार हुँदा नेप्से परिसूचकमा गिरावट आएको छ ।
शुक्रबार नेप्से परिसूचक १५.८२ विन्दु घटेर २२३५.०९ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.४७ विन्दु घटेको छ भने फ्लोट इण्डेक्स ०.९२ विन्दु र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६३ विन्दुले घटेको छ ।
शुक्रबार कारोबारमा आएका २ सय २३ कम्पनीको २५ लाख १७ हजार कित्ता सेयर ९२ करोड ९४ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । बिहीबारको तुलनामा कारोबार रकम र अंक दुवैमा गिरावट आएको छ । नेप्सेका १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूहको परिसूचकबाहेक सबै उपसमूहको परिसूचकमा गिरावट आएको छ । जसमा अन्य र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।
शुक्रबार कारोबार भएका १० कम्पनीको सेयरमूल्य उच्च विन्दुले बढेको छ । जसमा सामुदायिक लघुवित्त वित्तीय श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स र लक्ष्मी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य पनि २ प्रतिशतभन्दा बढी बढेको छ । त्यस्तै, तेह्रथुम पावर कम्पनीको सेयरमूल्य सर्वाधिक ४.९४ प्रतिशत घटेको छ । त्यसैगरी, प्रभु लाइफ इन्स्योरेन्सको सेयरमूल्य करिब ४ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा ३ करोड २ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री गरेर अरुण काबेली पावर शीर्ष स्थानमा रहेको छ भने हिमालयन डिष्टिलरीको करिब ३ करोडको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्