कोका–कोलाको सहकार्यमा हिमाल सरसफाइ अभियान «

कोका–कोलाको सहकार्यमा हिमाल सरसफाइ अभियान

सगरमाथा, ल्होत्से, मनास्लु, कञ्चनजंघा हिमाल लगायत ४ हिम–शृंखलाहरुको सरसफाई गर्दै नेपाली सेनाको अगुवाइमा सुरु भएको हिमाल सरसफाइ अभियानको आधा कार्य सफल भएको छ ।
प्रमुख कर्पोरेट साझेदारको रूपमा कोका–कोला फाउन्डेसन रहेको यस अभियानमा अन्य थुप्रै संस्थाहरुले पनि सहकार्य गरेका छन् । यस क्याम्पेनमा नेपाली सेना र शेर्पाहरु गरी जम्मा ७७ जना सदस्य रहेका छन् । वार्षिक ११ सय आरोही आउने ८ हजार मिटरभन्दा बढी उचाइका यी ४ हिमालमा आरोही सँग–सँगै ठूलो मात्रामा फोहोर पनि भित्रिन्छन् जसले गर्दा हिमाली क्षेत्रको फोहोर व्यवस्थापन एक प्रमुख चुनौतीको रुपमा रहेको छ ।
यही समस्या समाधान गर्नका लागि ५ अप्रिलबाट हिमाल सरसफाई अभियान सुरु गरिएको थियो जसमा अहिलेसम्म ४ वटा हिम–शृंखलाहरुबाट २९,९९८ केजी (५,२०४ केजी कुहिने र २४,७९४ केजी नकुहिने) फोहोर संकलन भइसकेको छ । यी फोहोरहरुमा रित्तो अक्सिजन क्यानिस्टरहरु, पाल, खानेकुराका कन्टेनरहरु, प्लाष्टिक, गिलास, आल्मुनियम, इलेक्ट्रोनिक फोहोरहरु आदि रहेका छन् ।
अभियानलाई तीव्रता दिँदै ३५ हजार केजी फोहोर संकलन गर्ने लक्ष्य सहित हिमाल सरसफाई भइरहेको छ । नेपाली सेना र विभिन्न सरोकारवालाको अगुवाइमा सञ्चालित यस हिमाल सरसफाई अभियान विश्वको सबैभन्दा ठूलो हिमाल सरसफाई अभियान मध्यको एक हो र यो अभियानको तेस्रो संस्करण हो जसमा कोका–कोला फाउन्डेसन लगातार ३ वर्षदेखि प्रमुख साझेदार रहेको छ ।
हिमालको प्राकृतिक सुन्दरता र वातावरण संरक्षण तथा जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्ने लक्ष्य सहित ४ वटा हिम–शृंखलाहरुको सरसफाइ गरी यो अभियान सञ्चालन गरिएको हो । स्थानीय सरकार, सरोकारवाला र सम्बन्धित साझेदारहरूसँगको समन्वयमा यो अभियान अघि बढिरहेको छ । यस अभियानबाट संकलन गरिएका फोहोरलाई रिसाइकल पार्टनरलाई हस्तान्तरण गरिनेछ। यो अभियान विश्व वातावरण दिवसको अवसर पारेर ५ जुन मा समापन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्