विद्युत् प्राधिकरण र माथिल्लो त्रिशूली–१ बीच पीपीए «

विद्युत् प्राधिकरण र माथिल्लो त्रिशूली–१ बीच पीपीए

नेपाल विद्युत् प्राधिकरण र २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको प्रवद्र्धकबीच विद्युत् खरिद सम्झौता (पीपीए) मा हस्ताक्षर भएको छ ।
४ दिनअघि विद्युत् प्राधिकरण सञ्चालक समितिले पीपीए गर्ने निर्णय गरेकोमा आइतबार प्राधिकरण र प्रवद्र्धक कोरियाको नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालिबीच पीपीएमा हस्ताक्षर भएको हो । प्राधिकरणको तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङ र कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत वो सेक यीले हस्ताक्षर गरेका छन् ।
प्रवद्र्धक कम्पनीले ८० प्रतिशत डलरमा र २० प्रतिशत नेपाली मुद्रामा भुक्तानी पाउने गरी पीपीए सम्झौता भइसकेको छ । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले सरकारले बनाएको डलर पीपीएसम्बन्धी कार्यविधिअनुसार नै नेपाली प्रवद्र्धक सरह डलरमा भुक्तानी दिने गरी पीपीए गर्ने निर्णय गरिएको र डलरको भाउ बढ्दाको जोखिमका लागि हेजिङ फन्डको प्रस्ताव गरिएकाले महँगो नभएको दाबी गरे । खिम्ती र भोटेकोसीमा डलर पीपीए गर्दा प्राधिकरणले ठूलो घाटा बेहोर्नु परेकाले डलरमा पीपीए गर्दा महँगो हुने भन्दै यसको विरोध हुँदै आएको छ । “नदी प्रवाहमा आधारित भए पनि सुक्खायाममा ३८ प्रतिशत ऊर्जा उत्पादन हुने भएकाले यसलाई आकर्षक र राजधानीबाट नजिक रहेकाले महत्वपूर्ण आयोजनाको रूपमा लिइएको छ,” उनले भने ।
२०६४ सालमा विद्युत् लाइसेन्स लिएको कम्पनीको २०६८ मा ऊर्जा मन्त्रालयले खारेज गरे पनि एक साताभित्र पुनः त्यही कम्पनीलाई दिएको थियो । त्यसपछि आयोजना विकास सम्झौता (पीडीए) हुन मात्र झण्डै ५ वर्ष लागेको थियो । पीडीएको एक वर्षपछि बल्ल पीपीए भएको हो ।
६० अर्ब लगानी लाग्ने अनुमान गरिएको आयोजनाको ९० प्रतिशत कोरियाली कम्पनीहरूको लगानी छ भने १० प्रतिशत नेपाली जेड कन्सल्ट कम्पनीको लगानी छ । आयोजनाअघि बढाउन वाटर कम्पनीमा कोरियाको साउथ इष्ट कम्पनी लिमिटेड (कोसेप), डेलियम इन्डिष्ट्रियल कम्पनी लिमिटेड, केर्योङ कन्ट्रक्सन कम्पनी लिमिटेड, विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) लगायतको लगानी गर्न लागेको छ । आयोजनाबाट वार्षिक १ अर्ब ४६ करोड युनिट बिजुली उत्पादन गर्ने लक्ष्य छ । दुई वर्षभित्र वित्तीय व्यवस्थापन गरेर ५ वर्षमा आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनामा कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दालाई १० प्रतिशतसम्म सेयर दिने पीडीएमा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस्