चलचित्र क्षेत्रका लागि निराशाजनक वर्ष «

चलचित्र क्षेत्रका लागि निराशाजनक वर्ष

२०७८ साल नेपाली चलचित्र क्षेत्रका लागि निराशाजनक रह्यो । त्यसो त कोभिडको महामारीले झन्डै दुई वर्ष चलचित्र क्षेत्रलाई ठप्प पारेको थियो । देशको धेरै क्षेत्र ठप्प पारेको कोभिड–१९ ले नेपालको मात्र नभई विश्वको चलचित्रको व्यापारमा नै असर गरेको थियो । कोभिड महामारीका कारण २०७८ सालमा १ दर्जनजति मात्र चलचित्र प्रदर्शन भएका थिए । कोभिडका कारण सबैभन्दा बढी चलचित्र क्षेत्रलाई नै असर गरेको थियो । स्मार्ट लकडाउनले गर्दा सिनेमा हलहरू बन्द भए भने कतिपय सिनेमा हल त सदाका लागि नै बन्द भए । काठमाडौं उपत्यकामा भएका सिंगल थिएटरहरू धमाधम बन्द भए भन्दा पनि फरक नपर्ला । तर सिंगल थिएटरहरू बन्द भए पनि मल्टिप्लेक्स हलहरू भने धमाधम सञ्चालनमा आए । पुरानो रञ्जना हलको रञ्जना ट्रेड सेन्टरमा तीनवटा मल्टिप्लेक्स हलहरू सञ्चालनमा आए । त्यसैगरी पुरानो गोपीकृष्ण हलमा पनि तीनवटा मल्टिप्लेक्स हल, ठमेलमा छाया मल्टिप्लेक्स हल, कीर्तिपरमा कीर्तिपुर मल्टिप्लेक्स हल, दरबारमार्गमा सिनेम्याक्स, जमलमा विश्वज्योति सिनेमाज् आदि नयाँ मल्टिप्लेक्स हलहरू सञ्चालनमा आएका थिए भने पुराना मल्टिप्लेक्स हलहरू पनि सञ्चालन नै भइरहेका छन् । धेरै मल्टिप्लेक्स हलहरू सञ्चालनमा रहे पनि मल्टिप्लेक्स हलहरूले नेपाली सिनेमाहरूलाई भन्दा विदेशी सिनेमाहरूलाई प्राथमिकता दिने गरेको बताउँछन् सरोकारवालाहरू ।
त्यसो त व्यापार–व्यवसाय गरेकाहरूले जहाँ बढी लाभ हुन्छ त्यसलाई प्राथमिकता दिनु स्वाभाविक पनि हो भन्दा फरक नपर्ला । तर पनि स्वदेशी सिनेमाहरूलाई पनि प्राथमिकतामा राख्नुपर्ने देखिन्छ । स्वदेशी सिनेमाहरूलाई पनि उत्तिकै महत्व दिनुपर्छ । त्यसो त पछिल्लो समयमा नेपाली सिनेमाहरूले विदेशी बलिउड, हलिउडका सिनेमाहरूसँग मात्र नभई दक्षिण भारत यानि तलिउडका सिनेमाहरूसँग पनि प्रतिस्पर्धा गर्नुपर्ने भएको छ । पछिल्लो समयमा नेपालका दर्शकहरू बलिउड सिनेमाप्रति आकर्षित भइरहेका छन् । २०७८ सालमा डाँडाको वरपीपल, कठपुतली, चपली हाइट–२, आकाशे खेती, चिसो एस्ट्रे, म यस्तो गीत गाउँछु–२ आदि करिब १ दर्जन नेपाली सिनेमा प्रदर्शन भएका थिए भने म यस्तो गीत गाउँछु–२ र कठपुतलीले मात्र केही व्यापार गरेका थिए भने अरू चलचित्रहरू बक्स अफिसमा टाँय टायँ फिस भए भन्दा पनि फरक नपर्ला ।
एकातिर नेपाली सिनेमाले व्यापार गर्न सकेन भनिरहँदा अर्कातिर विदेशी सिनेमा सूर्यवंशम्, पुष्पा र आरआरआरले राम्रो व्यापार गरेको बताउँछन् सरोकारवालाहरू । त्यसो त नेपालमा थुप्रै सीमापारिका नागरिकको बसोबास छ । नेपालमा सायद यस कारणले पनि बलिउड र तलिउडका सिनेमाहरूले राम्रो व्यापार गरेको हो कि कसो ? कोभिडका कारणले यस वर्ष एक दर्जनजति मात्र चलचित्र प्रदर्शन भए । विगतको वर्षमा लगभग १ सयवटाजति नेपाली चलचित्र प्रदर्शन हुने गरेको बताउँछन् सरोकारवालाहरू । यस हिसाबले चलचित्रहरूमा वर्षमा अर्बौं रकम लगानी हुने गरेको देखिन्छ । चलचित्र क्षेत्र देशको अर्थतन्त्रको एउटा पाटो हो भन्दा पनि फरक नपर्ला । चलचित्र क्षेत्रले पनि प्रत्यक्ष/अप्रत्यक्ष रूपमा थुप्रैलाई रोजगारी दिइरहेका छन् भने यसले सरकारले पनि राजस्व पाउने गरेका छन ।
त्यसो त नेपाली चलचित्रको लागत पनि बढ्दै छ, चलचित्रहरूको बजेट बढिरहेको छ । तर पनि चलचित्रमा लगानी बढेअनुसार बजार बढेको भने पाइँदैन । नेपालमा चलचित्र निर्माणको आधा शताब्दी भइसक्दा पनि नेपाली चलचित्रको बजार त्यति बढ्न सकिरहेको छैन । नेपालमा २०२१ सालतिरबाट चलचित्र निर्माण भएको थियो । नेपालमा बनेको पहिलो नेपाली चलचित्र आमा हो । तर पनि आजको समयसम्म आइपुग्दा पनि चलचित्रको बजारले व्यापकता लिन सकिरहेको छैन । नेपालका चलचित्रले अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रमा बजार लिन सकिरहेका छैनन् भने नेपाली चलचित्रकर्मीहरू पनि अहिलेसम्म पनि विदेशी प्रभावबाट मुक्त हुन सकिरहेका छैनन् । अहिलेसम्म पनि कतिपय नेपाली चलचित्रकर्मी, चलचित्र निर्माणकर्ताहरू विदेशी चलचित्र खासगरी भारतीय चलचित्रको नक्कल गरी नेपाली चलचित्र निर्माण गर्ने गरिरहेका छन् । नेपालमा नेपाली चलचित्र निर्माण भएको आधा शताब्दीभन्दा बढी भइसकेको छ । तर पनि नेपाली चलचित्र निर्माणकर्ताहरूले विदेशी चलचित्रको नक्कल गरी नेपाली चलचित्र निर्माण गर्न भने छाडेका छैनन् । पछिल्लो समयमा निर्माण भएका केही चलचित्र विदेशी चलचित्रको नक्कल गरी निर्माण गरेको चर्चा छ ।
त्यसो त अहिलेका दर्शकहरू चुजी भइसकेका छन् । विगतमा जस्तै नेपाली चलचित्र भनेपछि आँखा चिम्लेर हेर्ने दर्शक अहिलेका छैनन् । अहिले पनि चलचित्र निर्माण गर्दा दर्शकको रुचि र चाहनालाई ध्यान नदिई निर्माण गरे लगानीकर्ताको लगानी डुब्नेछ, तर पनि कतिपय चलचित्र निर्माणकर्ताहरू दर्शकहरूको रुचिलाई ध्यान नदिई भारतीय चलचित्रको नक्कल गरी नेपाली चलचित्र निर्माण गर्ने गरिरहेका छन । अहिलेका दर्शकहरू केही नयाँपन, केही आफ्नोपन र भरपुर मनोरञ्जन खोज्न थालेका छन् । त्यसो त चलचित्र भनेको मनोरञ्जनात्मक हुनुपर्छ भन्ने अधिकांश दर्शकको भनाइ रहेको पाइन्छ । तर पनि नेपाली चलचित्रहरू आफ्नै परिवेश, आफ्नै गाउँठाउँको विषयवस्तुलाई मनोरञ्जनात्मक ढंगले प्रस्तुत गर्नुपर्छ । तर पनि चलचित्रका लागि मात्र पनि चलचित्र बनाउनु उपयुक्त हुँदैन, चलचित्रले समाजलाई रुपान्तरित गर्न सक्ने हुनुपर्छ । चलचित्रमा समाजको यथार्थ चित्रण गर्न सक्नुपर्छ भनेर पनि भन्ने गरिन्छ । तर पनि चलचित्रलाई मनोरञ्जनको साधनका रूपमा लिनुपर्ने हुन्छ र चलचित्र निर्माण भनेको रहर, सोख र व्यवसाय मात्र पनि होइन, चलचित्र निर्माण भनेको कला हो, चलचित्र समाजको ऐना हो भनेर पनि कतिपय विज्ञहरूको भनाइ रहेको छ ।
त्यसो नेपालमा थुप्रै नेपाली चलचित्र निर्माण भइरहेका छन् । चलचित्र निर्माण बढेसँगै चलचित्रको लगानी पनि बढिरहेको देखिन्छ । तर, लगानीअनुसारको लगानीकर्ताहरूले प्रतिफल पाउन सकिरहेका छैनन् । त्यसो त रहर र सोखले कलाकर्मी भन्न, बन्न र आफन्तहरूलाई चलचित्रमा प्रवेश गराउनका लागि मात्र पनि चलचित्रमा लगानी गर्नेहरू नभएका होइनन् कलिउडमा । त्यसैगरी गुटबन्दी पनि रहेका छन् कलिउडको चलचित्र क्षेत्रमा । यसरी चलचित्रमा लगानी गर्ने गरेका कारण चलचित्र स्तरीय र व्यावसायिक बन्न नसकेको हो कि ? चलचित्र र चलचित्रको बजारलाई हचुवाको भरमा नलिई चलचित्रलाई आफ्नो पेसा, व्यवसाय बनाई स्तरीय व्यावसायिक नेपाली चलचित्र निर्माण गर्नुपर्ने देखिन्छ । चलचित्र निर्माण देशको अर्थतन्त्रसँग पनि गाँसिएको हुन्छ । चलचित्रमा वर्षमा अर्बौं लगानी भइरहेको छ । यसकारणले पनि चलचित्र निर्माण गर्दा विशेष ध्यान दिनुपर्ने हुन्छ ।
त्यसो त कुनै पनि चलचित्र निर्माणकर्ताले आफ्नो लगानी डुबोस् भनेर चाहँदैन । प्रतिफल पाउनकै लागि चलचित्रमा लगानी गर्ने गरेको हुन्छ । पछिल्लो समयमा नेपाली चलचित्र निर्माणमा नयाँ–नयाँ लगानीकर्ताको प्रवेश भइरहेको छ भन्नुपर्दा पछिल्लो समयमा नेपाली चलचित्र क्षेत्रलाई नवप्रवेशीहरूले नै बोकिरहेका छन् भन्दा पनि फरक नपर्ला ।

प्रतिक्रिया दिनुहोस्