रूसमाथि आर्थिक नाकाबन्दीको प्रभाव «

रूसमाथि आर्थिक नाकाबन्दीको प्रभाव

क्राइमियालाई आफ्नो भूभागमा जबरजस्ती गाभेपछि अमेरिकालगायत पाश्चात्य मुलुकहरूको नाकाबन्दी भोगिरहेको रूसले दुई महिनाअगाडि युक्रेनमा आक्रमण गरेपछि पुनः अमेरिकालगायत युरोपका देशहरूबाट कडा खालको आर्थिक नाकाबन्दी भोग्नुपरिरहेको छ । अमेरिका, बेलायत, युरोपियन युनियन र अस्ट्रेलियाजस्ता देशहरूले लगाएको आर्थिक नाकाबन्दीका कारण रूसी अर्थव्यवस्थाका साथै रूस र युक्रेनका अर्थव्यवस्थाहरू ठप्प भएपछि विश्व अर्थव्यवस्थाले प्रतिकूल प्रभावको महसुस गर्न थालेको पाइन्छ । यो नाकाबन्दीअन्तर्गत रूसको निर्यातलाई रोक्ने, रूसको बैंकिङ प्रणालीलाई प्रतिबन्ध लगाउने र रूसलाई दिँदै आएको सौविध्य व्यापार सुविधालाई खारेज गर्ने व्यवस्थाहरू पर्छ ।

इन्धन बजारमा परेको प्रभाव
ग्यासमा विश्वको दोस्रो ठूलो र कच्चा तेल उत्पादनमा साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सपछिको तेस्रो ठूलो देश रूस हो । ग्यास र कच्चा तेलको उत्पादनमा रूसको भूमिकाले गर्दा यो नाकाबन्दीले एकातिर विश्वका धेरै देशहरू प्रभावित हुने देखिएको छ । गोल्डम्यान सचले यो युद्ध लम्बिएमा कच्चा तेलको भाउ प्रतिब्यारेल १ सय ५० डलरसम्म पुग्ने आकलन गरेको छ । कोइला, कच्चा तेल र ग्यासमा रूसको बढ्दो प्रभावका कारण अरू क्षेत्रमा नाकाबन्दी कामयावी भए तापनि यो क्षेत्रमा त्यति कामयावी भएको पाइँदैन । रूसको कुल गार्हस्थ्य उत्पादनमा कच्चा तेलको मात्र योगदान १५ देखि २० प्रतिशत रहेको छ भने ग्याससहित राख्दा करिब ३० प्रतिशत योगदान रहेको देखिन्छ । यसले गर्दा रूसले सहुलियतमा युरोपबाहेकका अरू देशहरूलाई इन्धन बेच्न खोजेको छ । उदाहरणका लागि भारतबाट प्रकाशित हुने इकोनोमिक टाइम्स दैनिकका अनुसार भारतलाई करिब ३५ लाख ब्यारेल कच्चा तेल ३० प्रतिशत सहुलियतमा खरिदको प्रस्ताव प्राप्त भएको समाचार प्रकाशित भएको छ । उक्त दैनिकअनुसार अहिले पनि युरोपियन युनियनका देशहरूले दैनिक एक अर्ब युरोबराबरको इन्धन आयात गरिरहेको छ र त्यसैबाट रूसले युक्रेनमाथि आक्रमणको खर्च पु-याइरहेको छ । युरोपको इन्धनमाथि खास गरेर कच्चा तेलमा २५ र ग्यासमा ४० प्रतिशतको रूसमाथिको निर्भरताले गर्दा अहिले लागू भएको नाकाबन्दीमा अमेरिकाले मात्र रूसबाट इन्धन आयात गर्न बन्द गरेको छ भने युरोपका देशहरूले ग्यास र कच्चा तेल र आयात गर्न छाडेका छैनन् ।

रूसको अर्थव्यवस्थामा प्र्रभाव
रूसी अर्थव्यवस्थाको तुलनात्मक लाभ भनेकै खानी र कच्चा तेलको रूपमा प्रशस्त प्राकृतिक स्रोतहरू उपलब्ध हुनु हो । यहाँ हातहतियार र अन्तरिक्षसम्बन्धी उद्योगहरूको अवस्था राम्रो भएको मानिन्छ । रूसको अर्थव्यवस्थालाई विश्वमा वस्तुमा आधारित (कमोडिटी बेस्ड) अर्थव्यवस्था भनिन्छ । कच्चा तेलको मूल्यवृद्धिले रूसको अर्थव्यवस्था लाभान्वित हुने देखिन्छ । पश्चिमका विज्ञहरूले यो युद्ध र नाकाबन्दीको कारणले रूसको अर्थव्यवस्था सन् १९९८ को जस्तै धाराशायी हुने हो कि भन्ने आशंका गरिरहेका छन् । सन् १९९८ पछि रूस फेरि गम्भीर आर्थिक संकटमा फस्ने भविष्यवाणी गर्न थालिएको छ । रूसमा यो युद्धले गर्दा यो वर्षको अन्त्यसम्म मुद्रास्फीतिको दर २० प्रतिशतमा पुग्ने अनुमान गरिएको छ । रूसको व्यापार र उद्योगमा १० प्रतिशतभन्दा बढीले संकुचन आउने भएको छ र रूस गम्भीर आर्थिक सुस्ततामा फस्ने अनुमान गरिएको छ । विश्व बैंकले यो वर्ष २०२२ मा रूसको कुल गार्हस्थ्य उत्पादनमा ११.२ प्रतिशतले संकुचन आउने अनुमान गरेको छ । यदि रूसमाथि लगाइएको नाकाबन्दी कायमै रहेमा रूसको अर्थव्यवस्थालाई पुनरुत्थानतर्फ लाग्न अर्को दुई वर्ष लाग्न सक्ने अनुमान पनि समष्टि अर्थशास्त्रीहरूले गर्न थालेको पाइन्छ । यो नाकाबन्दीले सन् २००८ को वित्तीय संकटपछि रूसको अर्थव्यवस्था पुनः संकुचनतर्फ लाग्ने भएको छ । रूसले सन् २०२१ मा मात्र तेलको निर्यातबाट १ सय १० अर्ब अमेरिकी डलर कमाएको थियो । रूसले आफ्नो सरकारी आम्दानीको आधाजस्तो भाग इन्धनको निर्यातबाट प्राप्त गर्ने गर्छ र इन्धनको मूल्यमा गिरावट आएपछि रूसको अर्थव्यवस्थाको वृद्धिदर पनि सन् २०१४ मा घटेको थियो ।

खाद्यपदार्थको मूल्यवृद्धि
विश्व खाद्य बजारमा रूस र युक्रेनको भूमिका महत्वपूर्ण रहँदै आएको थियो । खास गरेर गहुँ, मकै, जौ र सोयाबिन तेलमा यी दुई देशको भूमिका अहिले आएर छरप्रस्ट भएको छ । विश्वको गहुँ आपूर्तिमा यी दुई देशको योगदान ३० प्रतिशत रहेको र मकै आपूर्तिमा झन्डै २० प्रतिशत योगदान रहँदै आएको छ । अफ्रिकाका यमन, लिबिया, इजिप्ट र अन्य देशहरू लेबनान मात्रै होइन कि एसियाका बंगलादेश र पाकिस्तानजस्ता देशहरूले समेत यी देशहरूबाट पर्याप्त मात्रामा गहुँ आयात गर्ने गरेको थियो । यति मात्र होइन कि विश्व खाद्य कार्यक्रमले समेत आधाजस्तो खाद्यान्न युक्रेनबाट खरिद गरेको थियो । गहुँको हकमा भारतका किसानहरू (खास गरेर पन्जाब र हरियाणाका) ले यो अवस्थाबाट लाभ लिन खोजेको देखिन्छ । एकातिर यसले गर्दा खाद्यपदार्थको मूल्यवृद्धि भएको छ भने अर्कातिर अफ्रिकाका केही देशमा भोकमरीको सम्भावना पनि व्यक्त गर्न थालिएका छन् । रूस र युक्रेनले विश्वमा आपूर्ति हुने सोयाबिनको तेलको ८० प्रतिशत हिस्सा ओगटेका कारण नाकाबन्दी र युद्धका कारण खाने तेलको विश्वव्यापी नै मूल्यवृद्धि भएको छ । यसमा पनि अहिले आएर इन्डोनेसियाले पाम आयल निर्यात रोक्ने र उत्तर अमेरिका र दक्षिण अमेरिकाको केही क्षेत्रमा भएको सुक्खाको कारणले भटमासको उत्पादनमा आएको कमीले खाने तेलको भाउ वृद्धि गर्न अरू मद्दत गरेको पाइन्छ । इन्धनको मूल्यवृद्धिले धेरै रासायनिक मलका कारखानाहरू बन्द भएका छन् भने रूसबाट आपूर्ति हुने रासायनिक मलको कमीबाट विश्वका अरू देशहरूमा खाद्य सामग्रीको उत्पादनमा कमी आउने प्रक्षेपण गरिएको छ । यसले विश्वभरि सामान्य मुद्रास्फीति मात्र होइन कि खाद्यवस्तु र इन्धनलाई हटाएर गणना गरिने कोर मुद्रास्फीति समेत वृद्धि गर्न धेरै मद्दत गरेको छ ।

अमेरिकी डलरको प्रभुत्व घट्ने
यसले अन्तर्राष्ट्रिय भुक्तानीमा दुईवटा परिवर्तन हुने सम्भावना देखिएको छ । एकातिर क्रिप्टो करेन्सी वा डिजिटल मुद्राको प्रयोग बढ्न सक्ने देखिन्छ भने अर्कातिर अहिले अन्तर्राष्ट्रिय व्यापार भुक्तानीको माध्यमका रूपमा उपयोग हुँदै आएको डलरको सट्टा अर्को मुद्रा प्रयोग गर्न सकिने सम्भावना बढेको छ । अहिले विश्वमा आधाभन्दा बढीका बिजकहरू डलरमा जारी गरिन्छ र दुईतिहाइभन्दा बढी विदेशी मुद्राको सञ्चिति र ऋण डलरमा दिने लिने गरिन्छ । भारतलाई बेचेको ३० लाख ब्यारेल तेलको भुक्तानी पनि अमेरिकी डलरमा नभएर भारतीय मुद्रा वा रुबलमा हुने जनाइएको छ र यसले भारतले युरोपले खरिद गर्ने तेलभन्दा ज्यादै कम मात्रामा तेल रूसबाट खरिद गरिरहेको जनाई रूसमाथिको नाकाबन्दीमा सहभागी भएको देखिँदैन ।

औद्योगिक प्रभाव
प्यालाडियम र न्यूयनजस्ता औद्योगिक कच्चा पदार्थहरूको विश्वमा आपूर्तिमा पनि रूस र युक्रेनको महत्वपूर्ण स्थान रहँदै आएको छ । ल्यापटप, मोबाइल फोन, कार बनाउन आवश्यक चिप्सहरूको निर्माणमा यी कच्चा पदार्थहरू उपयोग गरिन्छ र रूस र युक्रेनबाट यस्ता कच्चा पदार्थहरू ताइवान, कोरिया, चीन, जर्मनी र अमेरिकाजस्ता देशहरूमा निर्यात हुने गरेको छ । अब यस्ता वस्तुहरूको उत्पादन मात्रै घट्ने होइन कि यसबाट यिनीहरूको मूल्यमा पनि वृद्धि हुँदै गएको छ ।

बहुराष्ट्रिय कम्पनीहरूको बहिर्गमन
सेल र ब्रिटिस पेट्रोलियमजस्ता बहुराष्ट्रिय कम्पनीहरूले आफ्नो सम्पत्ति रूसबाट झिकिसकेका छन् भने सन् १९९० देखि ८ सयभन्दा बढी आउटलेटहरू सञ्चालन गर्दै आएको म्याकडोनाल्डले पनि आफ्नो सबै आउटलेटहरू बन्द गरिसकेको छ । जोन्सन एन्ड जोन्सन, एलजी, नेस्लेजस्ता कम्पनीहरूलाई पनि आफ्नो कारोबार बन्द गर्न दबाब परिरहेको छ । यसले अति आवश्यक वस्तुहरूको आपर्ति र रोजगारीको स्तरमा प्रत्यक्ष असर पुग्ने देखिन्छ ।

वित्तीय क्षेत्रमा प्रभाव
रूसको वित्तीय बजारमा यो नाकाबन्दी तीनवटा कारणले गर्दा घातक सिद्ध हुने देखिएको छ । पहिलो हो, रूसको गत वर्ष सञ्चिति रहेको विदेशी मुद्राको भण्डारमा रहेको ६ सय अर्ब अमिरिकी डलरमध्ये आधाजस्तो अमेरिकी बैंकहरूमा रहेको छ, जुन यो नाकाबन्दीमा जफत हुन सक्छ । अर्को भनेको रूसका कुलीन तन्त्र वा धनाढ्यहरूले लन्डन र अन्य सहरहरूमा जुन सम्पत्ति किन्ने र बेच्ने गर्दै आएका छन्, त्यसलाई यो नाकाबन्दीले प्रभाव पार्ने देखिएको छ । अन्त्यमा स्विफ्ट सफ्टवेयरमार्फत भुक्तानी दिने र लिने कार्यमा भएको नियन्त्रणले रूसमा लगानी गरेका युरोपियन बैंकहरू र रूसका बैंकहरूले विदेशी बैंकहरूसँग लिएको ऋणको साँवाब्याज भुक्तानी गर्ने कार्यहरूमा समस्या सिर्जना भएको छ ।
अन्त्यमा, पुटिनलाई रूसको समष्टि अर्थव्यवस्थालाई सबल बनाउन राम्रो भूमिका खेलेको राष्ट्रनेताको रूपमा लिने गरिन्छ । पुटिनले रूसलाई सन् १९९८ को रूसी अर्थव्यवस्थालाई संकटबाट मात्र मुक्त गरेन कि सन् २०१४ मा क्राइमियाको हडपपछि पनि वृहद् आर्थिक स्थायीत्व कायम गर्न सरकारी बजेटघाटालाई कम गर्ने, रुबललाई डिभ्यालु गर्ने र नाकाबन्दीबाट प्रभावित फर्महरूलाई बैंकिङ च्यानलमार्फत सुविधा दिएर रूसको अर्थव्यवस्थालाई सबल बनाउन पुटिनको योगदानलाई सराहना गर्नैपर्छ । पुटिनले रूसलाई आर्थिक रूपमा बलियो बनाउन आर्थिक सुधारका कार्यक्रमहरूलाई नै आधारका रूपमा लिएको देखिन्छ । तर, अहिलेको युक्रेनमाथिको आक्रमणले पुटिनको यो सबै साख धूलोमा मिसिने सम्भावना प्रबल हुँदै गएको छ । युद्ध लम्बिँदै गएपछि हुने आर्थिक विनाशले रूसको आफ्नो अर्थव्यवस्थालाई मात्र होइन कि विश्व अर्थव्यवस्थालाई समेत गम्भीर मन्दीमा धकेलिसकेकाले यो आक्रमणलाई यथाशीघ्र छिटो बन्द गरी आर्थिक उत्थानतिर लाग्नुबाहेक अर्को विकल्प देखिँदैन ।

प्रतिक्रिया दिनुहोस्