विद्यार्थीको हातमा समयमै पाठ्यपुस्तक पुग्ने सरकारी दाबी «

विद्यार्थीको हातमा समयमै पाठ्यपुस्तक पुग्ने सरकारी दाबी

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव यादवप्रसाद कोईरालाले ५ जेठेभित्र नै सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्ने दाबी गरेका छन् ।
करिव ६ महिनाअघि नै कर्णाली प्रदेशमा पाठ्यपुस्तक पुगिसकेको र अन्य ठाउँहरूमा भने जेठ ५ गते विद्यार्थीहरूको हातमा पुस्तक पुग्ने बर्ताका हुन् । उनले वैशाखमा पुस्तक छाप्ने योजना रहेपनि स्थानीय तह सदस्य निर्वाचनका कारण मतपत्र छाप्ने कार्यमा प्राथमिकता दिनुपर्ने भएकाले पुस्तक छपाइ कार्यलाई घटाएको बताए । उनले बीचमा युक्रेनमा भएको युद्धका कारणले सप्लायर्सले कागजसहितका अन्य सामान ल्याउन नसक्नुले पनि केही ढिलो हुन गएको बताए । शिक्षा सचिव कोइरालाले समयमै पाठ्यपुस्तक सम्बन्धित ठाउँमा पठाइएकोले समयमै सबै विद्यार्थीको हातमा पाठ्य पुस्तक पुग्ने बताए ।
शिक्षा सचिव कोइरालाले भने, ‘वैशाखमा पुस्तक छाप्ने हाम्रो योजना थियो । वैशाख १ गतेबाट किताव वितरण गर्ने फाइनल स्टेजमा थियौँ । बीचमा युक्रेनमा भएको युद्धका कारणले सप्लायर्सले सामान ल्याउन सकेनन् कागजहरू । निजी क्षेत्रले समेत कागजको अभावका कारण छाप्न नसक्ने अवस्था छैन भने । यो सरकारी हो । टेण्डर गरेको हुन्छ । टेण्डर गरेको कारणले सप्लायर्सले सामान नै भेटेन । भेटेका सामानहरू पनि अहिले ५० प्रतिशत मूल्य बढेर भेटियो । त्यो पनि सप्लायर्सले सम्झौता गरेको ठाउँबाट ल्याउन सकेको थिएन । तेस्रो भनेको चुनावको कारणले पनि छाप्न सकिएन । यसमा थोरै मात्रै छाप्न बाँकी रहेको कारणले बिस्तारै गर्ने प्राथमिकता निर्वाचनलाई दियौं । हामीले ५ गतेबाट कितावहरू वितरण गर्न थाल्नेछौँ । पाठ्यपुस्तक समयमै सबै ठाउँमा गइसकेको छ । अझै ५/७ दिन मत गणनाको कारणले ढिला हुने देखिन्छ केही स्थानहरूमा । स्थानीय निर्वाचनका कारण केही ढिला भएको जस्तो दखिएको हो तर समयमै सबैको हातमा किताब पुग्छ । स्थानीय तहमा सबै ठाउँमा भोलिबाट पाठ्यपुस्तक पुग्छ । कर्णालीमा पुगेको नै ६ महिना भइसकेको छ ।’
सरकारले समयमै पाठ्यपुस्तक छपाइ र वितरण गर्न नसक्दा कक्षा १ देखि माध्यमिक तहसम्मका विद्यार्थीहरूले शैक्षिक सत्र सुुरु हुँदासमेत पाठ्यपुस्तक पाउन सकेका छैनन् । विशेष गरी कक्षा ४,७ र ९ को पाठ्यपुस्तक नयाँ लागू भएको छ । तर समयमा पाठ्यपुस्तक छाप्न नसक्नु र वितरण गर्न नसकेकोमा शिक्षक र विद्यार्थीहरू पाठ्यक्रमलाई कसरी अगाडि बढाउने भन्ने अन्योलमा छन् । विद्यालयहरूमा पाठ्यपुस्तक जेठको पहिलो हप्तासम्म पनि नपुग्नु शिक्षामाथि राज्यको हेलचेक्राँइ भएको अध्यापकहरूको बुझाइ छ ।

प्रतिक्रिया दिनुहोस्