जनमत नघटेको एमालेको दाबी «

जनमत नघटेको एमालेको दाबी


नेकपा(एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले स्थानीय तह निर्वाचनमा पार्टीको जनमत यथावत् रहेको दाबी गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकका लागि संसद् भवन पुगेका ज्ञवालीले सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उनले आफूहरुको जनमत नघटेको दाबी गरेका हुन् ।
उनले अन्य पार्टीसँग थोरै मतान्तर रहेका ठाउँहरुमा गठबन्धनका कारण आफूहरुको पराजय भएको बताए । उनले एमालेको ४८ सालदेखि आएको जनमत यस निर्वाचनबाट पनि तलमाथि नभएको उल्लेख गरे । उनले भने, ‘हामी समग्र देशैभरीको तथ्यहरु संकलन गरिरहेका छौँ । हाम्रो समग्र जनमत यथावत् छ । तर अब पाँच सय, एक हजारको प्रतिस्पर्धामा रहेका ठाउँहरुमा एउटा अर्को पार्टी थपिनेबित्तिकै त्यसले परिणाममा त फरक पार्ने भो । हाम्रो जुन औसत जनमत हो, लोकप्रिय मत नेकपा(एमाले)ले करिब–करिब ०४८ सालको निर्वाचनदेखि नै त्यो मतमा तलमाथि भएको म देख्दिनँ ।’
उनले कतै कतै पार्टीको आन्तरिक कारणहरुले पनि पार्टीले हारेको भन्दै त्यसको समिक्षा गर्ने बताए । उपमहासचिव ज्ञवालीले संसदको यस अधिवेशनमा संवेदनशील खालका विधेयकहरु टुंग्याउनुपर्ने र त्यसमा एमालेको सहयोग हुने बताए । उनले भने, ‘सरकारले विधेयक ल्यायो भने पास हाम्रो सहयोग चाहेमा हामीसँग परामर्श हुनुप-यो । मुख्यमुख्य र संवेदनशील खालका विधेयकहरु छिटो टुंगो हुन् भन्ने चाहान्छौँ । त्यसमा हाम्रो रचनात्मक सहयोग रहन्छ ।’
उनले नेकपा(एकीकृत समाजवादी)लाई सभामुख र अदालतले बचाइदिएको भएपनि जनताले नबचाइदिएको टिप्पणी गरे । त्यसैगरी संसद् भवनमै सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेकपा(एमाले)का सांसद भीम रावलले स्थानीय तह निर्वाचनमा एमाले हारको विभिन्न पाटाहरु भएको बताए । एमालेको विभाजन पनि हारको कारण भएको उनको भनाई छ । त्यसैगरी पार्टीहरु प्रति जनताले हेर्ने दृष्टिकोण र वितृष्णा रहनु अर्को कारण भएको उनले उल्लेख गरे । पार्टी भित्रै अन्तर्घात हुनु पनि अर्को कारण रहेको उनले बताए । उनले भने, ‘नेकपा (एमाले)को हकमा विभाजनदेखि लिएर अरु धेरै कुराहरुलाई हामीले चर्चा गर्नुपर्ने हुन्छ । त्यसका साथसाथै नेपालमा जुन राजनीतिक दलहरु प्रति लामो समयदेखि जनतामा रहेको वितृष्णा त्यो पनि विभिन्न ठाउँमा, जस्तो राजधानी काठमाडौंमा, सुदूरपश्चिमको राजधानी धनगढीमा, जनकपुरमा यो पटक भएको छ । त्यसकारण यसलाई पार्टीहरु प्रति जनताले हेर्ने दृष्टिकोण र त्यसप्रति रहेको मानिसहरुको वितृष्णा, त्यसका साथसाथै पार्टीहरु भित्र रहेका घात र अन्र्तघात । यि विभिन्न कोणबाट केलाउनु पर्ने हुन्छ ।’
त्यसैगरी एमाले सांसद योगेश भट्टराईले सत्ता गठबन्धनले एमालेका विरुद्ध राज्यसत्ताको दुरुपयोग गरेको आरोप लगाए । गठबन्धनलाई परास्त गर्दै एमालेले ल्याएको मत परिणाम निराशाजनक नभएको उनले बताए । उनले पार्टी हारको कारण उम्मेदवार छनौटमा कमजोरी हुनु रहेको बताए । कतिपय ठाउँहरुमा पार्टीलाई जिताउन नलागी विरोधीहरुलाई जिताउन साँठगाँठ गरिएको पनि उनले बताए । सांसद भट्टराईले काठमाडौं महानगरपालिकामा कांग्रेस, एमाले लगायतका ठुला दलहरुलाई चुनौती दिँदै स्वतन्त्र उम्मेदवारको मत बढी आउनु दलहरुको निम्ति खतराको घण्टी भएको टिप्पणी गरे ।
नेकपा(एमाले)का सांसद रामवीर मानन्धरले काठमाडौँ महानगरपालिकामा विगत पाँच वर्षमा भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती मौलाएका कारण जनताले राजनीतिक दलहरुलाई भोट नदिएको बताए । स्वतन्त्र व्यक्तिलाई जिताएर काठमाडौंबासीले परीक्षण गर्न खोजेको उनको तर्क छ । उनले लाखौँ जनताले स्वतन्त्र उम्मेदवारलाई मत दिइसकेपछि त्यसलाई पार्टी भित्रको अन्र्तघातको कारण त्यसो भएको भन्न नमिल्ने बताए ।

मतगणना अन्तिम चरणमा
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको ८० प्रतिशत मत परिणाम आइसकेको बताएको छ । आयोगले बिहीबार गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ८० प्रतिशत स्थानीय तहको मत परिणाम आइसकेको बताए ।
उनले हालसम्म ५७० स्थानीय तहको निर्वाचन परिणाम आइसकेको बताए । जसमध्ये प्रमुखमा १७४, उपप्रमुखमा १७४, अध्यक्षमा ३९६, उपाध्यक्षमा ३९६, वडाअध्यक्षमा ५ हजार ६५९, महिला सदस्यमा ५ हजार ६५३, दलित महिला सदस्यमा ५ हजार ५५६ र वडा सदस्यमा १ हजार २९५ गरी कुल २९ हजार ३०३ जना उम्मेदवार निर्वाचित भइसकेका छन् । ३५ हजार २२१ कुल पदाधिकारी निर्वाचित हुनुपर्नेमा करिब ८० प्रतिशतको परिणाम आइसकेको छ ।
वैशाख ३० गते स्थगित भएको अछामको साँफेबगरमा जेठ ६ गते पुनः मतदान हुने कार्यक्रम रहेको उनले जानकारी दिए । त्यसैगरी उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १२ र बाजुरा जिल्ला बुढीगंगा नगरपालिकाको सम्बन्धमा आयोगबाट निर्णय हुन बाँकी रहेको उनले बताए । प्रवक्ता पौडेलले पुनः मतदान भएका मतदान केन्द्रको हकमा मत पेटिका प्राप्त भएको बढीमा ४ दिनभित्र मत गणना कार्य सम्पन्न हुने बताए । आयोगले निर्वाचनको क्रममा मतदान स्थलमा कानुनविपरित गतिविधिमा संलग्न लाई पक्राउ गरी कारबाही गर्न देशभरका प्रहरी कार्यालयलाई निर्देशन दिएको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्