स्थानीय तह निर्वाचनमा गठबन्धन सफल : शिक्षामन्त्री पौडेल «

स्थानीय तह निर्वाचनमा गठबन्धन सफल : शिक्षामन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले स्थानीय तह निर्वाचनमा गठबन्धन सफल भएको बताउनुभएको छ ।
बिहीवार प्रतिनिधिसभा बैठकका लागि संसद भवन पुग्नुभएका मन्त्री पौडेलले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै स्थानीय तह निर्वाचनमा गठबन्धन सफल भएको बताएका हुन् । उनले गठबन्धनभित्र आंशिक रुपमा कमी, कमजोरी भएपनि त्यसलाई सच्याउने बताए । मन्त्री पौडेलले गठबन्धनको पक्षमा उल्लेख्य जनमत प्रकट भएको पनि बताए । उनले भने, ‘गठबन्धन सफल भयो । तपाई ढुक्क हुनुहोला गठबन्धन सफल भयो । आंशिक रुपमा भएका कमि, कमजोरीहरूलाई हामी सच्याउँछौ, समिक्षा गर्छौं । गठबन्धनकै कारणले उल्लेख्य रुपमा गठबन्धनको पक्षमा जनमत पनि प्रकट भएको छ । त्यसो भएको हुँदाखेरी गठबन्धन असफल भन्न मिल्दैन ।’
मन्त्री पौडेलले माओवादी केन्द्र आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्म यही गठबन्धनलाई निरन्तरता दिने पक्षमा रहेको बताउनुभयो । संविधान र राजनीतिक प्रणाली अझै पनि खतरामा रहेको हुँदा गठबन्धन आवश्यक रहेको उनको भनाइ छ । उनले भने, ‘अहिलेको स्थिति अनुसार हामी गठबन्धन नै गरेर जान्छौँ । अहिले पनि जे विषयमा, जे उद्देश्य लिएर हामीले गठबन्धन गरेका थियौँ । संविधान, विधि, पद्धती, प्रणाली खतरामा छ भनेर गरेको हिजोको हाम्रो विश्लेषण अहिले पनि कायम रहेको हुँदाखेरी अब आउने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनसम्म हामी गठबन्धन गर्ने पक्षमा नै छौँ ।’
मन्त्री पौडेलले कांग्रेसले माओवादी केन्द्रलाई भोट नहालेको भन्ने कुरा साँचो नभएको स्पष्ट पार्नुभयो । केही ठाउँमा त्यस्तो भएपनि सबै ठाउँमा नभएको उनको भनाइ छ । उनले गठबन्धन सँग असन्तुष्ट रहेको नेकपा(एकीकृत समाजवादी)लाई गठबन्धनमै रहन आग्रह समेत गरे । उनले भने, ‘समीक्षा हामी गर्छौं । तर, धेरै ठाउँमा भोट नहालेको भन्नेकुरा साँचो होइन । आंशिक रुपमा चाहिँ त्यस्तो देखिएको हामी पाउँछौं । आंशिक रुपमा देखिएका ठाउँमा हामी गम्भिर समिक्षा गरेर आगामी दिनमा अब गठबन्धन गर्दाखेरी इमान्दारीतापूर्वक जो पक्षसँग गठबन्धन भएको छ त्यसको इमान्दारिता प्रस्तुत गर्नेगरी हामी छलफल गर्छौं र समिक्षा गर्छौं । गठबन्धन भनेको देशमा गम्भिर राजनीतिक संकट पैदा हुने स्थितिलाई रोक्नको निम्ति एउटा विश्वासको प्रकटीकरण पनि हो । त्यसकारणले एकीकृत समाजवादीलाई गठबन्धनमै रहेर सिमा, समस्या र कमी छन् भनेदेखि सच्याउनको निम्ति अनुरोध गर्न चाहान्छौँ ।’
उनले गठबन्धनका कमी, कमजोरीहरूलाई सच्याएर अगाडी बढ्ने पनि बताए । माओवादी केन्द्र पहिलेभन्दा सुदृढ भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्