पाँच दलीय गठबन्धनमा इमान्दारिता नदेखिएको आरोप «

पाँच दलीय गठबन्धनमा इमान्दारिता नदेखिएको आरोप

नेकपा(एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले पाँच दलीय गठबन्धनमा इमान्दारिता नदेखिएको बताए ।
बिहीबार प्रतिनिधि सभा बैठकमा सहभागि हुन संसद भवन पुग्नुभएका सांसद चौधरीले सञ्चारकर्मीहरु सँग कुराकानी गर्दै गठबन्धनमा इमान्दारिता नदेखिएको बताए । उनले नेपाली कांग्रेसले जवाफदेहिता र इमान्दारिता देखाउन नसकेकको बताए । माओवादी पार्टी व्यापारिक मानिसले जस्तै फाइदा हुनेतिर मात्रै ढल्किएको उनले आरोप लगाए । निर्वाचन मत परिणाम बाट आफूहरु सन्तुष्ट हुन नसकेको उनले बताए । उनले भने, ‘चुनावी मत परिणाममा हामी सन्तुष्ट छैनौं । जुन तरिकाले पाँच दलिय गठबन्धनमा इमान्दारिता हुनुपथ्र्यो, त्यस्तो देखिएन । नेपाली कांग्रेसले जुन तरिकाको जवाफदेहिता, इमान्दारिता देखाउनुपथ्र्यो त्यो देखाउन सकेन । माओवादी पार्टीले आफू एउटा बिजनेस म्यानको जस्तै चार पैसा फाइदा कता हुन्छ, उतैतिर ढल्किने यहाँसम्मकि कुनै ठाउँमा एमालेसँग समेत समन्वय ग-यो । कांग्रेसले पनि त्यो खालको व्यवहार ग-यो । त्यसैले हामिले जुन खालको रिजेल्ट अपेक्षा गरेका थियौँ त्यो खालको रिजेल्ट आउन सकेन ।’
उनले कांग्रेस र माओवादी सच्चिएमा मात्र गठबन्धनलाई अगाडी बढाउन सकिने बताए । नैतिकताको राजनीति नगर्ने र भनेको कुरा नगर्ने पार्टीहरु सँग अगाडी जान नसकिने उनले बताए । उनले भने, ‘कांग्रेस र माओवादीले आफूलाई करेक्सन गर्ने ठाउँमा पुगे भने ठीकै छ फेरि पनि अगाडि जान सकिन्छ । नभए यस्तो फटाहागिरी, इथिक्सको राजनीति नगर्ने, जे भनिन्छ त्यो नगर्ने भएपछि त्यस्ता राजनीतिक दलसँग कसरी अगाडि जान सकिन्छ ?’
उनले स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस र नेकपा(माओवादी केन्द्र)का बीचमा मात्रै गठबन्धन भएको जिकिर गरे । पाँच दलीय गठबन्धनलाई सफल भएको मान्न नसकिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्