अब ११ सय रुपैयाँमा नै वल्र्ड लिङ्कको नेट «

अब ११ सय रुपैयाँमा नै वल्र्ड लिङ्कको नेट

नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड लिङ्क कम्युनिकेसन्स लिमिटेडले बुधबारदेखि लागू हुने गरी ३३ सय रुपैयाँमै २०० एमबीपीएसको तीनमहिने इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ । नेटटिभी प्रयोग नगर्ने ग्राहकलाई लक्षित गर्दै यो प्याकेज ल्याएको हो ।
ग्राहकका लागि योप्याकेज बजारमा उपलब्ध भएकामध्ये सर्वसुलभ विकल्प भएको कम्पनीको दाबी छ । यो प्याकेज लिन चाहने ग्राहकलाई इन्टरनेट जडान, केबल र डुअल ब्यान्ड राउटर निःशुल्क गरिएको छ । केवल राउटरका लागि एक हजार रुपैयाँ डिपोजिट राख्नुपर्ने वल्र्डलिङ्कले जनाएको छ ।
“राउटर डिपोजिट र इन्टरनेट शुल्कबाहेक ग्राहकले थप अन्य कुनै पनि शीर्षकमा शुल्क तिर्नु पर्दैन,” कम्पनीले भनेको छ, “यो नयाँ प्याकेजबाट विशेषगरी नेटटिभी आवश्यक नपर्ने ग्राहक लाभान्वित हुने अपेक्षा लिएका छौं ।” २०० एमबीपीएसको यो नयाँ प्याकेजमा नेट टिभीबाहेकका सुविधा भने उपलब्ध हुने बताइएको छ ।
जसअनुसार ग्राहकले पाँचवटा डिभाइसमार्फत कम्पनीका १४ हजारभन्दा बढी वाईफाई हटस्पटमा अनलिमिटेड डेटा चलाउन सकिने ‘वाईफाई मोबिलिटी’ को सुविधा पाउनेछन् । यसका साथै ‘तुरुन्तै सर्भिस ग्यारेन्टी’ को रुपमा इन्टरनेटमा समस्या आउँदा दुई घण्टाभित्र समाधान नभए थप दुई दिनको इन्टरनेट सुविधा समेत उपलब्ध हुनेछ ।
यसबाहेक ‘टाइमब्याक’ अर्थात् इन्टरनेट अवरुद्ध भएको समयसमेत थपहुने कम्पनीले जनाएको छ । यो प्याकेज विद्यमान ग्राहकहरूका लागिसमेत उपलब्ध छ ।
गुणस्तरीय सेवा कायम गर्दै ग्राहकका लागि सस्तो मूल्यमा उच्चगतिको इन्टरनेट उपलब्ध गराउन लागिपरेको कम्पनीले बताएको छ । नेटटिभी आवश्यक पर्ने ग्राहकले भने चार हजार ५० रुपैयाँमा कम्पनीको २०० एमबीपीएसको तीन महिने प्याकेज लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्