कान्ति बाल अस्पताललाई ‘सारिकादेवी चौधरी आकस्मिक कक्ष’ हस्तान्तरण «

कान्ति बाल अस्पताललाई ‘सारिकादेवी चौधरी आकस्मिक कक्ष’ हस्तान्तरण


चौधरी फाउण्डेसनले काठमाडौंको कान्तिबाल अस्पतालमा ‘सारिकादेवी चौधरी आकस्मिककक्ष’ निर्माण गरी अस्पताल व्यवस्थापनलाई हस्तान्तरण गरेको छ । चौधरी फाउण्डेसनमार्फत् उक्त अस्पतालको आकस्मिक कक्षको स्तरोन्नति र विस्तारकार्यमा सारिकादेवी चौधरीको योगदान रहेको छ ।
बुधबार अस्पतालमा आयोजित एक समारोहका बीच नेपाल सरकारका राज्यमन्त्री उमेश श्रेष्ठले उक्त कक्षको उद्घाटन गरेका छन् । उक्त अवसरमा बोल्दै राज्यमन्त्री श्रेष्ठले देशको अग्रणी व्यावसायिक घराना चौधरी ग्रुपले सर्वसाधारण नागरिकका सन्ततिले उपचार सेवा पाउने अस्पताललाई सहयोग गरेकोमा धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तो सहयोग जारी रहने अपेक्षा आफूले राखेको बताए । फाउण्डेसनद्वारा १४ शैयाको इमरजेन्सी वार्ड विस्तार गरी २५ शैयाको निर्माण गरिएको छ चौधरी फाउण्डेसन नेपालका एकमात्र डलर अर्बपति चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले सामाजिक कामका लागि स्थापना गरेका हुन् । राजनीतिमा समेत सक्रिय रहेका चौधरी हाल नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका सदस्य छन् ।
आकस्मिक कक्ष हस्तान्तरण समारोहमा बोल्दै फाउण्डेसनका महासचिव सारिकादेवी चौधरीले आफू आमा रहेको र आफ्ना सन्तान बिरामी पर्दा आमाहरूको मन कति पोल्छ भन्ने बारेमा आफूलाई गहिरो अनुभूति रहेको बताउँदै सर्वसाधारण नेपाली नागरिकका बालबच्चाले उपचार पाउने कान्तिबाल अस्पताललाई आफूले रोज्नुको कारण यही रहेको बताइन् । आमनेपाली बालबालिकाको उपचारमा अहिले विस्तार गरिएको आकस्मिक कक्षले महत्वपूर्ण योगदान पु-याउने विश्वास उनले व्यक्त गरिन् ।
उक्त अवसरमा फाउण्डेसनका उपाध्यक्ष निर्वाण चौधरीले अस्पतालका निर्देशक प्रा.डा.युवनिधि बसौलालाई निर्माण सम्पन्न भएको वार्ड हस्तान्तरण गरेका थिए । हस्तान्तरणपछि कार्यक्रममा बोल्दै उपाध्यक्ष चौधरीले मुलुककै जेठो बाल अस्पतालको पूर्वाधार निर्माणमा सहयोग गर्न पाउँदा आफुलाई सन्तोष लागेको बताए । चौधरीले आउँदा दिनमा अस्पतालको सेवाविस्तारमा थप सहयोग गर्ने प्रतिबद्धता पनि जनाए ।
चौधरी फाउण्डेसनले आज हस्तान्तरण गरेको आकस्मिक कक्षको निर्माण लागत करिब २ करोड ५० लाख रुपैयाँ रहेकोे छ । फाउण्डेसनले इमरजेन्सी वार्डको पुनर्संरचना गर्दै १८ अत्याधुनिक विद्युतीय शैयासहित २५ शैया, २५ मनिटर, २५ इन्फ्युजनपम्प, २५ सिरिन्जपम्प, १४ रेडियन्ट वार्मर, ५ बबलसिप्याप मेसिन, २ इमरजेन्सी ट्रली, २ फोटोथेरापी युनिट, २ लिक्युड वामर, इसिजि मेसिन, पोर्टेबल कलर डोप्लर, हाइड्रोलिक सर्जिकल टेबल, ट्रान्सपोर्ट इन्क्युवेटरलगायतका सामग्री पनि उपलब्ध गराएको छ । फाउण्डेसनले इमरजेन्सी वार्डलाई निःशुल्क वाईफाई जोन पनि बनाएको छ । यसका लागि सीजी नेटको इन्टरनेट जडान गरिएको छ ।
कार्यक्रममा स्वास्थ्यतथा जनसंख्या मन्त्रालयका सचिवडा. रोशन पोखरेलले चौधरी फाउण्डेसनले देशका विभिन्न अस्पतालमा गरिरहेको सहयोगको सह्राना गर्दै कान्ति अस्पतालको आकस्मिक कक्ष विस्तारमा पु-याएको योगदान अतुलनीय भएको बताए । अस्पतालका निर्देशक.डा.युवनिधि बस्यौलाले चौधरी फाउण्डेसनले गरेको सहयोगका लागि कृतज्ञता व्यक्त गरे । उनले चौधरी फाउण्डेसनबाट आगामी दिनमा पनि निरन्तर सहयोग पाउनेमा विश्वस्त रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्