निजी शैक्षिक तथा स्वास्थ्य क्षेत्रमा दुईदिने बिदाको उपादेयता «

निजी शैक्षिक तथा स्वास्थ्य क्षेत्रमा दुईदिने बिदाको उपादेयता

वि.सं. २०४६ को परिवर्तनपछि निजी स्वास्थ्य तथा शिक्षा क्षेत्रमा लगानी बढ्यो, जसअनुसार निजी अस्पताल र विद्यालय खुले । निजी क्षेत्रका विद्यालय र अस्पतालको योगदान सराहनीय छ । साथै यिनीहरूबाट कुल गार्हस्थ्य उत्पादनमा पनि उल्लेखनीय योगदान छ ।
राणा प्रधानमन्त्री देवशमशेरले सुरु गरेको शनिबार बिदाको श्रृंखलामा अब एक इँटा थप्ने प्रयास भइरहेको छ, जसमा अनेक मनोवैज्ञानिक तर्क–वितर्क आइरहेका छन् । झट्ट हेर्दा यो विषय अनुत्पादक लाग्न सक्छ तर उप्रान्तमा गएर फलदायी हुन्छ ।
सरसर्ती बिदाको इतिहास हेर्दा, १९ औ शताब्दीमा सुरु भएको साप्ताहिक दुईदिने बिदाबाट उद्योगी–व्यवसायी चिन्तित थिए । तर, १९३८ अगावै हेनरी फोर्डले यसलाई समर्थन गरे । हुन त मानिसहरू फोर्डले कर्मचारीको दुई दिन बिदा भएपछि कर्मचारीले कार किन्छन् भन्ने अनुमान थियो भन्छन् । विश्वका ठूला देशहरूमा इस्लाम समुदायको शुक्रबार र इसाई समुदायको आइतबारको बिदाको प्रभाव पनि कहींकतै यो साप्ताहिक आइतबार र शनिबारको बिदामा रहेको छ । विश्वमा पश्चिमा मुलुकहरूमा तीन दिन बिदा दिने परिपाटी आउँदै छ ।
श्रम ऐन, २०४८ को संशोधित ऐन, २०७४ को परिच्छेद ९ को दफा ५१ अनुसार ‘क्रिया, सुत्केरी र बिरामी बिदाबाहेक अन्य बिदाहरू सुविधा हो अधिकार होइन’ उल्लेख छ । जसअनुसार सार्वजनिक बिदा १४ दिन, घर बिदा २० दिन काम गरेबापत १ दिन, बिरामी बिदा १२ दिन, तीन दिनभन्दा बढी बिरामी बिदा चाहेमा डाक्टरको सिफारिस चाहिने, १४ हप्ता सुत्केरी बिदा, क्रिया बिदा १३ दिन, सेवा अवधिभर संकलित बिरामी बिदा ४५ दिन र घर बिदा ९० दिनको सेवा निवृत्त हुँदा एकमुस्ट भुक्तानी दिने प्रावधान रहेको छ ।
यी सुविधासँगै कामदार, कर्मचारी, मजदुरको उद्योग, व्यवसायी, मालिकप्रतिको दायित्व पनि ऐनमा लेखिएको छ । काम अलग–अलग प्रकृतिको भएजस्तै कामदारले निर्वाध रूपमा गर्नुपर्ने दायित्व र कर्तव्यहरू पनि छन् । उद्योगी र व्यवसायी सफल नभई उनीहरूले कामदार र कर्मचारीलाई सहज सेवा र सुविधा दिन सक्दैनन्, न त सही श्रमको मूल्य तिर्न सक्छन् । यो सबै पक्षका बारेमा कामदार, कर्मचारी, मजदुरले बुझ्नु जरुरी छ । उद्योगी–व्यवसायीले कामदार र कर्मचारी परिचालन गरेर उत्पादन बढाएर उद्योग–व्यवसाय सफल गर्न सकिन्छ । उत्पादकत्व, गुणस्तरीय काम, उत्पादन क्षमता, उत्पादनको संख्या आदि विषयमा सोच्नु जरुरी छ । मौसमी कामदार, चिया मजदुर, ठेक्कापट्टामा काम गर्ने कामदार, श्रमजीवी पत्रकार, पर्यटनमा कार्यरत तथा घरेलु कामदारको बारेमा ऐनमा अलग्गै प्रावधान छ ।
शिक्षा र स्वास्थ्यमा दुईदिने बिदाको प्रावधानले विद्यार्थीको पढाइ बिग्रने र बिरामीले सेवा नपाउने तर्कहरू सम्बन्धित क्षेत्रबाट आइरहेका छन् । सरकारी कर्मचारी तथा शिक्षाविद्हरू पनि दुईदिने बिदाको विरोधमा छन् । स्कुलमा १ सय ८० दिन पढाउनुपर्ने प्रावधानलाई दुईदिने बिदाले समस्या ल्याउँछ, किनकि बिदा धेरै हुन्छ, काम गर्ने दिन थोरै हुन्छ ।
कामदार, कर्मचारी, मजदुर विशेषज्ञ, डाक्टर, प्राध्यापक, शिक्षक जोकोही पनि मेसिन होइनन् । उनीहरूलाई निद्रा, भोक, थकाइ, प्यास, मनोरञ्जन आदिको आवश्यकता पर्छ । सिग्मन्ड फ्राइड, अब्राहम मास्लो, सिमन हरवर्गले भनेजस्तो आम मानिसमा हुने मनोविज्ञान, शारीरिक आवश्यकता, भौतिक आवश्यकता, सामाजिक आवश्यकता, सुरक्षा, आत्ससम्मानलाई मनन गरेमा दुई दिन बिदा उत्पादक हुनेछ ।
शिक्षकले पनि विद्यार्थीहरूलाई राम्रोसँग अध्यापन गर्न आफू पनि युगअनुसार परिष्कृत हुनुपर्छ, न कि शिक्षक हो त्यसै खरर्र आइहाल्छ नि भन्ने होइन । साथै डाक्टरलाई त झनै पढिरहनुपर्ने, नयाँ–नयाँ प्रविधि र औषधिको जानकारी लिनुपर्ने, अध्ययन गरिरहनुपर्ने, वास्तविकता हेर्दा दुईदिने बिदाको प्रावधान फलदायी हुन्छ । फेरि काम त हप्तामा ४० घण्टा नै हो । खालि दैनिक एकएक घण्टा थपेर दुई दिने बिदा व्यवस्थापन गर्न प्रयास मात्र गरिएको हो ।
हामीले हाम्रो देशमा गरिबी आर्थिक सुस्तता भए पनि सम्पत्ति शुद्धीकरण, आयको स्रोत माग्ने, मूल्य अभिवृद्धि कर आदि लगाएर छाडौं, जुन बेला यी प्रावधान आए, विरोध आए, प्रजातन्त्रमा तर्क, मत, मतान्तर हुनु राम्रो हो तर सरकारले नयाँ ल्याउन खोजेका सबै विषयमा प्रतिरोध र विरोध गर्नु अव्यावहारिक हो । हप्तामा ६ दिनै कक्षामा पठनपाठन गर्नुपर्ने बाध्यताले आफूले घरमा पनि पाठहरू अध्ययन गर्न नपाएको अवस्थामा दुई दिन बिदाले सिकाइ र पढाइमा केही सहयोग मिल्ला । शिक्षक हुनेबित्तिकै सर्वज्ञानी हुन्छ, हुनुपर्छ भन्ने होइन । शिक्षकलाई पनि आफूले सिक्ने, ज्ञान थप्ने समय पक्कै चाहिन्छ, त्यो समय अहिले अभाव छ खड्किरहेको छ ।
अस्पतालमा कार्यरत डाक्टर, नर्स र पारामेडिकललाई पनि आरामको जरुरत छ । उनीहरू मेसिन पक्कै होइनन्, तसर्थ दुई दिन आराम दिँदा बाँकी दिन काममा स्फूर्ति र ऊर्जा आउँछ । सरकारी अस्पतालमा आइतबार बिरामी नहेरेपछि चाप बढ्छ, यसमा जब हामी पाँच दिन खटेर दिल दिमागले इमान्दारीपूर्वक काम गर्छौं, यो समस्या आउँदैन ।
जब हामी हप्तामा ६ दिन इमानदारीपूर्वक लाग्दैनौं, हरेक दिन काममा लापरवाही गर्छौं, गुणस्तरीय कामभन्दा सकाउने, पन्छाउने र तर्काउने गरि कार्य सम्पादन गर्छौं, त्यसका लागि हाम्रो दृष्टिकोण परिवर्तन गर्न सरकारले अतिरिक्त एक दिन बिदा थप्ने, बाँकी पाँच दिन राम्रोसँग पूरा ध्यान लगाएर काम गरेमा स्वास्थ्य र शिक्षा दुवैमा सुधार हुनेछ ।
ऐनअनुसार कामदार तथा कर्मचारीलाई नेपालले आईएलओ महासन्धिमा हस्ताक्षर गरेपछि मूलत हप्तामा ४० घण्टामात्र काम लगाउने विषयले स्थान पायो, जसअनुसार जाडोको तीन महिना मंसिर, पुस र माघ १५ सम्म अर्थात् ७५ दिन दस बजेदेखि चार बजेसम्म र अन्य महिना दस बजेदेखि पाँच बजे सम्म तथा शुक्रबार एक दिन दस बजेदेखि तीन बजेसम्म साथै शनिबार बिदा गर्ने परिपाटी सरकारी कार्यालयमा छ ।
निजी क्षेत्रमा जेठ १ बाट हप्तामा दुई दिन बिदा दिने विषयको प्रावधानले पीडा भएको छ । जबकि लामो समय काम या गुणस्तरीय काम यो सोच्ने बेला भएको छ । निजी क्षेत्रमा स्थान, कामको प्रकृति विशेषले आआफ्नै बिदा प्रणाली छ, जसमा सार्वजनिक बिदा १४ दिन छ र साप्ताहिक बिदा ५२ दिन छ । जहाँसम्म कार्यालय समय १० बजेदेखि ६ बजेसम्म छ । केही निजी उद्योग–व्यवसायमा कार्यालय समयमा पटक–पटक ११–१५ मिनेट ढिला पुगेमा एक दिनको बिदाबराबरको तलब काट्नेसम्मको चलन छ, साथै दुई दिन बिदा दिँदा अन्य अनावश्यक बिदा काट्न सकिन्छ जुन विशेष जात, धर्म, वर्ग, क्षेत्रका लागि मात्र दिइन्छ । यसबाट दुई दिन बिदाको सिर्जित समस्या हटाउन सकिन्छ ।
मानवीय, अमानवीय, कानुनी, गैरकानुनी, व्यावहारिक, अव्यावहारिक जे भए पनि उद्योगी–व्यवसायीको मनोविज्ञानमा परिवर्तन हुन आवश्यक छ, किनभने हँसिला कामदार कर्मचारी र तिनीहरूको स्वच्छन्द दिल, दिमाग लगाएर गरिएको कामलाई बिर्सनु हुदैन। कुनै बेला भएको एक हेलिकप्टर दुर्घटनामा पाइलटलाई वरिष्ठ यात्रुबाट भएको दबाबबाट चालक हतारिएर दुर्घटना भएको विषय स्मरण गर्न जरुरी छ । दबाब कामबाट के परिणाम आउँछ, यो प्रस्ट ज्ञात हुन्छ ।
जहाँसम्म उत्पादकत्वको कुरा गर्ने हो भने पाँच दिन काम गर्दा कर्मचारीबाट गरिएको काममा अलग्गै कार्यक्षमता, दक्षता, लगनशीलता देखिन्छ । दुई दिन बिदा गर्दा आन्तरिक पर्यटन बढ्ने साथै एक दिन परिवारमा रहने, अर्को दिन सरसामान किनमेल र खरिद गर्न बजार जाने, आफन्तसँग भेटघाट तथा घरायसी काम गर्ने समय मिल्छ । यो समय दिँदा उद्योगी–व्यवसायीले व्यवसायी मात्र नभएर मानवशास्त्री तथा यान्त्रिक होइन, मनोविज्ञानलाई समेत मनन गर्नु जरुरी छ ।
इन्धन जोगाउने र डलर बचाउने बहानामा यो आए पनि अन्ततोगत्वा यसबाट फाइदा मिल्ने भनेको उद्योगी–व्यवसायीलाई नै हो । यो सरकारको प्रस्तावपछि कर्मचारी वृत्तबाट मिश्रित प्रतिक्रिया आएको छ, जसमा एकथरी पुरानो मानसिकता बोकेका पूर्व प्रशासकहरूमा सरकारले गलत ग-यो, गर्न हुन्न, फेरि पुरानो नियम ल्यायो, यो असफल हुन्छ र दुई–दुई दिनको बिदा कसरी खर्चिने तथा हप्ताभर पाँच दिनको बढी चाप हुन्छ, काम धेरै छ भन्ने प्रतिक्रिया छ, अर्कातर्फ बौद्धिक, युवा, मननशील तथा जागरूकहरूमा यो कदमप्रति सकारात्मकता छ । किनभने फुर्सद भनेको मानिसमा ऊर्जा प्रदान गर्ने औषधि पनि हो ।
विश्वका १ सय २५ भन्दा बढी देशमा हेर्दा दुई दिन साप्ताहिक बिदा दिने परिपाटी छ । जहाँसम्म ‘नेपाल आफंै काम नगर्ने, गफ चुट्नेहरूको देश हो’, जसको उदाहरणका लागि टाढा जान पर्दैन, घरमा बिहान पाकेको चिया पिउन छाडेर गफ गर्नका लागि चिया पसल पुग्ने हामीमध्ये धेरै छौं ।
दुई बिदा दिँदाका आर्थिक, सामाजिक तथा पारिवारिक एवं व्यक्तिगत पक्षलाई हेर्दा कमाउने जनशक्तिहरूमा समय मिलेकाले खर्च गर्ने परिपाटी बढ्ने, होटल–रेस्टुराँ चल्ने, पर्यटक बढ्ने, बच्चाहरूलाई कामकाजी अभिभावकको समय मिल्ने र बच्चाहरूमा ऊर्जा बढ्ने, घर–परिवारमा मूलतः श्रीमान् र श्रीमतीबीचको तनाव कम हुने, छोडपत्रका घटना कम हुने, अदालतमा मुद्दाको चाप घट्ने, कृषि उत्पादन बढ्ने, कामको तनावबाट केही मुक्त हुने भएकाले उच्च रक्तचापका रोगी घट्ने आदि सकारात्मक फाइदा हुनेछ ।
वर्षमा १ सय ८० दिन पढाइ हुने हाम्रा विद्यालयहरूमा दुई दिन बिदा हुँदा बच्चाहरूलाई घरायसी काममा पनि लगाउन सकिन्छ तथा जीवनोपयोगी क्षमता, ज्ञान र सीपका लागि अभिभावकले समय दिएर उक्त कार्यमा लगाउन सकिन्छ । कृषि उत्पादनमा पनि उनीहरूको योगदान लिन सकिन्छ । तर, बालश्रमलाई ख्याल राख्नुपर्छ । स्कुल बस भएका/नभएका आदि विषय आए, राज्यले नियम बनाउँदा व्यक्तिविशेष हेर्दैन, समग्रतामा जानुपर्छ । यहाँ इन्धनको विषय अगाडि देखिए पनि अन्य विषय पनि जोडिएको छ । जस्तो कि कामदार र कर्मचारीहरूको मानसिक–शारीरिक पक्ष पनि । फुर्सदिला बच्चाहरूले बुबाआमालाई कृषिमा काम गर्न पठाउन सक्छन् । करेसाबारी र कौसी खेती बढाउन सकिन्छ । साथै कर्मचारी, कामदारको सिर्जनशीलता बढाउन, उत्पादकत्व बढाउन, स्वस्थ कामदार र कर्मचारी काममा लगाउन दुई दिन बिदा लाभदायक पनि हुन्छ ।
सरकारी स्कुल जहाँ स्कुल बस प्रयोग हुन्न, त्यहाँका विद्यार्थीलाई पनि दुई दिन बिदा आवश्यक छ । तुइनमा जोखिम मोलेर स्कुल जानेले पाँच दिन मात्र गए पुग्यो । साथै बच्चाका दुई दिन बिदा हुँदा अभिभावकलाई कामको समय मिल्यो, जसबाट हातमुख जोर्न सहज हुन्छ ।
काम र व्यक्तिगत जीवनको बीचमा सन्तुलनका लागि दुई दिन बिदा जरुरी छ । किनभने घरपरिवार व्यवस्थित गरेपछि मात्र हामी कामदार र कर्मचारी पूर्ण प्रतिबद्ध भएर काम गर्न सक्छौं ।
लचिलो, सहज, कार्यतालिकामा विश्व परिवेश गइसकेको परिप्रेक्ष्यमा नेपालमा दुई दिन बिदा गर्ने विषयमा नकारात्मक कुरा गर्नु अन्यथा हुन्छ । धेरै काम गरेर मात्र देश बन्ने होइन; मनैदेखि, भित्रैबाट प्रभावकारी काम गर्नुपर्छ ।

– इच्छाशक्ति राखेर काम गरेमा देशको उन्नति हुन्छ ।
रक्तचाप तथा मानसिक रोगीहरूका बारेमा हेर्दा, बुझ्दा, सरसर्ती अध्ययन गर्दा मानसिक स्वास्थ्यका लागि नसर्ने रोगबाट कामदार र कर्मचारी जोगाउन, उनीहरूलाई काममा टिकाइराख्न, कार्यक्षमता बढाउन, अवश्य नै दुई दिने साप्ताहिक बिदा लाभदायी हुन्छ । बिदा कम्पनीले उपलब्ध गराएको निःशुल्क उपहार हो । यो पारिश्रमिकभन्दा वास्तवमा गहन छ, जसबाट उद्योग प्रतिष्ठानले कर्मचारी मजदुरबाट सकारात्मक सहयोग पाउँछ ।
सरकारी कार्यालयमा अनियन्त्रित बत्ती, पानी, टेलिफोन, कागज, प्रिन्ट, चिया, खाजा इन्धन निश्चय नै बचाउन सकिन्छ । निजी क्षेत्रको उद्योग–व्यवसायमा हाल विद्यमान अधिक कर्मचारी र कामदारको स्वरूपमा परिवर्तन गर्न दुई दिन बिदाले सहयोग मिल्छ ।
स्वदेशभित्र केही कार्यालयमा पहिलेदेखि अभ्यास गरिएको हप्तामा दुई दिन बिदाले सहज, हल्का, आराम तथा जीवन आनन्दमय भएको उक्त कार्यालयका कामदार र कर्मचारी बताउँछन् । तलब थोरै छ तर बिदाले धान्छ, अरू काम पनि गर्न समय पुग्छ दुई दिनको बिदाले ।
साथै कामदार जो कारखानामा काम गर्छन्, तिनीहरूका बारेमा मूलतः उद्योगी–व्यवसायीको चासो होला, किनकि उत्पादन गर्न कठिन हुने भयो, बजारको मागअनुसार सामान पु-याउन दुुई दिनको बिदाको कारणले कठिनाइ भयो । त्यसै पनि हाम्रो देश ट्रेडिङमा चलेको छ, उद्योग नगण्य छ ।
कारखानामा हुने दुर्घटनासमेत कम गर्न सकिन्छ । बिदाबाट कामदारलाई तनावमुक्त बनाई उत्पादकत्व बढाउन सकिन्छ । व्यवस्थापकीय शब्दमा, ‘एफडब्लू टेलरको सिद्धान्तले उत्पादन संख्या बढाउला, तर उपेक्षित मानवीय पक्ष कमजोर हुन्छ, दीर्घकालसम्म असर गर्छ ।’
इन्धन जोगाउने, बजेटघाटा कम गर्ने, आयात घटाउने उद्देश्यले गरिएको यो प्रस्तावमा अन्यथा लिनु हुँदैन, किनकि दुई दिन सहरमा सवारीको चाप घटेमा विश्वको प्रदूषित सहरको दर्जाबाट तल झर्नेछ । दम, खोकी, क्यान्सर आदि रोगबाट नागरिकलाई बचाउन मद्दत पुग्नेछ ।
शनिबार, आइतबार फुर्सद भएपछि बिदाले सडकमा सवारी चाप बढ्छ भन्ने तर्क आइरहेको छ, त्यसका लागि नागरिकसँग पैसा पनि त हुनुप-यो नि ।
साथै, नागरिक वृत्तमा सरकारी कर्मचारी कामचोर हुन्, अब यो गरिब देशमा चौबीसै घण्टा काम गर्ने अवस्थामा दुई दिन बिदाले समस्या ल्याउँछ भन्ने तर्क छ । अब त सरकारी अफिसमा झनै काम हुन्न भन्ने तर्क छ, जसको समाधानका लागि टिम लिडर अर्थात् हाकिम, अड्डा प्रमुख इमानदार हुनुपर्छ र स्वयम् समयमा पुग्ने र समयमा निस्कने गर्नुपर्छ । यदि हामी सधैं शंका गर्छौं भने सुधार हुन सक्दैन, सुधारका लागि प्रयास निरन्तर गर्नुपर्छ ।
साथै, कार्यालयमा हुने खर्च चमत्कारिक रूपमा घटाउन सकिन्छ । काम गर्ने संस्कारको विकास गर्नका लागि पनि दुई दिन बिदा जरुरी छ । साथै, आन्तरिक पर्यटनमा टेवा पुग्छ, जहाँ सस्तो, सहज, नजिकको आन्तरिक पर्यटनका लागि समय मिल्नेछ र स्थानीय सामान, चिजवस्तुले बजार पाउनेछ ।
निजी, सरकारी सबै क्षेत्रमा एकनासले यो बिदा लागू गरेमा कृषि क्षेत्रको पनि केही मात्रामा उत्पादकत्व बढ्छ, जसबाट ३० प्रतिशत कृषि आयातलाई तल झारेर आयात प्रतिस्थापन गरी डलर जोगाउन सकिन्छ । सबै क्षेत्रमा सरकारले यो नियम लागू गरेमा मात्र यसको प्रत्यक्ष फाइदा लिन सकिन्छ, अन्यथा अपेक्षित लक्ष्य प्राप्त हुँदैन ।
सरकारले नयाँ प्रयास र अभ्यास थालनी गर्दा तर्सेर र डराएर सीधा विरोध गर्नु, सरकारको इमानदार प्रयासलाई तुहाउन भरमग्दुर प्रयास गर्नुभन्दा यो विषयमा सहयोग गर्नु आमनागरिकको कर्तव्य हुन्छ ।
विदेशमा गरिएका दुईदिने बिदाको उद्देश्य र हामीकहाँको उद्देश्य फरक छ, तथापि यो विषयको उठान ठीक समयमा भएको छ । यसलाई निरन्तरता दिनुपर्छ । यो पनि भुल्नु हुँदैन कि संसारमा कुनै पनि कुरा, विषय स्थायी छैन, परिवर्तनशील छ । विगतमा लागू भएन तर आज परिस्थिति अलग छ, घरबाट काम गर्ने चलन सुरु भइसकेको छ, प्रविधिले छलाङ मारेको छ महामारीले हामीलाई धेरै कुरा सिकाएको छ, तसर्थ हरेक क्षेत्रबाट यो विषयमा मनन गरौं ।
दुई दिन बिदा दिँदा सबै सकिन्छ भन्ने कमजोर मानसिकताले हाम्रो आयात ट्रेडिङबाट चलिरहेको अर्थतन्त्रलाई अझ कमजोर बनाउँछ, साथै कामदार र कर्मचारीप्रतिको अनुदार तथा नकारात्मक व्यवहार तथा सोचले मुलुकमा वास्तवमा परिवर्तन हुन सक्दैन ।

प्रतिक्रिया दिनुहोस्