स्वतन्त्र राजनीतिको स्वागत गर्दै मत परिणाम «

स्वतन्त्र राजनीतिको स्वागत गर्दै मत परिणाम

लोकतन्त्रको सबैभन्दा सुन्दर उपहार भनेकै स्थानीय तहमा स्थानीय प्रतिनिधि हो, जसले गर्दा आज गाउँगाउँमा विकासका विभिन्न कार्यक्रम देख्न सकिन्छ । मुख्य धारको राजनीतिबाट वितृष्णा जागेपछि अमेरिकामा ट्रम्पको आगमन भएको थियो । मुख्य धारका राजनीतिकर्मीहरू आफ्नै पार्टीको नियमबमोजिम त्यहीं पैसा र आश्वासन पेलेर अगाडि बढ्न खोज्दाको नतिजा विगतले दर्साएको थियो । जब जनता मुख्य धारका राजनीतिकर्मीसँग आजित हुन्छन्, उनीहरू वैकल्पिकलाई मौका दिऊँ भनेर जागरूक हुन थाल्छन्, जसको पुष्टि यसपालिको स्थानीय तहको निर्वाचनले गरेको छ । काठमाडौँलगायत विभिन्न स्थानीय तहमा पार्टीसँग आबद्ध नभएर अग्रणी स्थानमा पुग्न सकेको देखिरहेको यस स्थितिले के पुष्टि गर्र्छ भने परिवर्तनको अपेक्षा जनताको हिजो पनि थियो, आज पनि छ र लोकतन्त्रलगायात गणतन्त्र ल्याउने पार्टीभन्दा भिन्नबाट अपेक्षा बढेको बुझ्न सकिन्छ ।
लोकतन्त्रको सबैभन्दा सुन्दर उपहार भनेकै स्थानीय तहमा स्थानीय प्रतिनिधि हो, जसले गर्दा आज गाउँगाउँमा विकासका विभिन्न कार्यक्रम देख्न सकिन्छ । आफैं बसेको ठाउँको समस्या केन्द्रले बुझ्दैनथ्यो, त्यही भएर पनि स्थानीय नेतृत्व आवश्यक भएको स्पष्ट बुझ्न सकिन्छ । विगतको पाठ वा भविष्यको अपेक्षाअनुरूप अगाडि बढेको निर्वाचन पद्धतिले यसपालि अनपेक्षित नतिजा प्रदान गर्दै गर्दा यसबाट विभिन्न सन्देश प्रवाह भएको देखिन्छ ।
स्वतन्त्र उम्मेदवार हुन् वा बागी उम्मेदवार— उनीहरूको विजयले के पुष्टि गर्छ भने अब आम सर्वसाधारण वा जनता निष्पक्ष राजनीति अपेक्षा गर्न थालेका छन् । कसैको नातेदार भएकै भरमा भोट हाल्ने, आफ्नो पुस्तालाई सक्षम भए पनि नभए पनि उचित स्थानमा पु-याउने परिपाटीलाई एउटा मुख्य धक्कास्वरूप उदाएको यस अवस्थाले आगामी कार्यकालमा जनअपेक्षाले एउटा नयाँ आश्चर्य प्रदान नगरे तापनि सुधारको अंक मापन हुन आवश्यक छ । भ्रष्टचारितामा डुबेका नेपाली नेतृत्वलाई आगामी कार्यकालमा भ्रष्टचारिताभन्दा माथि रहँदा विकास सम्भव छ भनेर प्रमाणित गर्न आवश्यक र महत्वपूर्ण छ । स्वतन्त्रबाट विजयी भइरहँदा न पार्टीलाई केही दिनुपर्ने दबाब हुन्छ, न टिकट दिने र कार्यकर्ता रिझाउने तगारो । त्यसैले विजयीले सफा राजनीति सम्भव छ भनेर प्रमाणित गर्न सक्नुपर्ने हुन्छ ।
बेरोजगारी, विदेश पलायनको लहरमा भिज्ने नेपाली युवालाई राजनीतिक वितृष्णा थियो । तर स्वतन्त्र उम्मेदवारले विजय हासिल गरिरहँदा अब सम्भावना भएका व्यक्तिहरूले राजनीतिमा आबद्ध हुन कुनै नेताको चाकरी गर्नु नपर्ने, कसैलाई पैसा खुवाउनु नपर्ने भन्ने प्रमाणीकरण हुने हुन्छ । यदि कोही सक्षम छ भने ऊ कुनै पार्टीमा नगई पार्टी ऊसमक्ष आउनुपर्ने माहोल यस नतिजाले दर्साएको छ । अब कोही सक्षम नेतृत्व बन्न सक्ने व्यक्ति यदि जनतासमक्ष विश्वास सिर्जना गर्न सक्छ भने सहजै कुर्सीमा आउन सक्ने प्रमाणित यस निर्वाचनको नतिजाले गरेको छ, जुन वास्तवमै प्रशंसायोग्य छ ।
एउटा महत्वपूर्ण पाठ यस नतिजाले के पनि सिकायो भने माथिल्लो तहको स्वार्थ पूर्तिका निमित्त तल्लो तहले सधैं साथ दिन्छन् भन्ने हुँदैन रहेछ । काठमाडौँको एसीको हावा खाँदै एउटा स्थानीय ठाउँमा के ठीक र के बेठीक भनी परिकल्पना गर्नु मुर्खता रहेछ भन्ने महत्वपूर्ण पाठ यसपालिको नतिजाले प्रदान ग-यो । पर्याप्त आधार नभई, जनचाहना नबुझी पार्टीगत पहुँचको भरमा टिकट प्रदान गर्नु मुर्खता हो भन्ने महत्वपूर्ण पाठ राजनीतिक दलहरूले यस नतिजाबाट सिक्न सक्नुपर्छ । माथिल्लो नेतृत्वको स्वार्थ पूर्तिको निमित्त कार्यकर्ताले सधैं साथ नदिने प्रमाणित भइसकेको देखिन्छ, अन्यथा विरोधस्वरूप अन्य पार्टीलाई भोट दिने थिएनन् । को वास्तवमा योग्य छ उक्त ठाउँका लागि भनेर केही रकमबाट निर्धारण गर्नु अब सायद मुर्खता हो । फरक आस्थाका दल मिल्दैमा भोटरले सधैं सहयोग गर्छन् भन्ने हुदैन रहेछ भन्ने पनि विभिन्न ठाउँको नतिजाले प्रमाणित गराइसकेको देखिन्छ ।
हुन त भोटरको संख्यामा एउटा खाडलसरह देखिए पनि यसपालि भएको बदरको संख्या हेर्दा राजनीतिक जनचेतना जनमानवमा हावी हुन थालेको बुझिन्छ । एउटा महत्वपूर्ण पक्ष के हो भने आफैंले गरेको भोटको प्रत्यक्ष प्रभाव आफ्नै घरदैलोमा देखिएन भने आफ्नो भोट खेर गए बराबर हुन जान्छ । घरअगाडि भएको सडकको निर्माण, निर्वाचितले गरेको व्यवहार र निष्पक्षता एक आम जनताले प्रत्यक्ष अनुभूति गर्न पाउने अवसर हो । जनतामाझ अब पनि उचित निर्णय नलिँदा भोलि मर्का आफैंलाई पर्न जाने भन्नेबारे चेतना जागेको नतिजा यही निर्वाचनको मत परिणामले जनाउँछ । जनता सचेत हुँदै गर्दा त्यसको प्रभाव राजनीतिमा परेको समेत पुष्टि हुन्छ ।
भोलि गएर प्रत्यक्ष कार्यकारी निर्वाचन भएको खण्डमा पनि पार्टीगत नेतृत्वभन्दा महत्वपूर्ण विकल्प रहेको भनेर हिजोको नेतृत्वलाई पाठ सिकाउन यसपालिको नतिजा पर्याप्त भएको देखिन्छ । यसले राजनीतिक दललाई पनि भोलिको आड भनेको समानुपातिक मात्र रहने भन्ने त्रास सिर्जना गरेको बुझ्न सकिन्छ । मूलतः यो सकारात्मक आशा आफैंंमा समग्र राष्ट्रका लागि सकारामक आशा हो; जसका निमित्त पार्टीभन्दा माथि उठेर भोट गरेका जनताको अपेक्षा पूर्ति गर्नु यी नवनिर्वाचितहरूको प्रमुख जिम्मेवारी पनि हो । स्थानीय तहमा उनीहरूले गरेको काम प्रत्यक्ष जनताले घरघरमा अनुभूति गर्न पाउने अवसर पनि हो, जसले विगतको परिपाटीलाई एउटा नयाँ रूप प्रदान गर्न सक्नुपर्छ । भोलि कुनै जागिर खान वा केही पर्दा हेरिदिने अपेक्षा बोकेको राजनीतिक अभिभावकलाई धोका दिएर विजयी गराएकाहरूको जिम्मेवारी थप रहेको हुन्छ । जनअपेक्षालाई बुझेर काम गर्न सकेको खण्डमा जनता गलत हुँदैनन् र जनता वास्तवमै शक्तिशाली हुन् भन्ने प्रमाणीकरण समेत हुन्छ— आगामी कार्यकालको शुभकामना !

प्रतिक्रिया दिनुहोस्