Logo

डरमर्दो बन्दै राजमार्गको यात्रा

सडक यातायात सबैको पहुँचमा छ, तर यसको गुणस्तरमा भने ध्यान नपुगेको देख्न सकिन्छ । ट्राफिक प्रहरीको तथ्याङ्क हेर्ने हो भने हरेक वर्ष सडक दुर्घटना बढिरहेको देख्न सक्छौं । गत आव २०७७/०७८ मा ९ हजार ५ सय ४५ वटा सवारी दुर्घटनाको भएको तथ्याङ्क ट्राफिक प्रहरीसँग छ । यो संख्या भनेको ट्राफिक प्रहरी कार्यालयमा दर्ता भएका रेकर्ड हुन्, यहाँ रेकर्ड नभएका घटनाको लेखाजोखा नै छैन । हरेक दिन सवारी दुर्घटनाका समाचार सञ्चारमाध्यममा नहेरेको दिन नै हुँदैन । सडक दुर्घटना बढ्दै मात्र जाने हो भने सडक यात्रा भरपर्दो देखिँदैन । यात्रा अवधिभर डरैडरमा यात्रा गर्नुपर्ने बाध्यता मात्र थपिँदै जान्छ ।
राजमार्गका यात्रामा भने गन्तव्यमा नपुगुन्जेलसम्मको यात्रा कहालीलाग्दो देखिन्छ । पहाडी भूभाग डाँडाकाँडा छेडेर सडकमार्ग सञ्चालन गरिएको छ, त्यसमाथि साँघुरो र घुमाउरो सडक हुनाले पनि दुर्घटना बढिरहेको छ । त्यस्तै सडकमा झन् चालकले लापरवाही र हेलचेक्र्याइँ गरी सवारी चलाउनाले पनि दुर्घटना बढ्ने गरेको छ । त्यसकारण आम सवारी प्रयोगकर्तालाई सडकप्रतिको विश्वास घट्दै गएको देख्न सकिन्छ । यस सम्बन्धमा ट्राफिक प्रहरी, सवारी चालक, सम्बन्धित सरोकारवालाले समयमा नै ध्यान नपु-याउने हो भने यस्ता दुर्घटनाबाट नागरिकले सधैं कष्ट भोग्नुपर्ने बाध्यता आउँछ । यस्ता घटनालाई समयमा नै निराकरणका निमित्त पहल नगर्ने हो भने आमनागरिकको सडक प्रयोगमा कमी आउन सक्ने देखिन्छ । बरु मानिसमा महँगै भाडा तिर्नुपर्ने बाध्यता भए पनि सम्भव भएका स्थानमा आवतजावतका लागि हवाईमार्गको प्रयोग गर्न इच्छुक हुन सक्ने अवस्था सिर्जना नहोला भन्न सकिन्न ।
यहाँ अनाहकमा सवारी दुर्घटनाबाट पिल्सिएका धेरै छन् । आफूले सही तरिकाले सडक सवारी सुरक्षा मापदण्ड अपनाउँदाअपनाउँदै पनि अन्य सवारीको आतंक देख्दा उदेक लाग्छ । राजमार्गमा ठूला सवारी आतंक दिनप्रतिदिन बढ्दै गइरहेको छ । साना सवारी चालकले आफू सुरक्षित तवरले सवारी चलाइरहँदा पनि ठूला सवारीको आतंकले गर्दा अनाहकमा ज्यान जाने दुर्घटना निम्तिने गरेको छ भने अंगभंग भई शारीरिक रूपमा अशक्त हुनुपरेको छ । राजमार्गमा तीव्र गतिमा सवारी चालकले सवारी चलाउँदा दुर्घटना झन् झन् बढ्दै गइरहेको छ । साँघुरा सडक त्यसमाथि पहाडका घुम्ती नै घुम्तीमा चालक सचेत नहुनाले दुर्घटना भइरहेको अनुमान लगाउन गाह्रो पर्दैन ।
दिन–प्रतिदिन दुर्घटनाका समाचार बन्नुपर्दा र सुन्नुपर्दा उदेक लाग्छ । आम मानिसमा चेतनाको अभिवृद्धि किन हुन सकेन ? सरकार यस्ता विषयमा किन मौन जस्तै बनिरहन्छ ? अब राजमार्गमा हुने सडक दुर्घटनाको विषयमा संयमित हुनुपर्ने आवश्यकता देखिन्छ । त्यसैले यस्ता दुर्घटना न्यूनीकरण गर्न चालकलाई सचेतनात्मक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता छ भने गति नियन्त्रणमा ध्यान पु-याउनुपर्ने, त्यस्तै क्षमताभन्दा दोब्बर यात्रु चढाउन रोक लगाउनुपर्ने देखिन्छ । चालकलाई यात्रा अवधि तोक्ने व्यवस्थाको खाँचो छ । डबल सवारी चालक राख्नुपर्ने कार्यक्रम ट्राफिक प्रहरीले चलाइरहे पनि प्रभावकारिता भने देखिएको छैन । यस्ता नियम–कानुनको प्रयोग नहुँदा सवारी दुर्घटनामा सोझासाझा नागरिकले अनाहकमा दुःख भोग्नुपरिरहेको देखिन्छ ।
– मथुरा तिवारी

प्रतिक्रिया दिनुहोस्