सरकारले पाठ्यपुस्तक छपाइमा ढिलाइ गर्दा विद्यार्थीको शैक्षिक भविष्य अन्योल «

सरकारले पाठ्यपुस्तक छपाइमा ढिलाइ गर्दा विद्यार्थीको शैक्षिक भविष्य अन्योल


सरकारले पाठ्यपुस्तक छपाइमा गरेको ढिलासुस्ती र हेलचेक्र्याँइले देशभरका माध्यमिक तहसम्म अध्ययनरत विद्यार्थीको शैक्षिक भविष्य अन्योलमा परेको छ ।
जेठ ५ गतेबाट नै शैक्षिक सत्र सुरु हुने भए पनि पाठ्यपुस्तक छपाइ र वितरण हुन नसक्दा विद्यार्थीलाई कसरी पढ्ने भन्ने अन्योल सिर्जना भएको हो । विशेषगरी कक्षा ४, ७ र ९ मा नयाँ पाठ्यपुस्तक सरकारले लागू गरेको छ । तर अहिलेसम्म पनि छपाई कार्य पूरा नहुँदा विद्यार्थी र शिक्षकमा अध्ययन, अध्यापन कसरी गर्ने भन्ने अन्योलता छाएको छ । स्थानीय निर्वाचनको तयारीमा सरकार लिप्त रहनु र शैक्षिक क्षेत्रमा आवश्यक चासो नराख्नुले जेठ पहिलो सातासम्म पनि विद्यार्थीहरूको हातमा पाठ्यपुस्तक उपलब्ध हुन नसकेको अध्यापकहरू बताउँछन् । अबका तीन महिनासम्म पनि विद्यार्थीहरूले पाठ्यपुस्तक पाउने सम्भावना नरहेको अध्यापकहरूको बुझाइ छ । विश्व निकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले सरकारले शैक्षिक क्षेत्रमा हेलचेक्र्याइँ गरेर लाखौं बालबालिकाको भविष्यमा अन्योल पैदा गरेको बताए । प्रधानाध्यापक कँडेलले कक्षा १ देखि १० सम्मकै पाठ्यपुस्तकहरू नछापिएकाले विद्यार्थीहरूले पढ्न पाउने अधिकारबाट वञ्चित हुनुपर्ने स्थिति आएको बताए । पाठ्यपुस्तक नभएपछि पाठ्यक्रमको आधारमा पठनपाठन गर्ने र अग्रज विद्यार्थीका पुस्तक मागेर नयाँ विद्यार्थीलाई दिने विद्यालयको योजना छ । तर नयाँ पाठ्यपुस्तक लागू हुने कक्षाका लागि भने विद्यालयले पाठ्यक्रम विकास केन्द्रले आफ्नो वेबसाइटमा जुन सफ्ट कपी डाउनलोड गरी विद्यार्थीहरूलाई तत्कालका लागि पठनपाठनको व्यवस्था मिलाउने बताए । सहरी क्षेत्रमा क्षणिक समाधानका लागि यो उपायले काम गरे पनि दूरदराजका क्षेत्रमा यो उपाय सही साबित हुन सक्दैन । जसका कारण पनि शिक्षविद्हरूले आगामी दसैंसम्म दुर्गमका विद्यार्थीहरूले पाठ्यपुस्तक बिना नै अध्ययन गर्नुपर्ने बाध्यता रहेकोप्रति सरकार गम्भीर बन्न सुझाएका छन् । प्रधानाध्यापक कँडेलले कक्षा ४, ७ र ९ को नयाँ किसिमको पाठ्यपुस्तकहरू लागू भएकाले यी कक्षामा अध्ययन गर्ने विद्यार्थीहरूलाई अध्यापन गराउन समस्या भएको बताए ।
प्रधानाध्यापक कँडेलले सरकारले यो वर्ष निर्वाचन हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि पाठ्यपुस्तक छपाइमा हेलचेक्र्याइँ गरेको बताए । उनले सरकारले ठोस योजना बनाएर काम नगरेको र शिक्षालाई कम प्राथमिकता दिएका कारण लाखौं विद्यार्थीको भविष्य अन्योलमा परेको बताए । प्रधानाध्यापक कँडेलले निर्वाचनलाई केन्द्रमा राखेर काम गरेको सरकार विद्यार्थीको भविष्य र शिक्षाप्रतिको दायित्वबाट पन्छिएको आरोप लगाए । यस वर्ष जतिसक्दो चाँडो पाठ्यपुस्तक छपाउने र आगामी वर्षमा समयमै विद्यार्थीहरूको हातमा पुस्तक पर्ने गरी काम गर्न पनि आग्रह गरे ।
प्रधानाध्यापक कँडेलले सरकारले जनक शिक्षा सामग्रीलाई दबाब दिएर भए पनि पाठ्यपुस्तक चाँडो छपाउने र विद्यार्थीहरूको हातमा पाठ्यपुस्तक पाउने स्थिति सिर्जना गर्न आग्रह गरे । कोरोनाका कारण गत दुई वर्ष पनि शैक्षिक क्षेत्रमा अपूरणीय क्षति पुगेको र अहिले अवस्था सामान्य बन्दै गएको बेलामा सरकारले समयमै विद्यार्थीहरूको हातमा पाठ्यपुस्तक पु-याउन नसक्नु शैक्षिक क्षेत्रका लागि नै दुःखको कुरा भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्