दाङको आठ पालिकाको नतिजा सार्वजनिक «

दाङको आठ पालिकाको नतिजा सार्वजनिक


दाङ-जिल्लाको आठ पालिकाको नतिजा सार्वजनिक भएको छ भने दुई पालिकाको मतगणना जारी छ । जिल्लामा १० स्थानीय तह छन् ।
लमही नगरपालिका प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका जोगराज चौधरी र लक्ष्मी योगी निर्वाचित भएका छन् । चौधरीले ९ हजार ३ सय १७ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका वसन्तराज शर्माले ७ हजार २ सय ५ मत प्राप्त गरेका थिए । एमालेका डण्डीराम चौधरीले ५ हजार ५ सय ३ मत प्राप्त गरेका छन् । उपप्रमुखमा विजयी योगीले ८ हजार ७ सय ३७ मत प्राप्त गरेकी छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका गंगा पाण्डेले ५ हजार ८ सय ४ मत प्राप्त गरेको निर्वाचन अधिकृत कार्यालयले जनाएको छ । त्यसैगरी नेकपा एमाले उम्मेदवार सुशीला शर्माले ५ हजार ३ सय १२ मत प्राप्त गरेकी छन् । नगरपालिकाका ९ वडामध्ये ८ वडा कांग्रेसले जितेको छ । वडा न ५ मा नेकपा माओवादी उमेदवार विजय भएका छन् ।
गढवा गाउँपालिकाको अध्यक्षमा माओवादी उपाध्यक्षमा कांग्रेस गढवा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका यमनारायण शर्मा पोख्रेल निर्वाचित भएका छन् । उनले ६ हजार ९ सय ९ मतसहित अध्यक्षमा निर्वाचित भएका छन् । उनको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार सर्वजित डीसीले ६ हजार १ सय ६७ मत प्राप्त गरेका थिए । नेकपा एमालेका उम्मेदवार सहजराम यादवले ४ हजार १ सय ३१ मत पाएका छन् । उपाध्यक्षमा भने नेपाली कांग्रेसकी उम्मेदवार शारदा चौधरी निर्वाचित भएकी छिन् । उनले ५ हजार १ सय ८१ मत प्राप्त गरिन् । उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी सीताकुमारी चौधरीले ४ हजार ८ सय ३० मत प्राप्त गरिन् । माओवादी केन्द्रसँग तालमेल गरेर उपाध्यक्षमा प्रतिस्पर्धा गरेकी एकीकृत समाजवादीकी शान्ति चौधरीले ४ हजार १ सय १२ मत प्राप्त गरेकी छन् ।

दंगीशरण गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । कांग्रेसका शम्भु गिरि अध्यक्ष र पिमा खड्का वली उपाध्यक्षमा निर्वाचित भएका हुन । गिरिले ५ हजार ४ सय ६७ मत प्राप्त गर्दै गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । गिरिले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका मेघनाथ शाहलाई १ हजार ४ सय १८ मत अन्तरले पराजित गर्दै विजयी भएका हुन । एमालेका शाहले ४ हजार ४९ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रका मनिराम चौधरीले १ हजार ७ सय ८३ मत पाएका थिए । उपाध्यक्षमा कांग्रेसकै पिमाकुमारी खड्का वलीले २ सय ६८ मत अन्तरले दोस्रो पटक निर्वाचित भइन् । वलीले ४ हजार ५ सय ७९ मत प्राप्त गरेकी छन् । उनी २०७४ को निर्वाचनमा पनि उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । उनकी निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी बुधनी चौधरीले ४ हजार ३ सय ११ मत प्राप्त गरेकी छन् । माओवादी केन्द्रकी निर्मला वलीले १ हजार ८ सय ४६ मत पाएकी छन् । दंगीशरण गाउँपलिकाका ७ वडामध्ये चार वडा एमाले र ३ वडामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

शान्तिनगर गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उमेदवार प्रमोद बस्नेत र उपाध्यक्षमा प्रेमा बुढाथोकी केसी निर्वाचित भएका छन् । गाउँपालिकाको अध्यक्षमा कांग्रेसका बस्नेतले ५७ सय १६ मत प्राप्त गरी विजयी हासिल गरेका हुन् ।
उनका प्रतिस्पर्धी एमालेका विष्णु केसीले ४५ सय २४ र माओवादी केन्द्रका मोहनलाल वलीले २७ सय ९४ मत प्राप्त प्राप्त गरेका थिए । बस्नेतले केसीलाई ११ सय ९२ मतान्तरले पराजित गरेका हुन् ।
त्यस्तै उपाध्यक्षमा कांग्रेसकै प्रेमा बुढाथोकी केसीले ५७ सय ५० मत प्राप्त गरी निर्वाचित भइन् । उनका निकटतम प्रतिष्पर्धी एमालेका कमला भण्डारीले ४ हजार २८ मत प्राप्त गरेकी थिइन् । यहाँ नेकपा माओवादी केन्द्रकी राधिका परियारले तीन हजार ८३, एकीकृत समाजवादीका लता बस्नेतले २८ मत मात्रै प्राप्त गरेकी थिइन् ।

बबई गाउँपालिकामा नेपाली कांग्रेसले जित हासिल गरेको छ । अध्यक्षमा काँग्रेसका कुलबहादुर केसी र उपाध्यक्षमा बमकुमारी खड्का विजयी भएका छन् । अध्यक्षमा निर्वाचित केसीले ६ हजार ६ सय १५ मत प्राप्त गरेका थिए ।

उनका निकटतम प्रतिष्पर्धी नेकपा एकमालेका भुवनेश्वर पौडेलले ५ हजार ५ सय ३८ मत प्राप्त गरे । पौडेलले २०७४ सालमा गाउँपालिका अध्यक्ष जितेका थिए । यस पटक पनि पार्टीले उनैलाई उम्मेदवार बनाएको थियो । त्यस्तै गाउँपालिका अध्यक्षमा नेकपा माओवादीका केन्द्रका भीमबहादुर वलीले २ हजार १८ मतमात्रै प्राप्त गरे । उपाध्यक्षमा नेपाली कांग्रेसकी बमकुमारी खड्काले ६ हजार ४ सय मत प्राप्त गरी विजयी भएकी छन् । उनकी निकटतम प्रतिष्पर्धी नेकपा एमालेकी सावित्रा विश्वकर्माले ५ हजार ४ सय १४ मत प्राप्त गरिन् । उनी पनि यसअघि सोही गाउँपालिकामा उपाध्यक्ष निर्वाचित भएकी थिइन् । त्यस्तै नेकपा माओवादीकी उपाध्यक्ष पदकी उम्मेदवार अञ्जु घर्तीले २ हजार २ सय ५६ मत प्राप्त गरिन् । बबईका ७ वटा वडामध्ये ४ वडामा नेपाली कांग्रेस र ३ वडामा नेकपा एमाले विजयी भएको छ ।
राप्ती गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका प्रकाश विष्ट निर्वाचित भएका छन् भने उपाध्यक्षमा नेकपा एमालेकी कमलापति चौधरी निर्वाचित भएकी छन् । यहाँ माओवादी र राष्ट्रिय जनमोर्चाका बीच चुनावी तालमेल भएको थियो । अध्यक्षमा निर्वाचित विष्टले ६८ सय ९८ मत प्राप्त गर्दा एमालेका पोखरेलले ५७ सय मत प्राप्त गरेका थिए ।
यहाँ नेपाली कांग्रेसकी अध्यक्ष पदका उम्मेदवार जगदम्बाकुमारी चौधरीले ४१ सय ९९ मत प्राप्त गरेकी थिइन् । दाङ जिल्लामा कांग्रेसले गाउँपालिका अध्यक्षमा उम्मेदवार बनाएकी चौधरी एक्ली महिला हुन् । जगदम्बाले २०७४ सालमा गाउँपालिकाको उपाध्यक्ष जितेकी थिइन् । नेपाली कांग्रेसबाटै असन्तुष्टि जनाउँदै बुद्धिप्रकाश चौधरीले यहाँ बागी उम्मेदवारी दिएका थिए ।
बुद्धिप्रकाशले तीन हजार बढी मत प्राप्त गरे । २०७४ सालको निर्वाचनमा राप्ती गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै कांग्रेसले जितेको थियो । त्यस्तै राप्तीको उपाध्यक्षमा भने नेकपा एमालेकी कमलापती चौधरी निर्वाचित भएकी छन् । उपाध्यक्षमा निर्वाचित चौधरीले ६६ सय ७४ मत प्राप्त गरेकी थिइन् भने निकटतम प्रतिस्पर्धी कांग्रेसका भुसालले ५४ सय ९६ मत प्राप्त गरेका थिए । राप्तीमा गठबन्धनबाट उपाध्यक्षमा उम्मेदवारी दिएका राष्ट्रिय जनमोर्चाका केशवराज खनाल तेस्रो स्थानमा आए । उनले ४४ सय ६५ मत प्राप्त गरेका छन् । राजपुरमा नेपाली कांग्रेस र बंगलाचुली गाउपालिकामा अध्यक्ष माओवादी र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएका छन् । घोराही र तुलसीपुर उपमहानगरमा मतगणना जारी छ ।

प्रतिक्रिया दिनुहोस्