फेरि थुप्रियो उपत्यकामा फोहोर «

फेरि थुप्रियो उपत्यकामा फोहोर

लामो समयदेखि काठमाडौं उपत्यकाको फोहोर उठ्न नसक्दा उपत्यकामा नै थुप्रिएको छ । सितापाईलादेखि सिस्डोलसम्म फोहोर लैजाने क्रममा स्थानीयको अवरोधका कारण फोहोर उठाउन सकिएको छैन ।
पासाङ ल्हामु राजमार्गअन्तर्गका स्थानीयवासीकोे अवरोधपछि फेरि फोहोर व्यवस्थापन नहुँदा फोहोर फाल्ने स्थानको अभावका कारण समसया उत्पन्न भएको छ । पासाङ ल्हामु राजमार्ग मर्मतको जिम्मा पाएको निर्माण कम्पनीले समयमा नै काम सम्पन्न नगरेको भन्दै स्थानीयवासीले उक्त स्थान भएर फोहोरको गाडी जान नदिँदा काठमाडौंको फोहोर सडकमा र सार्वजनिक स्थलमा थुप्रिन थालेको हो ।
भख्खरैमात्रै सम्पन्न स्थानीय निकायको चुनावी प्रक्रियामा महानगरको ध्यान जानु र स्थानीयसँगको वार्ता ढिलाइ भइरहेकाले समस्या उत्पन्न भइरहेको छ । वार्ता नमिलेसम्म काठमाडौंको फोहोर उठाउन असम्भव रहेको काठमाडौं महानगरपालिकाको भनाइ छ । काठमाडौं महानगरपालिका हाक्ने जिम्मेवारी लिएका प्रमुखहरूले फोहोर मैला व्यवस्थापन गर्ने चुनावी एजेन्डा कार्यान्यनमा चुकेका छन् । आगामी नेतृत्वले सफा र सुन्दर काठमाडौं बनाउन लिएका एजेन्डा कार्यान्वयनमा लैजान दीर्घकालीन सोच बनाएर, कुहिने र नकुहिने फोहोर घरमा नै छुट्टयाउन लगाउनुपर्ने वातावरणविद्हरूको सुझाव छ ।
स्थानीय चुनाव सकिए पनि मतगणाना भइरहेकाले फोहोर व्यवस्थापनमा सरकारको ध्यान जान सकेको छैन । भत्किएका सडक मर्मतका लागि पटक पटक स्थानीयले सरकारसँग माग गर्दा पनि माग पूरा हुन नसकेको भन्दै काठमाडौं– सिस्नेरी सडकखण्डका स्थानीयले अवरोध गर्दै फोहोर पनि लैजान दिएका छनन् । काठमाडौं महानगरपालिकाले पटकपटक सडक विभागलाई आग्रह गर्दा पनि सडक विभागको ढिला सुस्तीका कारण सडक मर्मतको काम सम्पन्न हुन नसकेको महानगरकै भनाइ छ । अन्तरसरकारी निकायबीचको समन्वयनको अभावका कारण काठमाडौंको फोहोर व्यवस्थापनमा चुनौती थपिएको हो ।
काठमाडौं महानगरपालिकाका साहायक प्रवक्ता महेशकुमार काफ्लेले स्थानीयको अवरोध हट्ने बित्तिकै फोहोर सिस्डोल लगिने बताएका छन् । “फोहोर फाल्ने ठाउँ नै नभएर अहिले उपत्यकामा फोहोर थुप्रिएको हो,” उनले भने, “स्थानीयको अवरोध नहटेसम्म फोहोर व्यवस्थापन गर्न सकिने अवस्था छैन, छिट्टै वार्ता गरेर कुने निष्कर्षमा पुग्ने छौं ।”
काठमाडौं महानगरपालिकाअन्तर्गत वातावरण माहाशाखा प्रमुख सरिता राईले भने अब बिहिबारदेखि नै फोहोर व्यवस्थापन हुने बताइन् । “विभिन्न स्थानमा स्थानीयको अवरोधका कारण समस्या आएको थियो, वार्ता पनि भएको छ, यदि फेरि अवरोध भएमा जबरजस्ती भए पनि फोहोर ल्यान्डफिल्ड साइडमा लान तयार छौं,” उनले भनिन् ।
काठमाडौं महानगरभित्रका विभिन्न सहर तथा गल्लीहरूमा हप्ता दिनभन्दा बढी समयदेखि फोहोर उठ्न नसक्दा दुर्गन्ध बढिरहेको छ । फोहोर व्यवस्थापन भइरहेको स्थानभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन फोहोर व्यवस्थापनस्थलको काम निर्धारित समयमा सम्पन्न हुन नसक्दा पनि समस्या आएको कामपाले जनाएको छ । हरेक दिन उपत्यकाबाट एक हजार दुई सय मेट्रिक टन फोहोर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । यसमध्ये सबैभन्दा बढी कामपाको पाँच सय मेट्रिक टन फोहोर निस्किन्छ । निजी र कामपाको गरी दैनिक कम्तीमा दुई सय गाडी फोहोर सिसडोल लैजाने गरिन्छ ।
जथाभावी रूपमा फोहोर फाल्ने कारबाही गर्ने प्रावधान भए पनि महानगरपालिकाले नै फोहोर नउठाउँदा सडक तथा सार्वजनिकस्थलमा फोहोर फाल्न बाध्य छन् उपत्यकाबासी । महानगरपालिकाले स्रोतमा नै फोहोरको वर्गीकरण नगरेमा फोहोर संकलन नगर्ने र काठमाडौ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ को दफा ५१ (थ) तथा फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३८ (थ) अनुसार कसुर मानी प्रत्येक पटक पाँच सय रुपैयाँ जरिवाना हुनेछ ।
फोहोर छुटयाउने जिम्मेवारी फोहोर उत्पादनकर्ताकै हुने भएकाले फोहोर पृथकीकरण गरी कुहिने (जैविक) फोहोर संकलन गर्न आउने दिन जैविक फोहोरमात्र संकलन गर्ने र नकुहिने (अजैविक) फोहोर संकलन गर्न आउने दिन अजैविक फोहोर मात्रै संकलन गर्ने महानगरपालिकाले जनाएको छ ।
काठमाडौ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा २२ (१), (२) र फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा (१), (२) को व्यवस्था गरेबमोजिम फोहोर छुटयाउन महानगरले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्