लगानी बोर्ड र नबिल बैंकबीच सम्झौता «

लगानी बोर्ड र नबिल बैंकबीच सम्झौता

लगानी बोर्ड र नबिल बैंकबीच पूर्वाधार विकासका लागि रणनीतिक योजनामा सम्झौता भएको छ ।
बुधबार काठमाडौंमा एक कार्यक्रमकाबीच बोर्ड र बैंकबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो । पूर्वाधार विकासको लागि रणनीतिक योजना सहमति पत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी साहले हस्ताक्षर गरेका छन् । उनले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले २०६८ सालमा प्रधानमन्त्री बनेको बेला अर्थात् १० वर्ष अगाडि लगानी बोर्ड स्थापना गर्न भिजन बनाएको बताए । साहले लगानीकर्तालाई एउटै ठाउँबाट सबै सेवा दिन योजना बनाएर पनि बोर्ड बस्ने अफिससमेत नपाएको अनुभव सुनाए । तर अहिले यही बोर्डसँग पूर्वाधार निर्माणका लागि सहकार्य गर्न पाउँदा खुसी लागेको साहले बताए । उनले लगानी बोर्डले १० वर्षमा २७ वटा परियोजनामा ८ खर्ब ३३ अर्ब लगानीको लागि स्वीकृति दिएको बताए । बोर्डले मुख्य रुपमा जलविद्युतमा गरेको लगानी सफल भएकाले अब नेपालमा विद्युत उत्पादन बढाएर उत्पादित विद्युत भारतमा १०० मेगावट बेच्न सकेमात्रै पनि अर्थतन्त्रको मुहार फेरिने दाबी गरे ।
त्यस्तै, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले ठूला पूर्वाधार निर्माण नै देशको आर्थिक सामाजिक विकासको लागि मुख्य फाउन्डेसन भएको बताए ।
उनले भने, “देशको आर्थिक सामाजिक विकासका लागि ठूला पूर्वाधार भनेको एउटा फाउन्डेसन हो । लगानी बोर्डमा कार्यान्वयन तहमा पुगेको चारवटा परियोजनाको अनुमानित लागत तीन खर्बको छ । त्यो लगानी रियलाइज हुन्छ । समय भने कुर्नपर्छ । ठूला पूर्वाधार निर्माण गर्नका लागि विभिन्न चरण पार गर्नुपर्ने हुन्छ ।”
प्रमुख कार्यकारी अधिकृत भट्टले लगानी बोर्डमा कार्यान्वयन तहमा पुगेको चारवटा परियोजनाको अनुमानित लागत तीन खर्बको रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्