निर्वाचनमा लापरबाही गर्ने कर्मचारीको विवरण माग
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा निर्देशिकाविपरीत कार्य गर्ने मतदान अधिकृत तथा अन्य कर्मचारीको विवरण माग गरेको छ ।
आयोगले स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ तथा स्थानीय तह निर्वाचन (मतदान) निर्देशिका, २०७८ का व्यवस्थाको प्रतिकूल हुनेगरी मतपत्रमा दस्तखत नगरी मतदातालाई दिने, अर्धकट्टीसहित मतपत्र दिने, अर्धकट्टीमा दस्तखत नगराउने, स्ट्याम्प प्याडको सट्टामा अर्कै मसी प्रयोग गराउने, मतपत्र र मतदाताको सही विवरण तयार नगर्ने, मतपत्रमा मतसंकेत गर्न रबरको स्वस्तिक छाप दिनुपर्नेमा पित्तलको स्वस्तिक छाप दिने, सही किसिमले मुचुल्का तयार नगर्ने जस्ता काम गर्ने कर्मचारीको विवरण मागेको हो ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज जारी गर्नुभएको विज्ञप्तिमा सुरक्षण सिल सही ढंगले नलगाउने, पोलबुकमा स्पष्ट विवरण नराख्ने, मतदाता नामावली विवरणमा स्पष्ट रेजा नलगाउने, मतगणना गर्दा आएको संख्या र कम्प्युटरमा प्रविष्ट संख्या फरक पार्ने, मतगणना सम्पन्न भएपछि घोषणा गर्न ढिलाइ गर्ने, स्थानीय तह निर्वाचन (मतगणना) निर्देशिका, २०७८ विपरीत मतपत्र सदर वा बदरको निर्णय गर्ने आदि गम्भीर प्रकृतिका गल्ती गरेको देखिएको उल्लेख छ ।
मतदान कार्यमा खटिएका जिम्मेवार मतदान अधिकृतबाट भएका त्यस प्रकारका गल्तीले निर्वाचनमा विवाद उत्पन्न भई निर्वाचन अवरुद्ध हुने, स्थगित हुने र मतगणनासमेत प्रभावित हुने भइरहेको हुँदा यस प्रकारका गम्भीर त्रुटि/गल्ती गर्ने मतदान अधिकृत र संलग्न अन्य कर्मचारीको नाम, थर, पद, कार्यरत कार्यालयको नाम र ठेगाना, कर्मचारी सङ्केत नं, खटिएको मतदान केन्द्रको नाम र ठेगाना खुलाई आयोगमा पठाउन सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई आयोगले निर्देशन दिएको छ ।
आधाभन्दा बढी पालिकाको गणना सकियो
स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत ३० वैशाखमा सम्पन्न मतदानको गणना जारी छ । बुधबार बेलुकासम्म आधाभन्दा बढी पालिकाको गणना सकिएको छ ।
पछिल्लो मतपरिणामअनुसार सबैभन्दा धेरै पालिका नेपाली कांग्रेसले सबैभन्दा धेरै पालिका प्रमुख जितेको छ । दोस्रोमा नेकपा एमाले छ भने तेस्रो नम्बरमा नेकपा माओवादी केन्द्र छ । पाँचौं र छैटौं नम्बरमा क्रमशः जसपा र नेकपा (एस) छन् ।
यसैबीच, निर्वाचन आयोगले मतगणना कार्य सुरु भएको बढीमा पाँच दिनभित्र मतगणना कार्य सम्पन्न गर्न–गराउन निर्देश गरेको छ । मतगणना कार्यमा सानातिना विषयलाई ठूलो मुद्दा बनाइ विवाद बल्झाउने, गणना कार्य सम्पन्न भई मुचुल्का उठाएर अन्तिम परिणाम घोषणा गर्ने समयमा पुनः गणना गराउन माग गर्नेजस्ता समस्या खडा गर्ने, गणना गर्दै जाँदा मतगणनाको अन्तिम चरणमा पुग्दा झिनो मतान्तर देखिएमा सुरुदेखि नै पुनः मतगणना गराउन खोज्नेजस्ता कार्यबाट मतगणना यथा समयमा सम्पन्न गर्ने कार्यमा व्यवधान उत्पन्न हुने हुँदा त्यस प्रकारका व्यवहार प्रदर्शन नगर्न आयोगले आग्रह गरेको हो ।
परिणाम आउन बाँकी पालिकामा मतगणना कार्य २०७९ जेठ ५ गतेसम्म सम्पन्न गर्न आयोगका तर्फबाट अधिकतम् प्रयास भइरहेको आयोगले जनाएको छ । धेरै मत गणना गर्नुपर्ने अवस्था रहेका महानगर र उपमहानगरपालिकाका हकमा बढीभन्दा बढी मत गणना टोली व्यवस्था गरी तोकिएको समयभित्र मतगणना कार्य सम्पन्न गर्नका लागि यसअघि नै आयोगबाट भएको निर्देशनलाई स्मरण गराउँदै आयोगले विभिन्न कारणबाट मतदान स्थगन भएका पालिकाको हकमा मतदान सम्पन्न भएकै दिन मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा प्राप्त भइसकेपछि यथाशीघ्र गणना प्रारम्भ गरी बढीमा पाँच दिनभित्र मतगणना कार्य सम्पन्न गर्न–गराउन भनिएको छ ।