प्याडको निःशुल्क व्यवस्था गर्ने सरकारको लक्ष्य «

प्याडको निःशुल्क व्यवस्था गर्ने सरकारको लक्ष्य

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले महिनावारीमा लगाइने प्याडको निःशुल्क व्यवस्था गर्ने सरकारले लक्ष्य लिएको बताएका छन् ।
बुधबार संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिको बैठकमा बोल्दै उपाध्यक्ष पौडेलले महिनावारी महिलाहरूको समस्याको रुपमा देखा परेको उल्लेख गर्दै ती समस्या हल गर्नका लागि सरकारले विद्यालयहरूमा महिनावारीमा लगाइने प्याड निःशुल्क वितरण गरिरहेको र अव सबै महिलाहरूलाई निःशुल्क वितरण गर्ने गरी बजेट, नीति तथा कार्यक्रम ल्याउने बताए । उनले पहाडका विद्यालयहरूमा महिला छात्राबासको संख्या बढाउने विषयलाई पनि आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्ने योजना प्रस्तुत गरे । विद्यालय तहका छात्राहरूलाई अध्ययनका लागि सहज बनाउन पनि सरकारले पहाडका विद्यालयहरूमा छात्राबासको आवश्यक्त व्यवस्था मिलाउनुको विकल्प नरहेको उपाध्यक्ष पौडेलले बताए । उनले भने, ‘सबभन्दा ठूलो इस्यू चाहिँ मैले महिला छात्राबासहरूको देखिराखेको छु । बजेटमा पनि जजसको पावर छ, उसले मात्रै काम गर्ने÷गराउने गर्दाखेरी उल्टो रिजल्ट आएको देखिएको छ । सबभन्दा बढि पहाडका स्कुलहरूमा छात्राबासको आवश्यक्ता भएकाले त्यसमा बजेटलाई फोकस गर्न लागिएको छ । त्यसैगरी महिनावारीमा लगाइने प्याडहरू देशभर निःशुल्क वितरण गर्ने सरकारको लक्ष्य छ । अहिले स्कुलहरूमा निःशुल्क वितरण भईरहेको छ । महिला सशक्तीकरणका लागि राष्ट्रिय महिला आयोगको भूमिकालाई प्रभावकारी बनाउने गरी बजेटको व्यवस्था हुन्छ ।’
उपाध्यक्ष पौडेलले महिला सशक्तिकरणका लागि राष्ट्रिय महिला आयोगको कामलाई प्रभावकारी बनाउने विषयमा पनि आगामी आर्थिक वर्षको बजेटले प्राथमिकता दिने बताए । उनले महिला सेल बनाएर आयोगले महिलाहरूको हितमा काम गरिरहेको र त्यसलाई प्रभावकारी बनाउन सरकार प्रतिवद्ध रहेको पनि स्पष्ट पारे ।
उपाध्यक्ष पौडेलले महिलाहरूको सुरक्षाका लागि सुरक्षा निकायहरूमा पनि महिलाहरूको सहभागिता बढाउन सरकार लागिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्