४/१२ को सीमा हटाउन सेयर लगानीकर्ताको माग «

४/१२ को सीमा हटाउन सेयर लगानीकर्ताको माग


लगानीकर्ताले केन्द्रीय बैंकलाई सेयर लगानीमा ४ करोड तथा १२ करोडको सीमा हटाउन माग गरेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई ४ बुँदे माग पेश गर्दै सेयर लगानीकर्ताका दुई संघ नेपाल इन्भेष्टर फोरम र सेयर लगानीकर्ता संघले ४ करोड एउटा बैंक र १२ करोडसम्मको सेयर कर्जा ऋणको सीमाले सेयर बजारलाई निरुत्साहित गरेकोले उक्त व्यवस्था हटाउन माग गरेका हुन् ।
चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत केन्द्रीय बैंकले ४ करोड तथा १२ करोडको सीमा लगाएको थियो । तर, सेयर बजारमा लगातार गिरावट आएपछि लगानीकर्ताहरु केन्द्रीय बैंक गुहार्न पुगेका छनु् । साथै, आर्थिक वर्ष २०७९/०८० को १ साउनदेखि सेयर कर्जामा लगाउने भनिएको १५० प्रतिशतको जोखिम भारित औसतलाई १०० प्रतिशत नै कायम गरिदिन पनि लगानीकर्ताका संघले अनुरोध गरेका छन् ।
लगानीकर्ताहरुले मर्जर र एक्युजिसनले सेयर कारोबार रोकिँदा आम लगानीकर्ताको चल–अचल सम्पत्ति बन्धक भई नोक्सानी भएको तथा राज्यले पाउने राजस्वमा समेत नकारात्मक असर परेको भन्दै उक्त व्यवस्था पनि संशोधन गर्न माग गरेका छन् । हाल बैंक तथा वित्तीय संस्थाले वार्षिक साधारणसभाको लागि दाखिल खारेजी गर्ने व्यवस्था गरेजस्तै गरी केही सीमित अवधिको लागि मात्रै कारोबार रोक्का रहने व्यवस्था गनुपर्र्ने लगानीकर्ताको मागपत्रमा उल्लेख छ ।
दुवै संघले देशमा विद्यमान तरलता समस्याले देशको अर्थतन्त्रमा नकारात्मक अवस्था सिर्जना भएकोले राष्ट्र बैंक जस्तो संस्थाले उक्त समस्याको तत्काल समाधान गर्ने व्यवस्था गरिदिन आग्रह गरेका छन् । तर लगानीयोग्य तरलताको समस्या तथा निक्षेप कर्जा अनुपात पु¥याउन संघर्षरत बैंक तथा वित्तीय संस्थाहरुले हाल थप कर्जा दिन सक्ने अवस्था छैन ।
यसै साता स्थानीय तहको निर्वाचनमा खर्च भएको पैसा बैंकिङ प्रणालीमा फिर्ता आउन थालेको बताउँदै एक बैंकरले भने वैशाख १६ देखि जेठ २ गतेसम्ममा करिब २० अर्ब रुपैयाँ निक्षेप बैंक वित्तीय/संस्थामा थपिएको बताए । तर, त्यसले कर्जा थप गर्न सक्ने अवस्था अझै छैन । वैशाख १६ गतेदेखि २३ सम्ममा वित्तीय प्रणालीमा ६ अर्ब तथा वैशाख २७ र २८ गते दुई दिनमा थप ५ अर्ब निक्षेप थपिएको बैंकरहरु बताउँछन् । तर, चुनावमा बैंकहरुको अपेक्षाअनुरुप निक्षेप भने थपिएको छैन ।

प्रतिक्रिया दिनुहोस्