दक्षिण एसियाका लेखा व्यवसायीको सम्मेलन काठमाडौंमा हुने «

दक्षिण एसियाका लेखा व्यवसायीको सम्मेलन काठमाडौंमा हुने

नेपाल चार्टर एकाउन्टेन संस्था (आइक्यान) ले दक्षिण एसियाली लेखा व्यवसायीहरूको महासंघ (साफा) को सम्मेलन यही माघ १६ गतेदेखि काठमाडौंमा गर्ने भएको छ । सार्क देशमा प्रत्येक वर्ष गरिने यो सम्मेलन यो वर्ष नेपालमा गर्न लागिएको हो ।
“साफाको अध्यक्ष जुन राष्ट्र हुन्छ, त्यही राष्ट्रले वार्षिक बैठक बोलाउने हो र सोहीअनुसार यो वर्ष हामीले सम्मेलन गर्न थालेका हौं,” आइतबार आयोजित पत्रकार सम्मेलनमा आइक्यानका अध्यक्ष प्रकाशजंग थापाले भने । यसअघि गत अगस्टमा समेत साफाको बैठक नेपालले बोलाएको थियो । “त्यो समयमा साफाको चेयर अफगानसँग थियो तर उसले अनिच्छा देखाएका कारण हामीले बैठक मात्र गर्यौं, अहिले सम्मेलननै गर्दैछौ,” आइक्यानका उपाध्यक्ष जगनाथ उपाध्यायले भने ।
सन् २०१८ का लागि साफा अध्यक्ष नेपालसँग छ । आइक्यानको सिफारिसमा नेपालको तर्फबाट साफाको अध्यक्ष पूर्वअध्यक्ष सुवोधकुमार कर्ण छन् । सार्क राष्ट्रका चार्टर अकाउन्टेन्टहरूको संस्थाले पालैपालो गरिने साफा सम्मेलनको आयोजना गर्ने गर्छन् ।
वार्षिक बैठकको अवसरमा आयोजना गरिने सम्मेलनमा सार्क क्षेत्रका लेखा, सुशासन तथा चार्टर्ड एकाउन्टेन्सी शिक्षासम्बन्धी मापदण्ड तथा सार्क राष्ट्रमा सहकार्य कसरी गर्ने भन्ने विषयमा छलफल र निर्णयहरू गरिने जनाइएको छ । साफाका विभिन्न समितिमध्ये कम्तिमा ७ वटा समितिको बैठक बस्ने, सातै देशका प्रतिनिधिको सहभागित रहने जनाइएको छ ।
सम्मेलनको पहिलो दिन (साफा क्वीज एण्ड एलोक्युसन कन्टेस्ट) आयोजना गरिने बताइएको छ । यो प्रतियोगितामा सदस्य राष्ट्रका व्यावसायिक लेखा सम्बद्ध निकाय तथा संस्थाका फाइनल तहमा अध्ययनरत विद्यार्थी सहभागी हुने छन् ।
दोस्रो दिन ‘साफा इन्टरनेसनल सिएफओ कन्फेरेन्स’ राखिएको छ । यसअन्तर्गत माघ १७ गते सहभागीहरूबीच वित्तीय जोखिम व्यवस्थापन, पारदर्शिताका विषयमा छलफल गरिने कार्यक्रम छ । सम्मेलनमा साफा सदस्य राष्ट्रका १५ जना ख्यातीप्राप्त लेखा व्यावसायी तथा विशिष्ट व्यक्तित्वबाट प्राविधिक पत्रहरू प्रस्तुत गरिने जनाइएको छ ।
सम्मेलनमा चार सय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यवसायी सहभागी हुने आइक्यानले जनाएको छ ।
साफामा नेपालसहित सार्क राष्ट्रका ३ लाख ७५ हजार लेखा व्यवसायी संलग्न छन् । सन् १९८४ मा स्थापना भएको साफामा प्रत्येक वर्ष अध्यक्ष परिवर्तन गर्ने प्रावधान छ । नेपालले सन् २०१० मा साफाको अध्यक्षता गरेको थियो भने अहिले २०१८ को अध्यक्ष पनि नेपाल नै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्