गठबन्धनको विषयमा समीक्षा गर्नुपर्ने नेपालको धारणा «

गठबन्धनको विषयमा समीक्षा गर्नुपर्ने नेपालको धारणा

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको विषयमा समीक्षा गर्नुपर्ने बताएका छन् ।
मंगलबार २९औं मदन–आश्रित स्मृति दिवसको अवसरमा नेकपा(एकीकृत समाजवादी)ले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धनको विषयमा समिक्षा गरिने बताएका हुन् । उनले स्थानीय तह निर्वाचनको परिणाम आफ्नो पार्टीले प्राप्त गर्नुपर्ने जति नभएको बताए । उनले पार्टीले अपेक्षा गरे अनुसार मत परिणाम नआएको भन्दै गठबन्धनका घटकहरूले नै आफूहरूसँग सहकार्य गर्न नचाहेको उल्लेख गरे ।
उनले भने, ‘हाम्रो पार्टी निर्माणका सवालमा हामीले गम्भिर छलफल चलाउनुपर्ने आवश्यकता छ । हामी निर्वाचनको पनि गम्भीर समीक्षा गर्नेछौँ । गठबन्धनको पनि समिक्षा हामी गर्नेछौँ । समीक्षा गरेर कहाँ राम्रो भयो, कहाँ त्रुटि ग-यौँ र आगामी दिनमा हामीले के कुरामा होस गर्नुपर्ने हो । त्यस हुनाले हामीले अहिलेसम्मको निर्वाचनको परिणाम अवश्यपनि हाम्रो पार्टीले प्राप्त गर्नुपर्ने जति छैन होला । संख्याको हिसाबले ५०० को सदस्यको तहलाई अहिले हामी नाघिरहेका छौं । सय जनाको संख्यामा वडा अध्यक्ष जित्ने स्थिति बनाएका छौँ । झन्डै १५, २० जना पालिकाका प्रमुख, उपप्रमुख जित्ने स्थिति बनेको छ । कतिपय ठाउँहरूमा राम्रै अवस्था पनि छ । अझैपनि कतिपय ठाउँहरूमा हामीले अपेक्षित परिणाम प्राप्त गर्न सकेका छैनौँ । गठबन्धन दलका सदस्यहरूले हामीसँग सहकार्य गर्न चाहेनन् । हाम्रा आफ्नै कुराहरू होलान् । अरुका आफ्नै गुनासाहरू होलान् । जे सुकै गरेपनि यो पार्टीलाई बलियो जगमा उभ्याउनु पर्नेछ । यो पार्टीलाई जनताको माझमा क्रियाशिल गर्नुपर्ने छ ।’
उनले पार्टीलाई वैचारिक रुपमा दह्रो बनाउनुपर्ने बताए । अध्यक्ष नेपालले पार्टीलाई बलियो जगमा उभ्याउँदै जनताको माझमा क्रियाशिल गराउन नेता, कार्यकर्ताहरूलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्