प्रतिनिधिसभामा ८ विधेयक पेस «

प्रतिनिधिसभामा ८ विधेयक पेस

मंगलवारबाट सुुरु भएको प्रतिनिधिसभाको ११ औं अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकमा विभिन्न ८ विधेयक पेस भएका हुन् । प्रतिनिधिसभामा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी र नेपाल प्रहरीका कार्य सञ्चालन सुपरीवेक्षण र समन्वय (पहिलो संशोधन) अध्यादेश २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८ र तेजाव तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७८ पेस गरे ।
त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले औषधि (तेस्रो संशोधन) अध्यादेश २०७९ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७९ पेस गरेका छन् ।
त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले रेल्वे अध्यादेश २०७८ पेस गरिन् ।
त्यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र यौन हिंसाबिरुद्धका ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ पेस गरे ।
प्रतिनिधिसभाको मंगलवारको बैठकमा नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल (गौतम) ले प्रतिनिधिसभा नियमावली २०७५ को नियम २५० को उपनियम १ बमोजिम उक्त नियमावलीको नियम ४२ को उपनियम ४ लाई तत्कालका लागि निलम्वन गरियोस् भनि प्रश्ताव पेस गरेकी छन् । उक्त प्रश्ताव सदनमा बहुमतका साथ पास भएको सभामुख अग्निप्रसाद सापकोटाले बताऐ ।
नियम निलम्बनको प्रश्तावमा जेठ ४ गते बुधबार प्रतिनिधिसभामा छलफल हुने सभामुख सापकोटाले बताए । प्रतिनिधिसभाको अर्को बैठक बुधवार दिउँसो १ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्