काठमाडौंमा प्रिन्ट छपाइसम्बन्धी कला प्रदर्शनी «

काठमाडौंमा प्रिन्ट छपाइसम्बन्धी कला प्रदर्शनी

गत आइतबारबाट सुरु भएको प्राध्यापक एवं दृश्य कलाकार सम्झना राजभण्डारीको प्रिन्टसम्बन्धी कला प्रदर्शनी मंगलबार सम्पन्न भएको छ । प्रदर्शनीमा वि.सं १९६५ सालदेखि नेपाल सरकारले प्रयोगमा ल्याएका हुलाक टिकटलाई प्रिन्ट मेकिङको माध्यमबाट ठूलो आकार बनाई प्रदर्शनीमा राखिएको छ । दृश्य कलाकार सम्झना भण्डारीले यो पहिला हुलाक टिकटको प्रयोग धेरै भए पनि अहिले त्यसको प्रचलन हराउँदै गएकाले नयाँ पुस्तालाई जानकारीका लागि यस प्रदर्शनीले सहयाग पुग्ने बताइन् । उनले सामाजिक सञ्जालका कारण यसको प्रयोग हराउँदै गए पनि पहिला हुलाककै माध्यमबाट देश, विदेशमा धेरै मानिस आवतजावत गर्ने गरेको बताइन् ।
दृश्य कलाकार राजभण्डारीले भनिन्, “ट्रिब्यूट टू द पास्ट भनेर मैले शीर्षक राखेकी छु । यो जति पनि हुलाक टिकट छन्, प्रचलनमा कम भएकाले त्यसलाई प्रमोसन गर्नुपर्छ, त्यसले देश, विदेशमा चिठी जाने क्रम पहिला थियो, त्यही चिठीमा यो हुलाक टिकट टाँसेर जान्थ्यो । त्यसमा हेरेर नेपाल कस्तो छ भन्ने कुराले मान्छेहरू आउने जाने क्रम बढ्थ्यो । तर अहिले सोसल मिडियाका कारण सजिलो त भएको छ तर यी कुराहरू लोप हुँदै गएको छ । धेरै जसो यसपालि जान्नकै लागि आउनुभएको छ । हुलाक टिकट संकलकहरू पनि कस्तो रहेछ भन्ने जानकारी लिन आउनुभएको छ ।”
दृश्य कलाकार राजभण्डारीले यस प्रदर्शनीमा उत्साहजनक कारोबार र अवलोकन कर्ताहरूको उपस्थिति भएको बताइन् । उनले आफ्ना पिता स्व. विद्याधीश राजभण्डारीको यो क्षेत्रमा सोख रहेकाले पनि यसलाई संरक्षण र संवद्र्धन गर्न लागिपरेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्