ग्राहक संख्यामा ई–सेवाको चामत्कारिक फड्को «

ग्राहक संख्यामा ई–सेवाको चामत्कारिक फड्को

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवाप्रदायक ई–सेवाको मोबाइल एप्स् एण्ड्रोइड मोबाइलमा डाउनलोड गर्नेको संख्या ५२ लाख नाघेको छ । योसँगै नेपालको फाइनान्सियल सेवामा एण्ड्रोइडको ५० लाखको माइलस्टोन हासिल गर्ने पहिलो कम्पनी भएको छ ।
नेपालमा ईसेवाले नेपाल टेलिकम र एनसेलपछि सबैभन्दा धेरै ग्राहकलाई सेवादिने कम्पनीका रूपमा काम गरिरहेको छ । स्थापना भएको १३ वर्षमा ई–सेवाको मोबाइल एप्स् एण्ड्रोइड मोबाइलमा ५२ लाख र आईओस् मोबाइलमा करिब १० लाख गरी ६० लाख बढी ग्राहकलाई एप्स्मार्फत सेवा प्रदान गरिरहेको छ । ई–सेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट बस्तीहरूमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यममार्फत धेरै किसिमका सहजता ल्याएको छ ।
एण्ड्रोइडमा ५० लाख बढी ग्राहक संख्या पुगेको अवसरमा ई–सेवाका प्रमुख कार्यकारी अधिकृत सुभाष सापकोटाले भने, “बढ्दो मोबाइल प्रयोगकर्ताको संख्या र इन्टरनेटको पहुँचका कारण एप्स्हरूमा आकर्षण बढ्दो छ । ग्राहकको आवश्यकता र मागलाई मध्यनजर गर्दै इसेवाले आफ्ना सेवाहरू मोबाइल एप्स्मा अझै परिस्कृत रूपमा प्रस्तुत गर्दै आगामी दिनमा थप सेवा र सुविधा प्रदान गर्न प्रतिबद्ध छौँ ।”
५० लाख मोबाइल एप्स् डाउनलोड भएको अवसरमा ई–सेवाले बुधबारका लागि “५० लाखको कमाल, क्यास ब्याक बबाल” अफर सार्वजजिनक गरेको छ । यस अफरअन्तर्गत ई–सेवा प्रयोगकर्ताले बुधबार हरेक घण्टा ५ प्रतिशतको क्यास ब्याक अफर प्राप्त गर्नेछन् भने बेलुकी ५ः५५ देखि ५ः५६ सम्म हरेक ग्राहकले हरेक मोबाइल टपअपमा ५५ क्यास ब्याक प्राप्त गर्नेछन् ।
यस अफरअन्तर्गत हरेक घण्टा विभिन्न सेवामा ५ प्रतिशत छुट प्राप्त गर्न सकिन्छ । अफरअन्तर्गत बिहान ७ बजेदेखि ८ बजेसम्म मनकामना टिकट खरिद, ८ बजेदेखि ९ बजेसम्म कुनै पनि कम्पनीको मोबाइलमा टप्अप्, ९ देखि १० बजेसम्म डाटा प्याक खरिद, १० देखि ११ बजेसम्म विभिन्न आईएसपीको इन्टरनेट शुल्क भुक्तानी, ११ देखि १२ बजेसम्म ई–लर्निङको शुल्क भुक्तानीमा ५ प्रतिशत क्यास ब्याक प्राप्त गर्न सकिनेछ । यसैगरी १२ देखि दिउँसो १ बजेसम्म एयरलाइन्स टिकट, १ देखि २ बजेसम्म ई–कमर्समा सपिङ तथा बिल भुक्तानी, २ देखि ३ बजेसम्म इन्स्योरेन्सको प्रिमियम भुक्तानी, ३ देखि ४ बजेसम्म विद्युत् महशुल भुक्तानी तथा ४ देखि ५ बजेसम्म टेलिभिजन रिचार्ज तथा टप्अप्मा ५ प्रतिशत क्यास ब्याक पाइनेछ । यसैगरी बेलुकी ५ः५५ देखि ५ः५६ सम्मको एक मिनेटमा कुनै पनि ग्राहकले मोबाइल टपअप सेवामा ५५ क्यास ब्याक प्राप्त गर्न सकिनेछ । क्यास ब्याकबारे थप विवरण ब्लगडट इसेवा डटकम डट एनपीमार्फत हेर्न सकिनेछ ।
ई–सेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाइल, टेलिफोन रिचार्ज तथा टपअप, हवाईजहाज, बसको टिकट, स्कुल कलेजको शुल्कलगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । ई–सेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा ई–सेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्