मोदीको लुम्बिनी भ्रमणले पर्ने प्रभाव «

मोदीको लुम्बिनी भ्रमणले पर्ने प्रभाव

प्रधानमन्त्री शेरबहादुर देउवा तीनदिने औपचारिक भ्रमणका लागि गत चैत १८ गतेदेखि २० गतेसम्म छिमेकी देश भारत जानुभएको थियो । यसै सिलसिलामा छिमेकी देश भारतका समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो गर्नुभएको थियो । यसै क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चार वर्षपछि नेपालको औपचारिक भ्रमण गर्ने तय भयो । मूलतः मोदी बुद्धजयन्तीका दिन २ जेठमा एकदिने औपचारिक भ्रमणका क्रममा लुम्बिनी आएका छन् । वि.सं. २०७१ मा प्रधानमन्त्री भएपछि मोदीको यो पाँचौँ भ्रमण हो भने दोस्रो पटक प्रधानमन्त्री भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो । यसरी मोदी सीमावर्ती भारतीय सहरबाट लुम्बिनी आएका छन् । मोदीले गौतम बुद्धको जन्मस्थल लुम्बिनी क्षेत्रमा ६ घण्टा बिताएका छन् । त्यहीँ प्रधानमन्त्री देउवा र मोदीबीच औपचारिक वार्ता भएको छ । देउवाको पछिल्लो भारत भ्रमणपछि दुई देशबीचको सम्बन्धबारे उनीहरूबीच छलफल भएको छ । मोदी कम्तीमा आधा दर्जनजति कार्यक्रममा सहभागी भएका छन् । यसका साथसाथै प्रधानमन्त्री भएपछि मोदीले दुई पटक नेपालको राजकीय र औपचारिक भ्रमण गरेका छन् भने सार्क र बिमस्टेकका शिखर सम्मेलनमा उनी दुई पटक नेपाल आएका छन् । मोदीले पछिल्लो पटक चार वर्षअघि २८ र २९ वैशाख ०७५ मा नेपाल भ्रमण गरेका थिए । त्यसबेला मोदीले जनकपुर, काठमाडौं र मुक्तिनाथ भ्रमण गरेका थिए । मोदीलाई काठमाडौं महानगरपालिका र जनकपुर उपमहानगरपालिकाले नागरिक अभिनन्दन गरेका थिए । मोदीलाई यसपटक लुम्बिनी सांस्कृतिक नगरपालिकाले पनि अभिनन्दन गर्नुका साथै मोदीलाई लुम्बिनी बौद्ध विश्वविद्यालयले मानार्थ महाविद्यावारिधिबाट सुशोभित गरेको छ । यसैगरी मोदी १४ र १५ भदौ २०७५ मा बिमस्टेकको चौथो शिखर सम्मेलनमा सहभागी हुन नेपाल आएका थिए । अतः मोदी त्यसअघि २०७१ मा ९ देखि ११ मंसिरसम्म सार्कको १८ औँ शिखर सम्मेलनमा सहभागी हुन काठमाडौं आएका थिए । मोदीले प्रधानमन्त्री भएपछि पहिलो पटक २०७१ साउन १८ र १९ मा नेपाल भ्रमण गरेका थिए । त्यसबेला उनले संविधानसभालाई सम्बोधन गरेका थिए । चीन सरकारको सहयोगमा दुई महिनाअघि निर्माण सम्पन्न भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान जेठ २ गते बुद्धजयन्तीका दिनदेखि आरम्भ भएको छ । उद्घाटन समारोहमा विभिन्न मित्रराष्ट्रबाट विशिष्ठ अतिथिहरूलाई पनि आमन्त्रण गरिएको थियो । यसरी नै आमन्त्रणलाई स्वीकार गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आएका छन् । नेपालका लागि भारतका प्रधानमन्त्रीको भ्रमणले विशेष महत्व राख्छ । त्यसैले नेपालमा विशेष चर्चा पनि हुन्छ । तर, यसपटक भने स्थानीय निर्वाचनका कारण मोदीको भ्रमणले नेपाली मिडियामा खासै स्थान पाउन सकेको छैन ।
विश्वशक्ति अमेरिका र दुवै छिमेकीले कुन तहको महत्व र सम्मान दिएका छन् भन्ने स्पष्ट सन्देश पछिल्लो डेढ महिनामा भएका तीनवटा महत्वपूर्ण घटनाक्रमले दिएका छन् । गत फागुन १५ गते एमसीसी अनुमोदन भएपछि अमेरिकी विदेशमन्त्रीले प्रधानमन्त्री देउवासँग टेलिफोन वार्ता गरेका थिए । घरेलु राजनीतिमा पनि गिजोलिएको र भूराजनीतिक हिसाबले समेत तरङ्गित बनेको एमसीसीलाई संसद्बाट सहज रूपमा पारित गराउनु देउवाको ठूलो कूटनीतिक सफलता थियो । त्यसलगत्तै चीनका विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी तीनदिने नेपाल भ्रमणका लागि चैत ११ गते काठमाडौँ आउनुभयो । यसरी उत्तरी छिमेकी चीनबाट उच्चस्तरीय नेपाल भ्रमण भएको झन्डै ५० दिन बित्न नपाउँदै प्रधानमन्त्री मोदी नेपाल भ्रमणमा आएका छन् । यसरी मोदीको नेपाल भ्रमण केही वर्षपछि भएको र यसलाई दुई देशबीचको सहयोगलाई महत्वपूर्ण रूपमा हेरिएको छ । यो भ्रमण धार्मिक, राजनीतिक र कूटनीतिक केन्द्रित भएको विश्वास गरिएको छ । भारतले नेपाली भूमि कालापानी लिपुलेक र लिम्पियाधुरा समेटेर राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेपछि नेपाल र भारत सम्बन्ध चिसिएको थियो । त्यस्तै, सीमा विवादको समस्या अझै पनि समाधान भएको छैन । भारतले जम्मु–कश्मीरलाई समेटेर २५ कात्तिक २०७६ सालमा नयाँ राजनीतिक र प्रशासनिक नक्सा जारी गर्दा नेपालको भूभाग पनि समेटिएपछि दुई देशको कूटनीतिक सम्बन्धमा तिक्तता आएको थियो । यी विभिन्न विवादहरू भएको भारतलाई राम्रोसँग थाहा छ । उक्त भूमि समेटेर २०१९ नोभेम्बरमा मात्रै आफ्नो राजनीतिक नक्सा जारी गरेको थियो । त्योभन्दा पहिला बेवारिसे थियो । तर, भारतीय सेनाले सन् १९६२ को भारत–चीन युद्धपछि कब्जा गरेर बसेको यथार्थ हो । उक्त भूमि नेपालको भूभाग हो, संविधानसभाले नेपालीको संविधान तयार पार्दा लेख्न छुटाएको भूभागलाई सन्दर्भकृत गरी संविधान संशोधनमार्फत नक्सा जारी गर्दा जसरी सिङ्गो संसद् र देश जुरुक्क एकसाथ उठेका थिए, विडम्बना आज उक्त भूमि नक्सामै सीमित छ ।
भारत विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक देश एकातिर हो भने अर्कातिर अर्थतन्त्रको हिसाबले विश्वको चौथो देशका रूपमा रहेको छ । यसै सिलसिलामा भारतीय प्रधानमन्त्री मोदीले विद्युत् व्यापारको विषयलाई जोड दिने काम नेपालका लागि शुभसंकेतका रूपमा लिन सकिन्छ, जसले गर्दा नेपालमा उत्पादित विद्युत्ले भारतीय बजार पाउन सक्ने भएको छ । अब देशको आर्थिक तथा सामाजिक विकासले नयाँ मार्ग प्रशस्त गर्ने आधार सिर्जना गरेको छ । सबैभन्दा मूल विषय त ती सबै कार्यले नेपालको राष्ट्रिय हितलाई सर्वोपरि महत्व दिएको छ । यसका साथसाथै भारतीय लगानीकर्तालाई नेपालमा लगानीको निम्ति आग्रह पनि गरिएको छ । यता भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले महाकाली पञ्चेश्वर बहुउद्देश्यीय आयोजना दुवै देशका लागि गेम चेन्जर भएको महसुस गरेका छन् ।
नेपाल र भारतबीचको सीमा क्षेत्रमा ९८ प्रतिशत ठाउँका वैज्ञानिक प्रविधिर्मार्फत सीमाङ्कन भई सीमास्तम्भ गाड्ने काम भइसकेको छ । नदीको कटानका कारण उत्पन्न समस्या र नयाँ नक्साले सिर्जित विषयलाई पनि ऐतिहासिक प्रमाण तथ्यको आधारमा समाधान गर्न सकिन्छ । तर, यसलाई सडक र सदनको विषय बनाइनु हुँदैन । यसबाहेक पनि दुई पक्षीय हितसित सम्बन्धित विभिन्न विषयमा छलफल र सहमति हुन सक्ने सम्भावना रहेको छ । यसर्थ प्रधानमन्त्री मोदीको यस लुम्बिनी भ्रमणले हाम्रो द्विपक्षीय सम्बन्धलाई बलियो बनाउने अपेक्षा गर्न सकिन्छ ।
समग्रमा भन्नुपर्दा मोदी प्रधानमन्त्रीका रूपमा पाँचौं पटक नेपाल भ्रमणमा आएका हुन् । उनी बुद्धजयन्तीको अवसरमा लुम्बिनी आएका हुन् । लुम्बिनीमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवासँगै भारतीय प्रधानमन्त्री मोदी पनि सहभागी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मूलतः नेपालको असल छिमेकी देश भारत आदिमकालदेखि राजनीतिक, कूटनीतिक सम्बन्ध मात्रै होइन, धार्मिक, सांस्कृतिक र रोटीबेटीको समेत रोजगारी र व्यापारको प्रमुख गन्तव्यको अर्को संसार भन्दा विशेष सम्बन्ध भएको मुलुक हो भारत । पारस्परिक एकता, भाइचारा, मित्रवत् सम्बन्ध, अन्तर्राष्ट्रिय सम्बन्धलाई समेत मध्यनजर गर्दै उदीयमान आर्थिक व्यापारिक ठूलो साझेदारी मुलुक पनि हो भारत । त्यसपछि हाम्रो देशले ७ जेठ २०७७ सालमा लिम्पियाधुरासहितको नयाँ नक्सा जारी गरेपछि दुई देशबीचको संवादहीनताको अवस्थासम्म पुगेको थियो । सोही नक्सा जारीपछिको तिक्तता अझै पनि बाँकी रहेकाले अब देउवाले भारतीय प्रधानमन्त्री मोदीसँग छलफल भएको थियो । त्यसरी नै लामो अन्तरालपछि नेपाल र भारतबीच बेलाबेलामा हुने उच्चस्तरको औपचारिक भ्रमणले नेपाल–भारतबीचको सम्बन्ध अझ सुदृढ र न्यानो हुने अपेक्षा गरिएको छ । यो भ्रमणको एजेन्डा र अपेक्षित उपलब्धिबारे यतिबेला कूटनीतिक र राजनीतिक वृत्तमा विभिन्न कोणबाट अनुमान तथा विश्लेषण भइरहेको छ । यसरी नेपालले आठवटा आयोजनाबाट उत्पादित बिजुली खरिद गर्न भारतलाई प्रस्ताव गरे तापनि भारतले आफ्नो लगानी रहेको त्रिशूली र देवीघाट आयोजनाबाट उत्पादित बिजुलीमात्र किन्ने गरेको छ । यसरी केही महिना अगाडि नेपालले आफ्नो देशमा उत्पादित थप ३ सय २५ मेगावाट बिजुली भारत निर्यात गर्ने स्वीकृति पाएको छ । यससँगै नेपालको ३ सय ६४ मेगावाट बिजुली भारत निर्यात हुने भएको छ । नेपालको भारतसँगको व्यापारघाटा चुलिँदो छ । नेपालको बजार घरेलु उत्पादनभन्दा आयातमा क्रमिक रूपमा निर्भर बन्दै गएको छ । रोजगारीका अवसर बढ्ने अवस्था छैन । राजनीतिक अस्थिरता र राजनीतिमा द्रव्यको चलखेल तथा नेतृत्वको द्रव्यमोहका कारण लगानीका लागि पुँजी आउनुको साटो बहिर्गमन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्