बजेट अधिवेशन सुरु
संसद्मा एमालेको अवरोध हट्यो
संघीय संसद्को बजेट अधिवेशन मंगलबारबाट सुरु भएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले आह्वान गरेबमोजिम मंगलबार अपराह्न ४ बजेटबा दुवै सदनको अधिवेशन सुरु भएको हो ।
लामो समयदेखि व्यवस्थापिका संसद्को बैठक अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले) ले पनि बजेट अधिवेशनमा अवरोध नगर्ने भएको छ । मंगलबारको बैठकमा एमालेले कुनै अवरोध गरेन । एमालेले नौ महिनादेखि जारी राखेको संसद् अवरोध अबदेखि नगर्नेसमेत ठहर गरेको छ ।बैठकको सुरुमै एमालेका सांसद प्रदीपकुमार ज्ञवालीले देश नयाँ कोर्समा गएको र अर्थतन्त्रमा ठूलो संकट उत्पन्न भएकाले संसद् अवरोध खोल्ने निर्णय भएको जानकारी गराए । उनले आफ्नो पार्टीका असन्तुष्टिहरु भने कायम रहेको उल्लेख गरे । एमालेले आफ्नो पार्टीले कारबाही गरेको १४ सांसदको कारबाहीको सूचना टाँस गर्नुपर्नेलगायत माग राखी अघिल्लो अधिवेशनदेखि निरन्तर बैठक अवरोध गर्दै आएको थियो ।
देशको अर्थतन्त्रमा उत्पन्न संकटबारे गम्भीर छलफल गर्न संसद् चल्नु आवश्यक रहेको उनले स्पष्ट पारे । अदालतले कारबाही नगरेपनि भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा जनताले उचित ढंगले फैसला गरेको उनको भनाइ छ । ‘दल विभाजनका लागि जस्केलाबाट अध्यादेश ल्याउनु र उद्देश्य पूरा भएपछि फिर्ता लिनु, त्यसमा सभामुख, अदालत जस्ता संवैधानिक निकाय सहयोगी जस्तो बन्नु गलत हो,’ उनले भने । बैठकको प्रारम्भमै एमालेका सांसदहरुले आसनबाट उभिएर विरोध जनाएपछि सभामुखले एमालेका सांसद ज्ञवालीलाई बोल्न समय दिएका थिए ।
मंगलबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए ।
राष्ट्रियसभामा भने अवरोध
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले राष्ट्रियसभा बैठक भने अवरुद्ध पारेको छ । बजेट अधिवेशनको पहिलो दिन मंगलबार अपरान्ह बोलाइएको राष्ट्रियसभा बैठक सुरु हुनासाथ एमालेका सांसदहरुले उभिएर अवरुद्ध पारेका हुन् ।
सभामुख अग्निप्रसाद सापकोटा र सत्तारुढ गठबन्धन दलका नेता प्रधानमन्त्री शेरबहादुर देउवाले आफूहरुले अगाडि सारेका माग सम्बोधन गर्न पहल समेत गर्न नचाहेकाले राष्ट्रियसभा बैठकलाई अवरुद्ध पार्ने कामलाई आफ्नो दलले निरन्तरता दिन बाध्य हुनुपरेको एमालेका सांसद देवेन्द्र दाहालले बताए । उनले आफ्नो दलले कारबाही गरेका माधव नेपालसहितका १४ जना सांसदलाई कारवाही गरिएको सूचना टाँस नगरेर सभामुख सापकोटाले गल्ती गरेको र त्यस गल्तीको आत्माआलोचना गरेर उनीहरुलाई कारबाही गरिएको सूचना जारी नगरेसम्म राष्ट्रियसभा बैठक अवरुद्ध पार्ने कामलाई निरन्तरता दिने आफ्नो दलको अडान रहेको पनि स्पष्ट पारे ।
एमालेले आफ्नो दलले कारबाही गरेका सांसदहरुलाई सभामुख सापकोटाले सूचना टाँस नगरेसम्म संसद चल्न नदिने अडान सहित अवरोध गर्दै आएको छ । सांसद दाहालले सांसदहरुले दलीय ह्वीप मान्नुपर्ने कि नपर्ने भन्ने प्रश्नको समेत निरुपण गर्ने काम सरकारले नगरेको भन्दै आपत्ति जनाए । यता, अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भने छलफल र संवादबाट समस्या समाधान हुने उल्लेख गर्दै सभा सूचारु गराउन एमालेका सांसदलाई पटक पटक आग्रह गरेका थिए । एमाले सांसदहरुको अवरोधका बाबजुद पनि राष्ट्रियसभाको बैठकमा बजेट अधिवेशनसम्बन्धि राष्ट्रपति कार्यालय पठाएको पत्र पढेर सुनाइएको थियो ।