नेपालमा ४७ लाखलाई उच्च रक्तचाप «

नेपालमा ४७ लाखलाई उच्च रक्तचाप

नेपालमा ४७ लाख मानिसमा उच्च रक्तचापको समस्या रहेको अनुमान सरकारले गरेको छ । विश्व उच्च रक्तचाप दिवसका अवसरमा स्वास्थ्य सेवा विभागले आयोजना गरेको पत्रकार अन्तक्र्रिया कार्यक्रममा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले ४७ लाख मानिसमा उच्च रक्तचापको समस्या रहेको बताए । उनका अनुसार तीमध्ये १० लाखलाई आफ्नो उच्च रक्तचापको अवस्थाबारे जानकारी रहेको र चार लाखले मात्र औषधि सेवन गर्ने गरेका छन् । औषधि सेवन गर्नेमध्ये दुई लाखको मात्र उच्च रक्तचाप नियन्त्रणमा रहेको उनको भनाइ थियो ।
उच्च रक्तचाप तनाव, प्रदूषण, अस्वस्थ्यकर खाना, मध्यपान, सुर्तीजन्य पदार्थको प्रयोग र निस्क्रिय जीवनशैलीले हुने गर्दछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले रक्तचापबाट बच्नका लागि सन्तुलित जीवनशैली अपनाउनुपर्ने बताए । उनले नसर्ने रोगलाई मन्त्रालयले प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने तयारीसमेत गरेको जानकारी दिए । उच्च रक्तचापका कारण मस्तिष्कघात, हृदयाघात, मुटु तथा रक्तनलीसम्बन्धी रोग, दीर्घ मिर्गौलाको समस्याजस्ता रोग लागेर अकालमै मानिसको मृत्यु हुने गर्दछ । मन्त्रालयका प्रमुख विशेषज्ञ डा. श्यामसुन्दर यादवले रक्तचापबाट बच्नका लागि नुन र चिनीको मात्रा कम गर्नुपर्नेमा जोड दिए । उनले उच्च रक्तचापमा सर्वव्यापी गुणस्तरीय समतामूलक स्वास्थ्य सेवाको पहुँच बढाई यस वर्ष नियमित औषधि सेवन गर्ने संख्या १० लाख पु-याउने बताए ।
विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले रक्तचापको उपचारसँगै जनचेतनासमेत जगाउनुपर्ने बताए । उनले रक्तचापको रोकथामका लागि स्वास्थ्यचौकी, प्राथमिक स्वास्थ्य केन्द्र र अस्पतालबाट नै विशेष सेवा प्रवाह गरिरहेको जानकारी दिए । महानिर्देशक सिंहले नियमित रक्तचाप परीक्षण र औषधि सेवनले रोगको रोकथाम गर्नसकिने बताए ।
वरिष्ठ हृदयरोग विशेषज्ञ डा. ओममूर्ति अनिलले १५ देखि २४ वर्ष उमेर समूहमा उच्च रक्तचाप १० प्रतिशत र ४० वर्षभन्दा माथिका मानिसमा ५० प्रतिशत उच्च रक्तचाप देखिएको जानकारी दिए । उनले काठमाडौँमा पेसागतरुपमा काम गर्ने युवामा बढी उच्चरक्तचाप देखिएको बताए ।
डा. अनिलले नुनले मात्र उच्चरक्तचाप नभएर गुलियो र चिल्लो खानेकुरा खाँदा पनि रक्तचाप बढ्ने बताए । उनले ५० प्रतिशत मानिसले आफूमा उच्च रक्तचाप भएको थाहा नपाउने भएकाले यसको रोकथामका लागि विद्यालय तहदेखि नै पाठ्यक्रममा रक्तचाप र मुटुको रोगसम्बन्धी पठनपाठनको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।
‘दीर्घ जीवनको आधारः नियमित रक्तचाप परीक्षण, नियन्त्रण र उपचार’ भन्ने मूल नाराका साथ नेपालसहित विश्वभर नै यो दिवस मनाइँदै छ । टाउको दुख्ने, रिंगटा लाग्ने, थकाइ महसुस हुने, एक्कासि नाकबाट रगत बग्ने, वाकवाकी लाग्ने, मुटुको धड्कन बढ्नेजस्ता समस्या उच्च रक्तचापका लक्षण हुन् । उच्च रक्तचापबाट बच्नका लागि धु्रमपान तथा मदिरासेवन नगर्ने, हरियो सागसब्जी तथा फलफूल धेरै खाने, खानामा नुनको प्रयोग कम गर्ने, रातो र धेरै बोसोयुक्त मासु कम खाने, नियमित व्यायाम तथा योग गर्ने गर्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्