धादिङमा स्वतन्त्र उम्मेदवारको जितले दलका नेतृत्वलाई नैतिक संकट «

धादिङमा स्वतन्त्र उम्मेदवारको जितले दलका नेतृत्वलाई नैतिक संकट

धादिङ-धादिङमा असल आकांक्षीलाई नदिई आफू निकट, नेता रिजाउन सक्नेलाई टिकट दिएको भन्दै नेपाली कांग्रेसबाट बागी बनेका तीनजना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । टिकट वितरणमा असन्तुष्टी जनाउँदै आफ्नै पार्टीविरुद्ध बागी बनेका उम्मेदवारहरूले बहुमतसहित चुनाव जितेपछि नेपाली कांगे्रसको नेतृत्वलाई नैतिक संकट परेको छ ।
टिकट दिँदा सही व्यक्तिलाई नदिएको भन्दै नेतृत्वलाई चुनौती दिदै पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवार दिने नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का राजकुमार श्रेष्ठ, ज्वालामुखी गाउँपालिका वडा नम्बर ४ का कृष्णबहादुर गुरुङले चुनाव जितेका छन् । गठबन्धनले टिकट दिँदासहित व्यक्तिलाई नदिएको भन्दै गठवन्धनको आधिकारी उम्मेदवारविरुद्ध धुनिवेसी नगरपालिका वडा नम्बर ५ मा कांग्रेसकै विशाल भट्टराईले पनि चुनाव जितेका छन् ।
स्वतन्त्र रुपमा उम्मेदवारी दिएर चुनाव जित्ने तीनै जना नेपाली कांग्रेसका बागी उम्मेदवार हुन् । नीलकण्ठ–३ मा निर्वाचित श्रेष्ठ नेपाली कांग्रेस क्षेत्रिय समिति सदस्य हुन् भने ज्वालामुखी–४ मा निर्वाचित गुरुङ २०७४ को निर्वाचनमा कांग्रेसबाटै टिकट लिएर जितेका वडा अध्यक्ष हुन् । धुनिवेसी–५ का भट्टराई पनि कांग्रेसकै क्रियाशिल सदस्य हुन् । मतदाताको नजरमा लोकप्रिय भए पनि नेताको नजिक हुन नसक्दा उनीहरूले टिकट पाएनन् । “आफ्नै पार्टीको नेताले पत्याएनन्, तर जनताले चुप बस्न दिएनन्,” नीलकण्ठ नगरपालिका–३ को वडा अध्यक्षमा निर्वाचित श्रेष्ठ भन्छन्, “यो जित मेरो व्यक्तिगत होइन, पार्टीभित्र आफुखुसी गर्ने र नातावाद कृपावाद गर्नेविरुद्धको हो ।” पार्टीबाटै टिकट पाउने चर्चामा रहेका नीलकण्ठ नगरपालिका–३ का स्वतन्त्र बागी उम्मेदवार राजकुमार श्रेष्ठले नेपाली कांग्रेसकै आधिकारिक उम्मेदवार गोपीकृष्ण भण्डारीलाई दोब्बर मतले पराजित गरेका छन् ।
प्रमुख प्रत्यासी कांग्रेसका आधिकारिक उम्मेदवार भण्डारीसहित नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई दोब्बर मतले पराजित गर्दै स्वतन्त्र उम्मेदवार श्रेष्ठ वडा अध्यक्ष्यमा विजयी भएका हुन् । जिल्ला सदरमुकाम रहेको नीलकण्ठ नगरपालिका–३ मा गुलावको फुल चिन्ह लिएर उठेका श्रेष्ठले १ हजार तीन सय ३९ मत प्राप्त गरेका छन् । प्रमुख प्रतिस्पर्धी कांग्रेसका भण्डारीले ६ सय २९, नेकपा माओवादीले ३ सय ३४ र नेकपा एमालेले २ सय ४१ मत पाएका जिल्ला निर्वाचन अधिकारी सन्तोष श्रेष्ठले जानकारी दिए । कांग्रेसले आफ्नो पकड मानेको वडामा कांग्रेसबाटै बागी उठेर चुनाव जितेका श्रेष्ठले वडा अध्यक्ष बनेर पाउने सरकारी सेवा सुविधा नलिने बताएका छन् । तलब भत्तामा आउने रकम शिक्षा, स्वास्थ्य र सरसफाइमा खर्च गर्ने उनले बताएका छन् ।
डनका आरोप खेप्दै आएका भण्डारीले पार्टी नेतृत्वलाई दबाबमा पारेर टिकट लिएकोले पनि आफुहरु विद्रोहमा उत्रिएको मतदाताहरुले नै प्रतिकृया दिएका छन् । प्रत्यासी भण्डारी गुण्डा नाइकेका रुपमा परिचित राधाकृष्ण भण्डारी (राधे)का भाई हुन् । यद्यपि उनी पहिलो स्थानीय निर्वाचनबाट वडा सदस्यमा निर्वाचित जनप्रतिनिधि हुन् ।
कांग्रेसले टिकट नदिएपछि खरायो चिन्हमा चुनाव लडेका ज्वालामुखी–४ मा निर्वतमान वडा अध्यक्ष गुरुङले दोस्रो कार्यकालका लागि निर्वाचित हुँदा ११ सय ३० मत ल्याएका छन् । यो कांग्रेसका आधिकारिक उम्मेदवार कृष्णलाल श्रेष्ठको भन्दा ५ सय ९१ मत बढी हो । कांग्रेसबाट टिकट पाएका उम्मेदवार श्रेष्ठले ५ सय ३९ मत मात्र पाए । गुरुङका अर्का प्रतिष्पर्धी नेकपा एमालेका रामबहादुर अर्यालले ५ सय ९४ मत प्राप्त गरे । अहिले स्वतन्त्रबाट विजयी भएका गुरुङ २०७४ सालको स्थानीय चुनावमा कांग्रेसबाटै टिकट लिएर विजयी भएका वडाध्यक्ष हुन् । पार्टीमा टिकट माग्दा नदिएपछि जनताको मागअनुसार नै स्वतन्त्र उम्मेदवार बनेको उनले बताए । यसै गरी धुनीवेसी नगरपालिका वडा नं ५ मा गठवन्धनका उम्मेदवार सहि नभएको भन्दै उम्मेदवार बनेका भट्टराईले आठ सय ८६ मत पाएर विजय भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वि कृष्णकुमार रेग्मीले छ सय ७८ र एमालेका वुद्धिराज घलेले एक सय ८१ मत ल्याएका छन् ।
यसैगरी नीलकण्ठ नगरपालिकाका निर्वतमान सदस्य प्रकाश श्रेष्ठले नीलकण्ठ नगरपालिका वडा नं. ८ को वडा अध्यक्ष आफु पर्ने दावी गदै आएको तर पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिई एक हजार तीन सय ५३ मत प्राप्त गरी नेपाली कांग्र्रेसका आधिकारी उम्मेदवार रमेश काइरालालाई पराजित गरेकाछन् । कोइरालाले तीन सय ६३ मत प्राप्त गरेकाछन् भने नेकपा एमालेका उम्मेदवार जीत बहादुर कुमालले चार सय १२ प्राप्त गरेकाछन् ।आकांक्षी धेरै र समन्वय गर्ने अवधि कम हुँदा टिकट वितरणमा समस्या परेकाले अहिले यो परिणाम भोग्नु परेको कांग्रेस धादिङका सभापति रामनाथ अधिकारीले प्रतिकृया दिए ।

प्रतिक्रिया दिनुहोस्