बेनी नगरको मेयरमा सुरज केसी र उपमयेरमा ज्योती लामिछाने विजयी «

बेनी नगरको मेयरमा सुरज केसी र उपमयेरमा ज्योती लामिछाने विजयी

म्याग्दी-बेनी नगरपालिकाको मेयरमा नेकपा एमालेका सुरज केसी र उपमेयरमा नेकपा माओवादी केन्द्रकी ज्योती लामिछाने विजयी भएका छन् । मेयरमा विजयी केसीले ७ हजार ६०३ मत र उपमेयरमा विजयी लामिछानेले ७ हजार ४३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले जानकारी दिए ।
मेयरमा प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार चिरञ्जीवी शर्माले ६ हजार २ सय ४ मत प्राप्त गरे भने उपमेयरकी प्रतिस्पर्धी नेकपा एमालेकी पशुपती शाहीले ५ हजार पाँच सय मत प्राप्त गरेकी थिइन् । मेयर १ हजार ३ सय ९९ मत र उपमेयरमा १ हजार ५ सय ४३ मत अन्तरमा विजयी हासिल गरेका छन् ।
बेनी नगरपालिकाको वडा नम्बर १ नेकपा एमालेका टेकबहादुर थापा, २ वडामा कांग्रेसका याम कार्की, ३ वडामा माओवादी केन्द्रका पदमबहादुर पुन, ४ वडामा माओवादी केन्द्र अणबहादुर खड्का (भगवान), ५ वडामा एमालेका गोविन्द बानियाँ, ६ वडामा एमालेका कृष्णसिङ बानियाँ, ७ वडामा कांग्रेसका रमेश श्रेष्ठ, ८ वडामा एमालेका उत्तम कर्माचार्य, ९ वडामा कांग्रेसका चक्र केसी र १० वडामा एमालेका मस्विर रोका वडाध्यक्षमा निर्वाचित भएका छन् ।
म्याग्दीमा ६ स्थानीय तहमध्ये ५ स्थानीय तहको मतगणना सकिएको छ । मालिका गाउँपालिकाको अध्यक्षमा एमालेका बेगप्रसाद गर्बुजा र उपाध्यक्षमा एमालेकी लक्ष्मीदेवी पुन घर्ती निर्वाचित भएका छन् । त्यस्तै रघुगंगाको अध्यक्षमा कांग्रेसका भवबहादुर भण्डारी र उपाध्यक्षमा प्रेमकुमारी पुन विजयी भएका छन् । मंगलाको अध्यक्षमा एमालेका सतप्रसाद रोका र उपाध्यक्षमा एमालेका प्रेमकुमारी अधिकारी (पेमा) निर्वाचित भएका छन् । अन्नपुर्ण गाउँपालिकाको मतगणना जारी हुँदा एमालेले अग्रता कायम गरेको छ ।

प्रतिक्रिया दिनुहोस्