स्याङ्जाका नगरमा काँग्रेस गाउँपालिकामा एमाले «

स्याङ्जाका नगरमा काँग्रेस गाउँपालिकामा एमाले


स्याङ्जा-स्याङ्जाका ११ स्थानीय तहमा ५ नगरपालिका र ६ गाउँपालिकामध्ये हालसम्म नतिजा प्राप्त भएका ३ नगरपालिका र १ गाउँपालिकामा नेपाली कांग्रेस र ५ गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । २ नगरपालिकाको नतिजा आउन बाँकी छ ।
२०७४ को स्थानीय निर्वाचनमा जिल्ला सदरमुकामको पुतलीबजारसहित २ नगरपालिका र ५ गाउँपालिकाको नेतृत्व आफ्नो पोल्टामा पार्न सफल एमाले यसपटक ५ गाउँपालिकामा सीमित भएको छ । अघिल्लो निर्वाचनमा प्रचण्ड बहुमतसहित पालिकाको नेतृत्व हात पारेको एमाले यसपल्ट झिनो मतान्तरले विजयी भएको छ ।
जिल्लाको सदरमुकाम पुतलीबजार नगरपालिकामा पहिलो पटक नेपाली कांग्रेस विजयी भएको छ । २०५४ सालमा स्थापनायता पुतली बजारमा एकछत्र राज गर्दै आएको नेकपा एमालेको गढ मानिएको नगरमा यसपालि कांग्रेस विजयी भएको हो ।
नगर प्रमुखमा कांग्रेसका तुलसी रेग्मी र उपमेयरमा देवी अर्याल विजयी भएकी हुन् । रेग्मीले १२ हजार ५ सय १५ मत पाउँदा नेकपा एमालेबाट उम्मेदवार रहेकी समिाकुमारी क्षेत्रीले १० हजार ९ सय मत प्राप्त गर्दै पराजित भएकी छन् । रेग्मी कांग्रेस स्याङ्जा क्षेत्र नं १ का क्षेत्रीय सभापतिसमेत हुन् ।
यस्तै उपमेयरमा अर्यालले ११ हजार ७ सय ४८ मत पाउँदा एमालेका महेश पुरीले १० हजार ७ सय ६१ मत पाए । रेग्मी २ हजार ४ सय २५ मतान्तरले विजयी हुँदा अर्याल ९८७ मतान्तरले विजयी भएको निर्वाचन कार्यालय जनाएको छ ।
२०७४ को स्थानीय तह निर्वाचनमा क्षेत्री रेग्मीलाई पराजित गर्दै प्रमुखमा निर्वाचित भएकी थिइन् भने उपमेयरमा पुरीले कँंग्रेसकी हिरादेवी शर्मालाई पराजित गरेका थिए । गत निर्वाचनमा १४ वडामध्ये ४ वडामा मात्र कांग्रेस विजयी भएको थियो । यसपटक वडामा समेत कांग्रेसले आफ्नो वर्चस्व कायम गर्दै १४ वडामध्ये ९ वडामा विजयी हुँदा एमाले ५ वडामा खुम्चिएको छ ।
त्यसैगरी भीरकोट नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका गोविन्दकुमार कर्माचार्यले ६ हजार ५०४ मत प्राप्त गर्दै विजयी भएका छन् । कर्माचार्यसँग प्रतिस्पर्धामा रहेका नेकपा एमालेका उम्मेदवार विश्वनाथ अर्यालले ५ हजार ६ सय ६९ मत प्राप्त गर्दै पराजित भए ।
नगरपालिकाको उपप्रमुखमा नेपाली कांग्रेसकी भगवती रेग्मी अर्याल विजयी भएकी छन् ।अर्यालले ७ हजार १७९ मत प्राप्त गर्दा एमालेकी सरस्वती अधिकारीले ४ हजार ८९८ मत प्राप्त गरेकी थिइन् ।

त्यस्तै गल्याङ नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका गुरुप्रसाद भट्टराई विजयी भएका छन् । भट्टराईले नेकपा एमालेका जिल्ला अध्यक्षसमेत रहेका सूर्यप्रसाद गैह्र ‘पारस’लाई पराजित गर्दै विजयी भएका हुन् । भट्टराईले ९ हजार ६२१ मत प्राप्त गर्दा गैह्रेले ८ हजार ९२२ मत प्राप्त गरेका थिए ।
नगरपालिकाको उपप्रमुखमा कांग्रेसकै हेमा न्यौपाने विजयी भएकी छन् । उनले ९ हजार ११८ मत प्राप्त गर्दा एमालेकी उम्मेदवार देवी थापाले ९ हजार ५५ मत प्राप्त गरिन् ।
अघिल्लो निर्वाचन समेत हातपारेको नेकपाएमालेका तर्फबाट फेदीखोला गाउँपालिकाको अध्यक्षमा घनश्याम सुवेदी विजयी भएका छन् । उनले नेपालीकाँग्रेसका लक्ष्मीप्रसाद बराललाई १३२ मतले पराजित गर्दै विजयी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्