रोकिएका श्रमिक इजरायल पठाउन पहल «

रोकिएका श्रमिक इजरायल पठाउन पहल

इजरायलको रोजगारीका लागि अन्तिम छनोट भएर रोकिएका नेपाली युवा लैजाने सम्बन्धमा नेपाल पक्षले छलफल अघि बढाएको छ । इजरायलको परराष्ट्र मन्त्रालयका कर्मचारी युनियनको आन्दोलनका कारण लामो समयदेखि रोकिएका नेपाली युवाको प्रक्रिया अघि बढाउन त्यहाँका विभिन्न निकायसँग छलफल अघि बढाइएको हो ।
वैदेशिक रोजगार विभागका निर्देशक शेषनारायण पौडेलसहितको नेपाली टोलीले इजरायलको जनसंख्या तथा इमिग्रेसन अथोरिटी, इजरायलको स्वास्थ्य मन्त्रालय तथा नेपालस्थित इजरायदी दूतावासका प्रतिनिधिसँग छलफल भएको बताए । “२ देशबीच एमओयू गरेर नेपाली श्रमिक इजरायल पठाउने सम्बन्धमा प्रक्रिया अघि बढेर छनोट भइ बाँकी रहेको ८ सयभन्दा बढी युवालाई छिटो छरितो पढाउने विषयमा छलफल भएको छ,” महानिर्देशक पौडेलले कारोबारसँग भने, “नेपाली श्रमिक लैजाने विषयमा इजरायल पक्ष सकारात्मक भए पनि जाने श्रमिको सीप तथा योग्यताका सम्बन्धमा इजरायलको बुझाइ भने फरक रहेको पाइएको छ ।”
इजरायलको नर्सिङ क्षेत्रमा सहायक कामदारको रोजगारीका लागि नेपालस्थित इजरायली दूतावास र नेपाल सरकारको संयुक्त टोली छनोट गरेका कारण योग्यता र सीपको विषयमा शंका नरहेको नेपाल पक्षको भनाइ छ । छलफलमा नेपाली पक्षबाट वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेल, श्रम मन्त्रालयका उपसचिव डा. थानेश्वर भुसाल र इजरायलस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत अर्जुन घिमिरे सहभागी संवादमा इजरायली पक्षबाट नेपालका लागि इजरायली राजदूत हानान गोडर, पिवाका निर्देशक सिरिली, इजरायल स्वास्थ्य मन्त्रालय निर्देशक तास्फी लगायतको उपस्थिति रहेको थियो । छनोट भएर रोजगार सम्झौता भएका १ हजार ५९ मध्ये २९७ जना यसअघि नै इजरायल प्रवेश गरिसकेका छन् ।
संवादका क्रममा प्रक्रियालाई अविलम्ब सुचारु गर्न इजरायली पक्षको ध्यानाकर्षण गराइएको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ । कर्मचारी युनियनको आन्दोलन समाप्तिसँगै प्रक्रियालाई सुचारु गर्न इजरायली पक्ष समेत सकारात्मक रहेको नेपाली दूतावासको भनाइ छ । विभागले छनोट प्रक्रियाका लागि नेपाल पक्षबाट गर्नुपर्ने सबै काम पूरा गरेको जनाउँदै छनोट भएका सबै श्रमिकको भिसा प्रक्रियाका लागि नेपालस्थित इजरायली दूतावासमा रहेको जनाएको छ । हाल बाँकी रहेका श्रमिकको भिसा प्राप्त भएपछि विभागले अनलाइन श्रमस्वीकृति, बिमा र कल्याणकारी कोषको प्रक्रिया विभागको बुद्धनगरस्थित कार्यालयबाट गर्ने गरी तयारी गरिएको जनाएको छ ।
इजरायलको पिवाले छनोट गरेका १ हजार १७५ मध्ये ८२१ महिला र ३५४ पुरुषको अन्तिम नामावली प्रकाशित गरेको थियो । यसरी प्रकाशित गरेका नाम मध्ये ९५९ को रोजगार सम्झौता र २९७ इजरायल प्रवेश गरिसकेको जनाइएको छ । विभागले इजरायल जाने नेपालीले मासिक १ हजार ६ सय अमेरिकी डलर अर्थात हालको विनिमयदर अनुसार १ लाख ९० हजार रुपैयाँभन्दा बढी पारिश्रमिक पाउने जनाएको छ । एक पटक रोजगारीमा जाने नेपालीको करार अवधि १ वर्षको हुने भए पनि करार थपिएर ५ वर्षसम्म बस्न पाइने छ । यसका लागि जाने श्रमिकले हवाई भाडा, स्वास्थ्य बिमा, अभिमुखिकरण, पासपोर्ट, पिसिआर सहितको स्वास्थ्य परीक्षण, कल्याणकारी कोषमा सहित बढीमा ८५ हजार रुपैयाँ लाग्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्