नेप्से परिसूचकमा ८४.९० अंकले गिरावट «

नेप्से परिसूचकमा ८४.९० अंकले गिरावट

स्थानीय तहको निर्वाचन तथा सार्वजनिक बिदाका कारण चार दिन कारोबार बन्द भएर मंगलबार कारोबार भएको नेप्सेमा उच्च अंकले गिरावट आएको हो । मंगलबार नेप्से परिसूचक ८४.९० अंकले घटेर २२६५.५२ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १४.२७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ५.८१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.७० अंकले गिरावट आएको छ ।
मंगलबार कारोबारमा आएका २२१ कम्पनीको ३५ लाख ९५ हजार कित्ता सेयर एक अर्ब ६४ करोड ४० लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । मंगलबार नेप्सेसँगै कारोबार रकममा समेत गिरावट आएको छ । अघिल्लो कारोबार दिन दुई अर्बभन्दा बढीको सेयर कारोबार भएको थियो ।
नेप्सेका १३ वटै उपसमूहको परिसूचक घटेका छन् । जसमध्ये वित्त, जलविद्युत र अन्य उपसमूहको परिसूचक पाँच प्रतिशतभन्दा बढी घटेको छ । त्यस्तै, विकास बैंक, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक चार प्रतिशतभन्दा बढी घटेको छ । लगानी उपसमूहको परिसूचक तीन प्रतिशतभन्दा बढी र व्यापार, लघुवित्त, उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटन र बैंकिङ उपसमूहको परिसूचक दुई प्रतिशतभन्दा बढी घटेको छ ।
मंगलबार नेप्से परिसूचक गिरावटसँगै तीन कम्पनीको मूल्य भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा युनाइटेड इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स र सूर्योदय वोमी लघुवित्तको शेयरमूल्य १० प्रतिशत घटेको छ । त्यस्तै, बुद्धभूमि नेपाल हाइड्रोपावर, इमर्जिङ नेपाल, दिव्यश्वरी हाइड्रोपावर, ग्रीन भेन्चर्स, लिबर्टी इनर्जि र युनिभर्सल पावर कम्पनीको शेयरमूल्य नौ प्रतिशतभन्दा बढी घटेको छ । तर यता सामुदायिक लघुवित्तको सेयरमूल्य भने पाँच प्रतिशत बढीले बढेको छ ।
मंगलबार कारोबार रकमका आधारमा नौ करोड ७९ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री गरेर जाल्पा लघुवित्त शीर्ष स्थानमा रहेको छ । त्यस्तै, अरुण भ्याली हाइड्रोपावर, सानिमा माइ हाइड्रोपावर कम्पनीको साढे पाँच करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्