सरकारले फेरि बढायो गाडी भाडा «

सरकारले फेरि बढायो गाडी भाडा

सार्वजनिक सवारीको भाडा बढेको छ । यातायात व्यवस्था विभागले बुधबारदेखि लागू हुने गरी सार्वजनिक यातायातकोे भाडा बढाएको हो ।
स्थानीय तहको चुनावको भोलिपल्ट नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ मूल्य बढाउने निर्णय गरेपछि सार्वजनिक सवारीको भाडा समायोजन भएको विभागको भनाइ छ ।
विभागले अन्तरप्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा यात्रुबाहक तर्फ ३.५ प्रतिशत भाडा बढाएको छ भने पहाडी बाटोमा गुड्ने मालबाहक सवारीसाधनमा ४.६ प्रतिशत र तराईको बाटोमा गुड्ने मालबाहक सवारीसाधनमास ५.१ प्रतिशत भाडा बढाएको छ ।
इन्धनको मूल्य थपघटका आधारमा एकै पटक ५ प्रतिशतले बढेमा वा घटेमा भाडा समायोजना गर्ने नीति रहेको समेत विभागले जनाएको छ । विभागले बढेको भाडा ४ जेठबाटै लागू हुने पनि जनाएको छ ।
यसअघि १८६० रुपैयाँ भाडा भएकोमा नयाँ भाडा अनुसार काठमाडौंबाट इलाम पुग्न १९२५ रुपैयाँ लाग्ने छ । विभागका अनुसार छोटो दूरीको सवारी भाडा भने बढेको छैन ।
अन्तर्राष्ट्रिय बजारमा प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै जाँदा खरिद मूल्य नै उच्च भएपछि यस अनुसार मूल्य बढाएको निमगले जनाए पनि यसैका कारण सार्वजनिक सवारी साधनको भाडा बढेको छ । यसरी भाडा बढ्दा मूल्यबृद्धि तथा आपूर्तिजन्य समस्या गपिन सक्ने उपभोक्ता अधिकारबादीको भनाइ छ ।
इन्धनको मूल्य बढेकै कारण महँगी पनि पछिल्लो समय बढ्न थालेको छ । २०७८ चैत महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.२८ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । इन्धनको मूल्य बढेपछि वैशाखमा फेरि मुद्रास्फीति बढ्छ । अघिल्लो वर्षको चैत मसान्तमा मुद्रास्फीति ३.१० प्रतिशत रहेको थियो । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको नवौं महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.४० प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ७.१८ प्रतिशत रहेको छ । साथै, चैत मसान्तसममको औसत मुद्रास्फीति ५.६२ प्रतिशत रहेको पनि केन्द्रीय बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकमा आउने मुद्रास्फीतिभन्दा बजारमा अनुभूत गरिने मुद्रास्फीति बढी रहने अनुभव भएका कारण वास्तविक मुद्रास्फीति झन् बढी रहेको उपभोक्ताको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्