लागतभन्दा सस्तो मूल्यमा अण्डा

चितवन- खपत घट्दै गएपछि व्यवसायीले घाटा व्यहोरेर लागत मूल्यभन्दा सस्तोमा फुल (अण्डा) बिक्री गर्न थालेका छन् । नेपाल अण्डा उत्पादक संघले सोमबार विज्ञप्ति जारी गरी धेरै नोक्सानीमा फुल बिक्री गर्न बाध्य भएको जनाएको छ ।
संघका अध्यक्ष त्रिलोचन कँडेलका अनुसार फुलको लागत प्रतिगोटा १० रुपैयाँ ५० पैसा पर्ने भए पनि कृषकले ६ रुपैयाँ ६६ पैसा पाउने गरी मूल्य निर्धारण गरिएकाले एउटै फुलमा करिब ४ रुपैयाँ घाटा व्यहोर्नुपरेको छ ।
कुखुरालाई आवश्यक पर्ने दाना र कच्चा पदार्थको मूल्य वृद्धि हँुदै जानु र उत्पादित फुल तथा चल्लाको मूल्यमा क्रमशः गिरावट आउनाले व्यवसायीले धेरै नोक्सानी व्यहोर्नु परेको हो । फुलको उत्पादन र खपतको अवस्थामा निकै असन्तुलन भएको जनाइएको छ । केही समयका लागि नेपाल अण्डा उत्पादक संघले फुलको उपभोक्ता मूल्य १३ बाट घटाइ १० रुपैयाँ निर्धारण गरेको छ । नेपालमा हाल दैनिक ५० लाख फुल उत्पादन हुने गरेको छ । हालको बजार अनुसार दैनिक १ करोड ९२ लाख नोक्सानी सहनुपरेको कँडेलले बताए ।
उद्योग वाणिज्य संघ प्रदेश नं ३ का उपाध्यक्ष राजन गौतमले राज्यले समयमै यस क्षेत्रलाई सम्बोधन गर्न नसके आत्मनिर्भर व्यवसाय धरासायी हुने बताए ।