बंगलाचुलीमा गठबन्धन र राजपुरमा कांग्रेस विजयी «

बंगलाचुलीमा गठबन्धन र राजपुरमा कांग्रेस विजयी

दाङ -दाङको बंगलाचुली गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका तुलसीराम पुन (सुवास) र उपाध्यक्षमा नेपाली कांग्रेसका भक्तबहादुर जिसी निर्वाचित भएका हुन । अध्ययक्षमा निर्वाचित पुनले पुन ५ हजार ७४९ मत ल्याएर बिजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार भेषराज खत्रीले ३ हजार ६७८ मत प्राप्त गरी पराजित भएका छन् ।
अध्यक्ष निर्वाचित पुनले नेकपा एमालेका उम्मेदवार खत्रीलाई २ हजार ७१ मत अन्तरले हराएका छन् । त्यसैगरी उपाध्यक्षमा निर्वाचित नेपाली कांग्रेसका जिसीले ५ हजार ९४५ मत ल्याएर विजयी भएका छन् । पराजित एमालेकी उम्मेदवार सरस्वती घर्तीले ३ हजार २६५ मत मात्रै प्राप्त गरेकी छिन् । उपाध्यक्षमा २ हजार ६८० मतको अन्तरले जिसी विजयी भए ।
बंगलाचुली गाउँपालिकामा चार वडासहित गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस र माओवादी केन्द्रको तालमेल रहेको थियो । बाँकी चार वडाहरूमा कांग्रेस, माओवादी र एमालेविच त्रिपक्षीय प्रतिस्पर्धा भएको थियो । जसमा बंगलाचुली गाउँपालिकाका ८ वडाहरूमध्ये कांग्रेस र माओवादीले चार–चारवटा वडा जितेका हुन् । जसअन्तर्गत कांग्रेसले वडा नं. १,२,४ र ६ जितेको छ भने माओवादीले वडा नं. ३,५,७ र ८ जितेको छ ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा एउटा वडा जितेको एमाले यसपटक कुनै पनि वडामा जित हासिल गर्न सकेन । बंगाचुलीमा कुल १० हजार ७३३ मत खसेको लुम्विनी प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा बंगलाचुली गाउँपालकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद माओवादी केन्द्रले जितेको थियो ।
राजपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी
राजपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नेपाली कांग्रेसले जितेको छ । अध्यक्षमा शरद बुढाथोकीले ८१३ मतान्तरले माओवादी केन्द्रका अध्यक्ष पदका उम्मेदवार चक्रबहादुर खड्कालाई पछी पार्दै निर्वाचित भएका हुन् ।
बुढाथोकीले ३९८० मत प्राप्त गरेका छन् । माओवादीका खड्काले ३ हजार १६७ र नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार कुलराज गिरीले २ हजार ९२२ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा धनपती यादव निर्वाचित भएकी छिन् । उनले माओवादीका उपाध्यक्ष पदका उम्मेदवार पुष्पा यादवलाई ४८८ मतान्तरले पछि पार्दै धनपती उपाध्यक्षमा निर्वाचित भएकी हुन् । उपाध्यक्षमा धनपती यादवले ३ हजार ८३६, पुष्पा यादवले ३ हजार ३४८ र सिता यादवले २ हजार ९०७ मत प्राप्त गरेकी हुन । १५ हजार ७ सय २३ मतदाता रहेको यहाँ ११ हजार ७ सय ४१ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्