राष्ट्रिय एकद्वार प्रणालीले सहज बन्दै वैदेशिक व्यापार «

राष्ट्रिय एकद्वार प्रणालीले सहज बन्दै वैदेशिक व्यापार


भन्सार विभागले सञ्चालनमा ल्याएको राष्ट्रिय एकद्वार प्रणालीका कारण वैदेशिक व्यापारमा लाग्ने लागतमा उल्लेख्य कमी आउन थालेको छ । व्यवसायी र एजेन्टले कागजात बोकेर विभाग र कार्यालय धाउनुपर्ने झन्झट हट्दै गएको छ । राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयनमा आएसँगै नेपालको वैदेशिक व्यापारमा केही वर्षमै गुणात्मक परिवर्तन देखिने व्यवसायीहरु बताउँछन् । विभागले गत माघबाट यो व्यवस्था पूर्ण रुपमा कार्यान्वयनमा ल्याएको थियो । वैदेशिक व्यापार सम्बद्ध निकायहरु यसमा जोडिने क्रम जारी छ ।
“वैदेशिक व्यापारका लागि दर्जनौं कागजातहरु जम्मा गर्नुपर्छ र त्यसको कागजी प्रमाणीकरणका लागि दिनहुँ कुद्नुपर्ने अवस्थामा उल्लेख्य सुधार भएको छ,” नेपाल चीन उद्योग वाणिज्य संघका अध्यक्ष त्रिभुवनधर तुलाधर भन्छन्, “राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयनमा आएपछि हाम्रो झन्झटमा धेरै कमी आएको छ, यद्यपि यसमा अझै सुधार र सहजीकरण आवश्यक देखिन्छ ।” उनका अनुसार सरकारी निकायबाटै जारी कागजातहरुको डिजिटल कपी बुझाएपछि अझै पनि सक्कल प्रति बुझाउन आफैं धाउनुपर्ने अवस्था छ । यसका साथै आयात–निर्यात प्रक्रिया अघि बढिसकेपछि अनुकूल समयमा यसरी बुझाउने सुविधा उपलब्ध भने गराइएको छ ।
राष्ट्रिय एकद्वार प्रणाली विश्व बैंकको सहयोगमा सञ्चालित परियोजना हो । यसमा व्यापार सहजीकरण प्रणालीहरू र सीमा सरल बनाउन, व्यापार समुदायको लागि समय र लागत न्यूनीकरण गर्न डिजाइन गरिएको छ । परियोजनाले सरकारी एजेन्सीहरू र व्यापारीहरूका सबै सम्बन्धित सरोकारवालाहरूलाई जोड्ने पोर्टल स्थापना गरेको छ । जसको लाभ वैदेशिक व्यापारका सबै पक्षले लिइरहेको भन्सार विभागले जनाएको छ । विभागका अनुसार नेपालको अन्तर्राष्ट्रिय व्यापार आपूर्ति श्रृंखलामा संलग्न ४८ वटा सरकारी निकाय र सरोकारवालाहरू यसमा जोडिएका छन् ।

राष्ट्रिय एकद्वार प्रणालीले कसरी काम गर्छ ?
नेपाल राष्ट्रिय एकद्वार प्रणालीले अन्तर्राष्ट्रिय व्यपारमा संलग्न सबै सरोकारवालाहरूलाई आपसमा जोड्छ र तिनीहरूलाई एउटै प्लेटफर्ममा व्यापार प्रक्रियाहरू गर्न अनुमति दिन्छ । भन्सार र व्यापार प्रक्रियालाई सरल र गति दिएर, व्यापारी र सरकारी एजेन्सीहरूले क्लियरेन्स लागत र समय घटाउने स्वचालित र सहज प्रक्रियाहरूबाट लाभ उठाउँछन् । राष्ट्रिय एकद्वार प्रणालीले सरकारी राजस्व सुरक्षित गर्छ र विश्व बैंकको डुइङ बिजनेस रिपोर्ट जस्ता अन्तर्राष्ट्रिय व्यापार सूचकहरूमा सुधार गर्छ । कागजपत्र पेश र प्रशोधन, सामान निरीक्षण, जोखिम व्यवस्थापन लगायत प्रयोगकर्ता दर्ता, मोबाइल ट्रयाकिङ, इलेक्ट्रोनिक भुक्तानी लगायतका सुविधा राष्ट्रिय एकद्वार प्रणालीमा रहेका छन् ।
यसमा दर्ता भएका एजेन्सीहरुले एक पटक लगइन भएपछि लाइसेन्स, अनुमति, प्रमाणपत्र र अन्य कामको लागि आवेदनहरू भर्न र व्यवस्थापन गर्न सक्छन् । सबै शुल्क, कर र सम्बन्धित व्यापार शुल्कहरू इलेक्ट्रोनिक भुक्तानी सुविधा प्रयोग गरेर भुक्तानी गर्न सकिने सुविधा दिइएको छ । यसमा कागजातहरू स्क्यान गर्न सकिन्छ र अनलाइन सबमिसनको लागि संलग्न गर्न सकिन्छ ।

कुन–कुन संस्था छन् प्रणालीमा ?
विभागका अनुसार यस प्रणालीमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसहित कानुन, न्याय तथा संसदीय मामिला, सञ्चार तथा सूचना प्रविधि, स्वास्थ्य तथा जनसंख्या, गृह, रक्षा, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय आवद्ध छन् । यस्तै नेपाल राष्ट्र बैंक, कम्पनी रजिस्ट्रारको कार्यालय, नेपाल लगानी बोर्ड, प्रमाणीकरण नियन्त्रकको कार्यालय, वाणिज्य बैंकहरु, भन्सार विभाग, नेपाल इन्टरमोडल यातायात विकास समिति, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, उद्योग विभाग, नेपाल ट्रान्जिट वेयरहाउस कम्पनी, आन्तरिक राजस्व विभाग लगायतका निकाय प्रणालीमा आवद्ध भएका छन् ।

प्रतिक्रिया दिनुहोस्