निर्विरोधसहित साढे १३ हजारभन्दा बढी जनप्रतिनिधि निर्वाचित «

निर्विरोधसहित साढे १३ हजारभन्दा बढी जनप्रतिनिधि निर्वाचित


वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट हालसम्म निर्विरोधसहित १३ हजारभन्दा बढी उम्मेदवार निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।
सोमबार निर्वाचन आयोग, नेपालले गरेको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सोमबार साँझसम्ममा निर्विरोधसहित १३ हजार ५ सय ८२ जना उम्मेदवार निर्वाचित भएको बताए । जसमध्ये प्रमुख १३, अध्यक्ष ११७, उपप्रमुख १३ र उपाध्यक्ष ११७ जना निर्वाचित भएको उनले जानकारी दिए । त्यसैगरी वडा अध्यक्ष २ हजार ६७९, वडा सदस्य ५ हजार ३१८, महिला वडा सदस्य २ हजार ६७८ र दलित महिला सदस्य २ हजार ६४७ निर्विरोध निर्वाचित भएको उनले उल्लेख गरे । विभिन्न कारणले मतदान स्थगित भएका धनकुटा जिल्लाको शहीदभूमि गाउँपालिका वडा नं. ६ को ठाकुरदेवी मा.वि., सप्तरीको रुपनि गाउँपालिका वडा नं. ५ को गा.वि.स. भवन, रामेछापको खाँडादेवी गाउँपालिका वडा नं. १ को वडा कार्यालय भवन र सुर्खेतको सिम्ता गाउँपालिका वडा नं. ३ को भगवती मा.वि.मा सोमबार मतदान भएको प्रवक्ता पौडेलले बताए
त्यसैगरी बझाङको केदारस्यु गाउँपालिका वडा नंं. ४ को जगन्नाथ उच्च मा.वि., बझाङको सुर्मा गाउँपालिका वडा नं. २ को आधार बगर मा.वि. र बझाङको सुर्मा गाउँपालिका वडा नं. ३ कृष्ण प्रा.वि. मतदान केन्द्रमा पनि शान्तिपूर्ण ढंगले मतदान भइरहेको उनले जानकारी दिए । उनले मतदान स्थगित भइसकेका विभिन्न स्थानहरुमा निर्वाचन भइसकेको र बाँकी रहेका मतदान केन्द्रहरुमा पनि छिट्टै सुचना दिएर निर्वाचन गराइने बताए । आयोगका प्रवक्ता पौडेलले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष बनाउनका लागि आयोग कहिँ पनि नचुकेको स्पष्ट पारे । छिटपुट घटनाबाहेक देशभर निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको उनले बताए । प्रवक्ता पौडेलले १३० पालिकाको निर्वाचनको सम्पूर्ण परिणाम सार्वजनिक भइसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्