बुद्ध मानवताको अवतार हुन् : मोदी
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो लुम्बिनी भ्रमणले नेपाल–भारत सम्बन्ध थप प्रगाढ बनेको बताएका छन् । लुम्बिनी भ्रमणका अवसरमा सोमबार अपरान्ह लुम्बिनी विकास कोषले आयोजना गरेको २५६६ औं बुद्धजयन्ती समारोहलाई सम्बोधन गर्दै मोदीले नेपालसँग भारतको सम्बन्ध हिमालजस्तै अटल र पुरानो भएको बताए ।
उनले वैशाख पूर्णिमाको दिन भगवान बुद्ध जन्मेको पवित्र स्थलमा आफू आउने अवसर अविस्मरमरणीय रहेको बताए । मायादेवी मन्दिर पुगेर बुद्धको चेतना र उर्जाको अलग्गै अनुभूति भएको मोदीले सुनाए । ‘पशुपतिनाथ, मुक्तिनाथ,वा जनकपुरधाम नै किन नहोस्, वा लुम्बिनी नै किन नहोस्, जबजब नेपाल भ्रमणमा आउँछु, खुसी हुन्छु,’ उनले भने । उनले नेपाल सबैभन्दा अग्लो हिमाल रहेको सगरमाथा, मठमन्दिर र दुनियाँको प्राचीन सम्पदाहरुको देश भएको बताए ।
‘नेपाल आउँदा कुनै राजनीतिक भ्रमण होइन, आध्यात्मिक भ्रमणको अनूभूति हुन्छ,’ मोदीले भने । बीचबीचमा नेपाली भाषामै बोलेका मोदीले लुम्बिनी पवित्र भूमि भएको बताए । उनले लुम्बिनीमा सिद्धार्थ गौतमको जन्म भएको, भारतको बोधगयामा ज्ञान प्राप्त गरेको स्मरण समेत गरे । उनले नेपाल र भारतलाई लुम्बिनी र बुद्धले पनि जोडेको बताए । बुद्ध मानवताको सामूहिक खोजको अवतार भएको उनले बताए । ‘बुुद्ध विचार हो, संस्कार हो । उहाँको उपदेशमा मानवता र ज्ञान हुन्छ,’ उनले भने । बुद्ध सामान्य परिवारमा नभएको बताउँदै परिवारबाट त्यागेर जगतको सेवा गर्ने सन्देश उनले दिएको मोदीले बताए ।
वैशाख पूर्णिमाको दिन लुम्बिनीमा जन्मेका बुद्धले बोधगयामा ज्ञान, कुशीनगरमा महापरिनिर्वाण प्राप्त गरेको स्मरण गर्दै उनले भने, ‘यी तीनै काम बुद्ध पूर्णिमाकै दिन भएको छ । यो संयोग मात्रै होइन, जीवन ज्ञान, निर्माणको सन्देश पनि हो ।’ उनले बुद्धको उपदेशको सबैले पालना गर्नुपर्ने बताए ।
उनले नेपाल र भारत सबै हिसाबले सँगसँगै रहेको पनि बताए । खानपान, गीतसंगीत, रितिरिवाजमा देखिएको समानताले पारिवारिक सम्बन्ध रहेको प्रष्ट भएको उनले सुनाए । ‘नेपालसँग भारत हातमा हात, काँधमा काँध मिलाएर अघि बढ्न तयार छ,’ उनले भने । समारोहमा बोल्दै गर्दा उनले पटक पटक लुम्बिनीलाई पवित्र भूमि भनेर सम्बोधन गरेका थिए ।
उनले आफ्नो लुम्बिनी भ्रमणले लाखौं तिर्थालुहरुलाई आमन्त्रण गर्ने विश्वास लिएको बताए । समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले भारतसँग नेपालको बहुआयामिक सम्बन्ध रहेको बताए । उनले नेपालको आर्थिक विकासमा निम्ति भारत सरकारप्रति आभार समेत व्यक्त गरे ।