मिल्यो मुख्यमन्त्री र सभामुखको भागबण्डा «

मिल्यो मुख्यमन्त्री र सभामुखको भागबण्डा

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त कार्यदलले प्रदेश सरकार गठनका विषयमा सहमति जुटाएको छ । आइतबार बसेको बैठकले मुख्यमन्त्री, सभामुख, उपसभामुख र मन्त्रीको भागवण्डामा सहमति जुटाएको हो ।
प्रदेशसभा निर्वाचनको परिणामअनुसार बाम गठबन्धनले २ नम्बर प्रदेश बाहेकका अन्य ६ प्रदेशमा सरकार गठन गर्नेछ । २ नम्बर प्रदेशमा भने संघीय समाजवादी फोरमले अन्य दलसँग मिलेर सरकार बनाउने सम्भावना छ ।
कार्यदलले जुटाएको सहमतिअनुसार प्रदेश नम्बर १, ३, ४ र ५ को मुख्यमन्त्री एमालेको भागमा परेको छ भने ६ र ७ नम्बर प्रदेशको मुख्यमन्त्री माओवादीको भागमा परेको छ ।
कार्यदलले पदको भागवण्डा मिलाएको र मुख्यमन्त्री को हुने भन्ने कुरा सम्बन्धित पार्टीले निर्णय गर्नेछ । बैठकले सभामुखको भागवण्डा समेत टुंगो लगाएको छ । कार्यदल सदस्य सुरेन्द्र पाण्डेका अनुसार एमालेले १, ३, ६ र ७ नम्बर प्रदेशमा सभामुख पाउनेछ । माओवादीको भागमा ४ र ५ नम्बर प्रदेशको सभामुख परेको छ । उपसभामुख भने एमालेले २ र माओवादीले ४ प्रदेशमा पाउने गरी सहमति भएको छ । एमालेले प्रदेश ४ र ५ मा उपसभामुख पाउने र १, ३, ६ र ७ मा माओवादीले उपसभामुख गरी सहमति जुटाइएको छ ।
मन्त्री र समितिका सभापति भने एमालेले ७० र माओवादीले ३० प्रतिशत पाउने गरी समहति जुटेको पाण्डेले जानकारी दिए । “७०-३० को मापदण्ड अनुसार मन्त्री र समितिका सभापति पाउने गरी सहमति जुटेको छ,” उनले भने, “त्यसको टुंगो भने सम्बन्धीत प्रदेशको मुख्यमन्त्री र संसदीय दलको नेताले टुंगो लगाउनेछन् ।” कार्यदलले यसअघि नै प्रदेश संसदको कुल संख्याको १० प्रतिशत मात्रै मन्त्री बनाउने निर्णय गरेको थियो । संविधानमा कुल सांसद संख्याको २० प्रतिशत मन्त्री बनाउन पाउने व्यवस्था भए पनि केन्द्र र प्रदेशमा गरी मन्त्रीको संख्या धेरै हुनेभएकाले १० प्रतिशत मन्त्री बनाउने निर्णय गरेको कार्यदलले जनाएको छ । प्रदेशमा कम्तीमा ७ र बढीमा ११ मन्त्री बनाउने सहमति भएको पाण्डेले बताए ।
यी हुन् मुख्यमन्त्रीका आकांक्षी
एक नम्बर प्रदेशमा एमाले सचिव भीम आचार्य र पोलिटव्यूरो सदस्य शेरधन राई मुख्यमन्त्रीको दौडमा छन् । एमालेको एक नम्बर प्रदेश कमिटीका आचार्य संयोजक र राई सहसंयोजक हुन् । मुख्यमन्त्रीका अरूपनि आकांक्षी भएपछि यी दुई मध्ये एक मुख्यमन्त्री बन्ने बताइएको छ ।
प्रदेश नम्बर २ मा संघिय समाजवादी फोरमका विजय यादव, लालबाबु रावत र राजपाबाट जितेन्द्र सोनल र मनीष सुमन मुख्यमन्त्रीका दाबेदार हुन् । यो प्रदेशमा फोरमले अन्य पार्टीसँग मिलेर सरकार बनाउने बताइन्छ ।
प्रदेश नम्बर २ मा एमाले उपाध्यक्ष अष्टलक्षमी शाक्य, पोलिटव्यूरो सदस्य पशुपति चौलागाईँ र राजेन्द्रप्रसाद पाण्डे मुख्य दावेदार हुन् । उनीहरू मध्ये शाक्यको सम्भावना बलियो रहेको बताइन्छ ।
प्रदेश नम्बर ४ मा एमाले सचिव पृथ्वीसुब्बा गुरूङ र स्थायी समिति सदस्य किरण गुरुङ मुख्यमन्त्रीका दावेदार हुन् ।
प्रदेश नम्बर ५ मा भने एमाले स्थायी समिति सदस्य शंकर पोखरेल एकमात्रै दावेदार हुन् । दाङ क्षेत्रनम्बर ३ को प्रतिनिधी सभा र प्रदेशसभाको सिट बाँडफाँडमा पोखरेललाई मुख्यमन्त्री बनाउने सहमती यसअघि नै भएको थियो । उनी यो एमालेबाट प्रदेशसभा संसदीय दलको नेता समेत चयन भइसकेका छन् ।
प्रदेश नम्बर ६ मा माओवादीले मुख्यमन्त्री बनाउनेछ । यहाँ माओवादी पोलिटव्यूरो सदस्य महेन्द्रबहादुर शाही र नरेश भण्डारी मुख्यमन्त्रीका आकांक्षी हुन् । प्रदेशनम्बर ७ मा माओवादी नेता वीरमान चौधरी र झपट बोहोरा मुख्यमन्त्रीको दौडामा छन् ।

ओली–दाहाल ‘वान टु वान’ वार्ता
एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच वान टु वान वार्ता भएको छ । आइतबार दाहाल निवास खुमलटारमा करिब ४ घण्टा चलेको वार्तामा सरकार गठन र पार्टी एकता विषयमा छलफल भएको छ । दुई नेतावीचको वर्ताले प्रधामन्त्री र एकिकृत पार्टीको नेतृत्वका बारेमा सहमति जुटाउने बताइपनि पनि सहमती भने हुन सकेन । दाहालको सचिवालयका अनुसार पार्टी एकता र सरकार गठनका बारेमा थप गृहकार्य गर्नेबारे छलफल भएको छ । दुई नेताबीच पार्टी एकता, सरकार गठनलगायत पार्टी संगठन र राज्य सन्चालनका सन्दर्भमा भएको छलफल सकारात्मक भएको बताइएको छ । एमाले र माओवादीबीच सरकारको नेतृत्व, एकिकृत पार्टी नेतृत्व र एककिृत पार्टीको सिद्धान्त के हुने भन्ने बारे सहमती जुटाउने प्रयास भइरहेपनि सहमति जुट्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्