नेपाल र भारतले संयुक्त रूपमा बुद्धिस्ट सर्किट विकास गर्ने «

नेपाल र भारतले संयुक्त रूपमा बुद्धिस्ट सर्किट विकास गर्ने


प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ बनाउँदै सांस्कृतिक एर्व पर्यटनका क्षेत्रमा पारस्परिक सहयोग अभिवृद्धि गर्न बौद्ध परिपथ (बुद्धिस्ट सर्किट) विकास गरिने घोषणा गरेका छन् ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा सोमबार लुम्बिनीमा आयोजित २५६६औँ बुद्धजयन्तीको विशेष समारोहमा उनले भगवान् बुद्धको जीवनसँग सम्बन्धित महत्वपूर्ण स्थानहरूलाई एकापसमा जोड्ने बौद्ध परिपथ विकास गर्न नेपाल र भारत प्रतिबद्ध रहेका बताएका हुन् ।
प्रधानमन्त्री देउवाले नेपालको लुम्बिनीलाई भारतको बौद्धगया, सारनाथ, कुसिनगर एकापसमा जोड्न त्यस्तो परिपथले नेपाल र भारतबीच सांस्कृतिक पर्यटनको प्रवद्र्धनका क्षेत्रमा सकारात्मक योगदान पु-याउने बताए । प्रधानमन्त्रीले भने, ‘विश्वभरका बौद्ध धर्मावलम्बीहरूलाई नेपाल र भारतमा रहेको भगवान् बुद्धको जीवनसँग जोडिएका महत्वपूर्ण स्थानहरूको भ्रमण उत्प्रेरित गर्नेछ ।’ हालै निर्माण सम्पन्न भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएसँगै लुम्बिनीमा भारत एवं सम्पूर्ण विश्वबाट अझ ठूलो संख्यामा पर्यटक तथा तीर्थयात्रीलाई स्वागत गर्न नेपाल उत्सुक रहेको उनले बताए ।
नेपाल र भारत समाज सांस्कृतिक एवं आध्यात्मिक मूल्य मान्यताले जोडिएका बताउँदै उनले केही समयअघि सम्पन्न वाराणसीको आफ्नो भ्रमण स्मरण गर्दै काशीविश्वनाथ बाबाको पूजाअर्चना गर्ने अवसरमा प्रधानमन्त्री मोदीले जुटाइदिएकोमा मोदीप्रति र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथप्रति कृतज्ञता व्यक्त गरे ।
नेपालको पूर्वाधार निर्माण, सम्पर्क सञ्जाल विस्तार, जलविद्युत् कृषि तथा मानव संसाधनको विकासका साथै भूकम्पपछिको नवनिर्माण एवं सांस्कृतिक सम्पदाका पुनः स्थापना र पुनः निर्माणका लागि भारत सरकारले गरेको सहयोगका निम्ति पनि प्रमले आभार प्रकट गरे ।


भारत–नेपाल सम्बन्ध हिमालझैं अटल : मोदी
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र नेपालबीचको सम्बन्ध हिमालझैँ अटल रहेको बताउँदै दुवै देशले विज्ञान, प्रविधि र पूर्वाधार विकासका खातिर काँधमा काँध मिलाएर काम गर्ने प्रशस्त अवसर रहेका उल्लेख गरेका छन् । सोमबार लुम्बिनीमा आयोजित २५६६औँ बुद्धजयन्तीको विशेष समारोहमा उनले भारत र नेपालबीचको समान रीतिरिवाज, परम्परा, संस्कृति र सामाजिक संरचनाले दुवै देशका जनतालाई एकापसमा जोडेको उल्लेख गर्दै प्रधानमन्त्री मोदीले नेपालसँगको सम्बन्धलाई अझ सुदृढ तुल्याउन आफू कृतसंकल्प रहेको बताए ।
बुद्ध उपदेशका अंशलाई आफ्नो मन्तव्यमा बेलाबेलामा समावेश गर्नुभएका प्रधानमन्त्रीप्रति प्रशंसा व्यक्त गर्दै दर्शकदीर्घाबाट तालीको गद्गदाहतले सभाभवन गुञ्जायमान भएको थियो । बुद्धका पवित्र पाइला परेका तथा उनको जीवन र शिक्षाका स्थलहरुको बाटो नै बौद्ध परिपथ हो । विश्व सम्पदास्थलका रुपमा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले विश्व सम्पदामा राखेका भारतका गया, नालन्दा, वैशाली, पूर्वी चम्पारण, भागलपुर तथा नेपालका ऐतिहासिक बौद्धस्थल, बौद्धनाथ, स्वयम्भूनाथ, कपन गुम्बा, पोखरा र लुम्बिनी बौद्ध परिपथबाट जोडिनेछन् ।
बौद्ध सम्प्रदायबीच अन्तरराष्ट्रिय सम्बन्ध विस्तार तथा विश्व शान्तिमा योगदान गर्ने बौद्ध परिपथको परिकल्पना गरिएको सन्दर्भमा त्यसलाई विकास गर्ने चाहना प्रधानमन्त्री मोदीले व्यक्त गरे । प्रधानमन्त्री मोदीले नेपाल र भारतको मैत्री विश्वमै अतुलनीय रहेको चर्चा गर्दै दुवै देशका जनताले एकअर्कालाई असीम शब्दका साथ व्यवहार गर्ने गरेका बताए । उनले नेपाल आउँदा र विशेषगरी पशुपतिनाथ, मुक्तिनाथ, जनकपुरधाम र लुम्बिनीमा आफूलाई छुट्टै आध्यात्मिक अनुभूति हुने गरेको बताए ।
उनले पटकपटक भगवान् बद्धको पवित्र जन्मस्थल नेपालको प्रशंसा गर्दै सगरमाथाको देश संसारका अनेकौं मठमन्दिर र पवित्र स्थलले सधैँ पावन रहेको उल्लेख गरे । नेपालको आर्थिक एवं व्यापारिक विकासमा टेवा पु¥याउन भैरहवामा एकीकृत जाँच चौकी निर्माण गरिने घोषणा गर्नाका साथै बौद्ध परिपथको विकास दुवै देशको साझा परियोजना हुने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्