मोदी भ्रमणले लुम्बिनीमा धार्मिक पर्यटक वृद्धिको अपेक्षा «

मोदी भ्रमणले लुम्बिनीमा धार्मिक पर्यटक वृद्धिको अपेक्षा

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् । नेपालको धार्मिक पर्यटन स्थलहरू पशुपतिनाथ, जनकपुरधाम, मुक्तिनाथको भ्रमण गरिसकेका मोदी पटक पटक बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणमा आउने चर्चा चले पनि चर्चामै सीमित हुने गरेको थियो । केही वर्षअघि उनको लुम्बिनी भ्रमण अन्तिम समयमा आएर स्थगित भएको थियो । अहिले मोदीको यो भ्रमणलाई भने निकै सकारात्मक रूपमा लिइएको छ । भ्रमणले यस क्षेत्रको धार्मिक तथा सांस्कृतिक पर्यटनमा टेवा पुग्ने बताइएको छ । लुम्बिनी र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका कारण अर्बौं रुपैयाँ यस होटल पर्यटन क्षेत्रमा लगानी भएको छ । मोदीको भ्रमणपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । धार्मिक पर्यटक बढ्ने उनीहरूको अपेक्षा छ । निजी क्षेत्रका केही प्रतिनिधिमूलक पात्रसँंग कारोबारकर्मी मनोरञ्जन शर्माले गरेको कुराकानी :

मोदीको लुम्बिनी भ्रमण कोशेढुंगा हुनेछ
कृष्णप्रसाद शर्मा
अध्यक्ष
उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यो भ्रमण धार्मिक तथा सांस्कृतिक भए पनि भ्रमणका क्रममा भएका भेटघाटमा निजी क्षेत्रलाई पनि सम्बोधन भएको छ । धार्मिक महत्व बढेको छ भने हामी निजी क्षेत्र पनि हर्षित छौं । प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमण आफैमा महत्वपूर्ण रहेको छ । बुद्ध जन्मस्थल लुम्बिनीमा आएर विश्वशान्तिको कामना गर्नु, त्यहाँको पुरातात्विक, धार्मिक र ऐतिहासिक महत्वको बारेमा जानकारी लिनुजस्ता कुराले पनि लुम्बिनीमा एकपटक तपाईहरु लुम्बिनी जानुहोस् है भ्रमणका लागि आध्यात्मका लागि भन्ने संकेत गर्दछ । हामी निजी क्षेत्र धेरै आशावादी भएका छौं। लुम्बिनी र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका कारण पर्यटन सेवामूलक होटलहरूमा अर्बौंको लगानी थपिएको छ । कोरोना संक्रमणले पर्यटन क्षेत्र थिलोथिलो भएको थियो । अब विस्तारै माथि उठने क्रममा भारतीय प्रधानमन्त्री नेपाल र त्यसमा पनि लुम्बिनी भ्रमणमा आउँदा बुद्धजन्मस्थली लुम्बिनीको प्रचार विश्वस्तरमा भएको छ । निश्चय पनि अब धार्मिकमात्र नभई अन्य भारतीय पर्यटक पनि नेपालमा बढ्छन् । धार्मिक पर्यटनको महत्व बेग्लै छ । मोदीको सम्बोधनको क्रममा पनि धर्म र धार्मिक पर्यटनको महत्व, नेपाल र भारतको बौद्ध सम्पदाहरू मिलाई एकीकृत बौद्ध सर्किटलगायतका बिषयमा चर्चा गर्नु र बुद्ध जयन्तीकै दिन लुम्बिनी आउनुले पनि लुम्बिनीको विश्वस्तरमा पुनः प्रचार भएको छ । अब हामीले पनि त्यहीअनुसारको थप पूर्वाधार बनाउनु पर्छ । पर्यटकहरूलाई सुविधा दिनुपर्छ, उनीहरूलाई बढी टिकाउने अर्थात् बसाइ अवधि बढाउने योजनासहित अघि बढ्नु पर्छ । जेहोस् भारतीय प्रधानमन्त्रीको भ्रमणले धार्मिक पर्यटकहरूलाई लुम्बिनी भ्रमण गर्न अभिप्रेरित गरेको छ । अब निश्चय पनि धार्मिक पर्यटकहरूको संख्या नेपालमा वृद्धि हुन्छ । अब कोरोनाको संक्रमण पनि घटिसकेको छ । पर्यटकहरू आउने क्रम विस्तारै सुरु भएको छ । यसै क्रममा भारतीय प्रधानमन्त्रीको लुम्बिनी भ्रमणले विश्वभरका पर्यटन प्रेमीहरूको ध्यान आकृष्ट भएको छ । टुर अपरेटरहरूको, पर्यटन व्यवसायीहरूको ध्यान नेपाल र लुम्बिनीमा खिचिएको छ अब यसलाई हामीले क्यास गर्न सक्नु पर्दछ । एकदमै धार्मिक एवं आध्यात्मिक प्रवृत्तिका प्रधानमन्त्री मोदीको नेपालसँंग धार्मिक कनेक्टिभिटी देखिएको छ । धर्मका माध्यमबाट ठूलो नाता नेपालसँंग रहेको र हिन्दुको उदगमस्थलको रूपमा नेपाल रहेको हामीले बुझ्यौं । विश्वका अन्य देशभन्दा नेपालको धार्मिक, सांस्कृतिक महत्व भिन्दै रहेको मोदीको बुझाइ लुम्बिनी भ्रमणमा उनले आध्यात्मिक गतिविधिमा खर्चेका समयलाई हेरेर बुझन सकिन्थ्यो ।
अर्को कुरा लुम्बिनी भ्रमणकै क्रममा निजी क्षेत्रसँंग पनि भेटघाटले थप उत्साह बनाएको छ । बेलहिया र सुनौली नाकामा निर्माण हुन नसकेको एकीकृत भन्सार चेक पोस्ट आईसीपीप्रति उहाँ निकै संवेदनशील भएको र छिटै काम अघि बढ्ने साथै जलविद्युत लगायतका क्षेत्रमा पनि सहकार्य गरी अघि बढने बताउनुभयो, उद्योग बाणिज्य महासंघका अध्यक्ष, उपाध्यक्षलगायतका निजी क्षेत्रका व्यक्तिलाई भेट गरी छलफलले हामीमा थप ऊर्जा आएको छ । जेहोस् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणलाई उपलब्धिमूलक र धार्मिक पर्यटन क्षेत्रका लागि कोशेढुंगा मान्नु पर्छ ।

पर्यटनमा वृद्धि हुन्छ
चन्द्रप्रकाश श्रेष्ठ
अध्यक्ष, सिद्धार्थ होटल संघ नेपाल (सान)

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बुद्धजन्मस्थल लुम्बिनी भ्रमणले धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्न मद्दत पुगेको छ । हामी यस क्षेत्रका पर्यटन व्यवसायीहरू मोदीको भ्रमणपछि निकै उत्साहित भएका छौं । उहाँले धार्मिक पर्यटनको महत्व दिँदै जसरी अयोध्यालाई जनकपुरसित जोडनु भएको थियो अब लुम्बिनीलाई पनि भारतका अन्य बौद्ध सम्पदाहरूसँंग जोडनु पर्नेछ । भारतले बौद्ध सर्किट प्याकेज बनाउँदा प्रायः लुम्बिनीलाई छुटाउने गरेको छ । अब एकीकृत प्याकेज बनाई नेपाल र भारतको बौद्ध क्षेत्र तथा सम्पदाहरूको एकीकृत विकास, प्रवद्र्धन, प्रचारप्रसार गर्नुपर्छ । मोदीको भ्रमणले लुम्बिनीको पुनः एक पटक भारतसहित विश्वमञ्चमा प्रचार भएको छ । मोदीको भ्रमणको समाचार संकलनका लागि भारतका विभिन्न सञ्चार माध्यम तथा अन्तर्राष्ट्रिय न्यूज एजेन्सी पनि आएका थिए । यसबाट पनि लुम्बिनीको प्रचार भएको छ ।
भारतमा धेरै बौद्धमार्गी छन् । कोरोनाअघि वार्षिक पाँच लाख बढी भारतीयहरू लुम्बिनी भ्रमणमा आउने गरेका थिए । कोरोनापछि ठप्प थियो । अब विस्तारै भारतीय पर्यटकहरू बढने क्रममा छन् ।
आशा गरौं लुम्बिनीसहित देशका अन्य पर्यटकीय स्थानमा पनि भारतीय पर्यटकहरू आउने छन् । मोदीको लुम्बिनी भ्रमणको सकारात्मक प्रचारले भारतीयलाई नेपाल भ्रमण गर्न अभिप्रेरित गर्नेछ ।
कोरोनाले थलिएको नेपाली पर्यटन बजारमा अब भारतीय पर्यटकहरू बढ्न सक्छन् । धार्मिक पर्यटनको अधिक सम्भावना रहेको छ । पशुपतिनाथ, जनकपुरधाम, मुक्तिनाथ, भारतीयहरूको महत्वपूर्ण धार्मिक गन्तव्य हो । लुम्बिनीमा पनि धेरै भारतीय आउने गरी पर्यटकीय प्याकेजहरू बनाउनु पर्दछ । धार्मिक पर्यटनलाई बढावा दिने गरी सरकारले अब आकर्षक प्याकेज बनाउनु पर्दछ । भारतले पनि लुम्बिनीसहितको बुद्ध सर्किट प्याकेज बनाएर विदेशी तथा भारतीयहरूलाई लुम्बिनी घुम्न जानका लागि प्याकेजमा अनिवार्य उल्लेख गर्न जरूरी छ ।
बुद्ध पूर्णिमाको दिन भारतीय प्रधानमन्त्री बुद्ध जन्मस्थल लुम्बिनीमा आउनु हामीहरूका लागि ठूलो उपलब्धि हो । यसले विश्वभर सन्देश गएको छ, भारतीय प्रधानमन्त्रीले बुद्धजन्मस्थलमा आएर विश्वशान्तिको कामना गरेका छन् ।
कोरोनाले थलिएका हामी पर्यटन व्यवसायीहरू अब भने केही आशावादी भएका छौं । हामीले यसलाई क्यास गर्न सक्नुपर्छ । मोदीको भ्रमणले निश्चय पनि लुम्बिनीमात्र नभई नेपालको अन्य धार्मिक पर्यटन क्षेत्रको पनि प्रचारप्रसार भएको छ ।
लुम्बिनी भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले बुद्धजन्म मन्दिर, माया मन्दिर, त्यस क्षेत्रमा रहेको अशोक स्तम्भ, पवित्र पुष्करणी कुण्ड, त्यहाँका आध्यात्मिक तथा पुरातात्विक महत्वका वस्तुहरूकोबारेमा जानकारी लिएका थिए ।
प्रधानमन्त्री मोदीले दुवै देशको बौद्धस्थलहरूको एकीकृत रूपमा मिलेर विकास गर्नुपर्नेमा जोड दिँदै त्यसले दुवै देशलाई फाइदा हुने बताउनुले पनि बौद्ध सर्किट प्याकेज दुवै देश मिलेर बनाउनु पर्ने उनको धारणा रहेको बुझियो ।
यसअघि पनि प्रधानमन्त्री मोदी लुम्बिनी भ्रमणमा आउने कार्यक्रम तय भएको थियो तर अन्तिम समयमा आएर स्थगित हुँदा हामी पर्यटन व्यवसायी निराश भएका थियौं । तर अब हामी भने उत्साहित भएका छौं, मोदीको भ्रमणले लुम्बिनीको प्रचार भएको छ ।

लुम्बिनीको चर्चा भएको छ
सञ्जय बजिमय
सोटो, लुम्बिनी प्रदेश संयोजक

कोरोना संक्रमणका कारण अस्तव्यस्त भएको हाम्रो पर्यटन बजार विस्तारै सुध्रदैंछ । यसै क्रममा बुद्ध पूर्णिमाको दिन पारी छिमेकी देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल त्यसमा पनि बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण हुनु आफैमा ऐतिहासिक महत्व हो ।
भारतीय प्रधानमन्त्री बुद्ध जन्मस्थल लुम्बिनी पुगे भन्ने कुरा भारतमात्र नभई विश्वभर छरिएको छ । यसले विश्वका हरेक कुनामा रहेका बौद्धिष्टहरूलाई एक पटक भए पनि बुद्धजन्मस्थल पुग्नु पर्छ भन्ने सञ्चार गएको छ । धार्मिक पर्यटनको निकै महत्व दिने प्रधानमन्त्री मोदीले यसअघि विभिन्न समयमा पशुपतिनाथ, मुक्तिनाथ र जनकपुरधामको भ्रमण गरिसकेका छन् । मोदीको धार्मिकस्थलमा भ्रमण हुने बित्तिकै त्यहाँ धेरै भारतीय पुग्ने गरेका छन् । अहिले लुम्बिनी भ्रमण भएको छ । त्यसैले अब भारतीय पर्यटकहरू धेरै आउने अपेक्षा हामी गर्न सक्छौं ।
हामीकहाँ लुम्बिनी साथै अन्य धेरै बौद्ध सम्पदाहरू कपिलवस्तु र नवलपरासीमा रहेका छन् । अब तिनै जिल्लाका बौद्ध सम्पदाहरूको एकै साथ विकास गर्न जरुरी छ । लुम्बिनी, कपिलवस्तु र रामग्रामको बौद्ध परिपथ छिटोभन्दा छिटो सम्पन्न गर्न अतिआवश्यक छ । लुम्बिनीमा गुरुयोजनाअनुसारको धेरै काम सकिएको छ । तर कपिलवस्तु र रामग्राममा धेरै पर्यटक पुग्न सकेका छैनन् र त्यहाँ प्रवद्र्धनका कार्यहरू खासै भएको छैन । ती क्षेत्रहरूमा पनि भारतीयसँंगै अन्य पर्यटक पु-याउने योजना अब लुम्बिनी विकास कोषले ल्याउनु पर्छ । अझै पनि पर्यटकहरू लुम्बिनीमा एकैरात नबसी अन्यत्र लाग्ने गर्छन् । त्यसैले पर्यटकहरूलाई बास बस्ने अबधि बढाउने खालका कार्यक्रमहरू ल्याउनु पर्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणले लुम्बिनीमा भारतीय पर्यटक बढ्ने अपेक्षा हामी गर्न सक्छौं । त्यसैले भारतीय पर्यटकहरूको लुम्बिनी साथै यस क्षेत्रमा आउँदा केमा आकर्षण छ, त्यो बुझेर सोहीअनुसारको कार्यक्रमका प्याकेज बनाई अघि बढनु पर्छ । भारतीय पर्यटक भनेपछि हामीले अलि हेपाहा प्रवृत्ति देखाउँछौं, यो व्यवहार हटाउनु पर्छ । भारतीयहरू पनि अहिले खर्चालु भइसकेका छन् । जति धेरै राम्रा प्याकेज आउँछन्, त्यति धेरै पर्यटकहरूले खर्च गर्छन् । अब हामीले पनि खर्च गर्दा मन खिन्न नहुने खालका पर्यटक भित्र्याउनु पर्छ, भारतीयहरूलाई आकर्षित गर्दै विभिन्न योजना, स्किम ल्याउनु पर्दछ ।
जेहोस् भारतीय प्रधानमन्त्रीको लुम्बिनी भ्रमणले विश्वव्यापी रूपमा चर्चा भएको छ । यसले विश्वभरका बौद्धमार्गीहरूलाई एकपटक लुम्बिनी जानुपर्छ है भन्ने सन्देश पनि दिएको छ । उनको लुम्बिनी भ्रमणले धार्मिक पर्यटनलाई बढावा दिएको छ । धार्मिक पर्यटनको महत्व बढेको छ । नेपालमा लुम्बिनी संगै अन्य धार्मिकस्थलहरू धेरै छन्, त्यसैले पनि मोदीको भ्रमणले लुम्बिनीको महत्व धेरै बढेको छ ।

प्रतिक्रिया दिनुहोस्