अस्थायी टहरामा स्थायी कष्टकर जीवन «

अस्थायी टहरामा स्थायी कष्टकर जीवन

तस्बिर : कारोबार

गजुरी-घामपानीले थाङथिलो भएको च्यातिएको टेन्ट, कतिपयको जस्ताकै छानो जस्ताकै बारले बनेको अस्थायी जीर्ण टहरामा जीवन जिउँदै चामवास बाह्रबिसेका पहिरो पीडितहरू । बर्खामा हावाहुरी पानी, गर्मीमा खप्नै नसक्ने तातो गर्मी र चिसोमा कठ्याङ्ग्रिने जाडोमा जीवन जिउन बाध्य भएका पहिरो पीडितहरूको स्थानीय बसोबास गरेर जिउने आशमा दिनभर ज्याला मजदुरी गरिरहेका छन् । खान लाउन उस्तै सकस छ । मनभरि पीडा र आँखाभरी आँशु छ । करिब चार वर्षदेखि पहिरोले विस्थापित बनेका बाह्रबिसेबासीहरु भन्छन्, “गाउँ फर्किउँ पहिरोको डर, सरकारले गरिदिने बस्ती स्थानान्तरण भएन भर । हाम्रो बस्ती कसले र कहिले सार्देला ?’ उनीहरूको जीवित प्रश्न छँदैछ ।
धादिङको गजुरी गाउँपालिका–२ बाह्रबिसेकी ३८ वर्षीय सीता तामाङ अस्थायी टहरामा दुःखको दैनिकी बिताइरहेकी छन् । काखीमा सानी नानी च्यापेर कहिले बालुवा झिक्न पुग्छिन् त कहिले अरुको घरमा ज्याला मजदुरी गर्न । त्यतिले पनि उनको छाक सहजले टरेको छैन र फुर्सदमा गलैचा पनि बुन्छिन् । ५ साउन २०७५ सालमा आएको पहिरो उनको परिवार र गाउँलेको लागि नै कालो दिन बन्यो । उनी भन्छिन्, “पहिरोले गाउँ नभासिँदा कम्तीमा ओतलाग्ने छानो र दुई छाकको मानो त दुःखजेलो चलेको थियो । पहिरोबाट ज्यान जोगाउन गर्भ र काखमा ससाना नानी च्यापेर गाउँ छाडेको हुँ । अहिले दुई मुठी सास जोगाउन हम्य भएको छ ।” गहभरी आँसु पार्दै उनले सुनाइन् ।
अहिले वर्षात्को समय छ । कतिखेर हावाहुरी चल्छ पत्तै हुन्न । सीता भन्छिन्, “पानी प-यो भल चल्छ । हावाहुरी चल्दा सानी छोरी समाउँ कि ओतलाग्ने जस्ता हुन्छ । पिरै पिरको भारी छ । यो चार वर्षमा धेरै दिन खाली पेट, अनिदो रात अनि रोएर विताएको छु ।” काखीको नानी सार्दै बिलौला पोखिन् ।
अहिले उनीहरू गाउँपालिकाले व्यवस्था गरिदिएको भाडाको जग्गामा अस्थायी टहरा बनाएर बस्दै छन् । त्यो पनि जग्गा धनिले जग्गा छाडिदिन आग्रह गरेको छ । उनी भन्छिन्, “पहिरोले गाउँबाट लखेट्यो । अब यहाँबाट कहाँ जानु । गाउँमा पहिरो यता झनै समस्याको ओइरो । हामी त न घर न घाटको भयौं,” लामो सास फेर्दै उनले भनिन् ।
६८ वर्षीय धनमायाँ लामा गाउँमा पहिरो आउँदा भाग्दा भाग्दै ज्यान बचाएको बताउँछिन् । माथिबाट पहिरिने र तलबाट भासिएपछि उनले पनि गाउँ छाडेकी हुन् । उनी भन्छिन्, “त्यो दिन सम्झदा अहिले पनि जिउँ ढक्क फलेर आउँछ । कस्सो गाउँ नै बगाएन । चिराफारा भएर बस्नै नहुने भयो । हामी त स्वदेशमै परदेशी बन्यौँ । बस्ति सारिदिन पनि धेरैलाई भन्यौँ । तर चार वर्ष बित्दा पनि समस्या ज्यूँका त्यूँ छ,” उनले भनिन् ।
म त मरेर बाँचेको मान्छे । कसैले बाँच्छ भनेकै थिएन । धनमायाँ भन्छिन्, “हावाहुरी चल्यो, पाल उडाउन लाग्यो भनेर समाउँदै थिएँ, लडेछु । ढाड नै खुस्किएछ, हड्डी भाँचिएपछि छ महिनाभन्दा धेरै ओछ्यानमै थलिएँ । औषधि, झारफुक गरेँ । अहिले अलि अलि टाउको र जिउ चलाउन सक्छु । बस्ति सर्ला कि भन्दाभन्दै यही टहरामै ज्यान जान्छ जस्तो भयो । म त डाँडापारिको घाम भएँ । तैपनि मर्ने काल आएन बाँच्ने ताल आएन,” गहभरी भरिएको आँसु पुछ्दै उनले दुःख पोखिन् ।
सुनबहादुर तामाङको ६ जनाको परिवार एउटै टेन्टमा बस्छन् । खान, बस्न, सुत्न अनि पकाउन सबै एकै ठाउँमा छ । ओतलाग्ने छानो, जसोतसो टाउको लुकाएका छौं । खान लाउनै समस्या भएको उनले बताए । उनले भने, “आँगनबाट एउटा ढुंगा झ-यो भने पृथ्वी राजमार्गमै पुग्छ । तर हामी बाह्रविसेबासीले पेटभरी खान र इज्जत ढाक्ने एक सरो कपडा पाएका छैनौं । आफ्नो भएको जायजेथा पहिरोले भासिएपछि विस्थापित बन्यौं । न घर रह्यो न जग्गा जमिन । अहिले म डोको डालो बुन्छु । छोराछोरीहरु त्रिशूली किनारमा बालुवा चाल्न पुग्छन् । यसरी नै मुस्किलले दुइ छाकको जोहो भैरहेको छ । सुरक्षित ठाउँ सारिने आश्वासन मात्रै पायौं । तर ढुक्कले बस्ने दिन कहिल्यै आएन,” उनले भने ।
अस्थायी टहरामा दुःखले दैनिकी चलाइरहेका बाह्रविसेबासीको सुरक्षित ठाउँमा बस्ति स्थानान्तरण अझै अन्योलमा छ । पहिरोको जोखिमले विस्थापित बनेको उनीहरुलाई गाउँपालिकाकै संरक्षणमा पालिकाले भाडा तिरेर चेपाङटारीमा राखेको हो । विस्थापित कृष्णबहादुर तामाङ भन्छन्, “‘पालिकाको अध्यक्ष र उपाध्यक्षको नेतृत्वमा त्यतिखेर पटकपटक प्रमुख जिल्ला अधिकारीले अनुगमन गर्नु भएको थियो । त्यतिखेरै तत्काल समस्या समाधान हुन्छ भन्नुभयो । प्रायः सबै सिडियोले आएर हेर्नु भएको छ । हेर्छन् सिडियो फेरिन्छन्, चार वर्षमा चार सिडियो फेरिए तर हाम्रो न अवस्था फेरियो न व्यवस्था,” उनले भने ।
६० वर्षीय हर्कमान तामाङले भूकम्पपछि ऋणपान गरेरै भए पनि घर बनाए । तर कतिपयले सरकारी अनुदानसमेत लिन भ्याएनन् । बनेका भौतिक संरचनाहरु पनि बस्न योग्य रहेनन् । तामाङ भन्छन्, “धेरैको घर भत्कियो । जमिन चिराफारा बन्यो । अहिले हामी अन्यत्रै शरण लिएर बस्न बाध्य छौं । स्थानीय नेतागण, सिडियोदेखि मन्त्रीसम्म सबैले हेर्न आए । तर बस्ति सारिदिने आश्वासन मात्रै बाँडे । कि सुरक्षित बस्ती देऊ । कि नेपाली होइन भनेर सिमाना कटाइदेऊ,” उनले आक्रोश व्यक्त गरे । चुनावका वेला विभिन्न राजनितिक दलहरुले बस्ति स्थानान्तरण गरिदिने आश्वासन बाँडेका छन् तामाङले बताए । भन्न त सबै पार्टीले गर्छाैं भन्छन् । उनले भने, “तर हामीलाई चुनाव अगाडि नै सुरक्षित बस्ती चाहिन्छ भन्यौ पाएनौ ।”
पहिरोका कारण चिराफिरा भएपछि बाह्रबिसेका २१ घरधुरी नै विस्थापित भएका छन् । बस्ती नै पहिरोले भासिएपछि ज्यान बचाउन उनीहरु चेपाङटारी पुगेका हुन् । खानी तथा भू–गर्भ विभागले जोखिम क्षेत्र पहिचान गरेर बस्ती सार्न भनि प्रतिवेदन दिए पनि अझै शुरु हुन सकेको छैन । आधारभूत आवश्यकता समेत पहुचं नभएका उनीहरुको सुरक्षित बस्ति स्थानान्तरण प्रक्रियामै अल्झिएको हो ।
पहिरोले विस्थापित बनेका बाह्रबिसेबासीलाई सुरक्षित ठाउँमा बस्ती स्थानान्तरण गर्नु आवश्यकता छ । बस्ती स्थानान्तरण पनि गर्ने हो र अहिले प्रक्रियामै रहेको धादिङका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद व्यवस्थापन समितिका संयोजक कृष्णप्रसाद लम्सालले बताए । बाह्रविसे जस्तै बस्ती स्थानान्तरण गर्नुपर्ने धादिङका धेरै ठाउँ छन् । उनले भने, “धेरै ठाउँका पीडितलाई सुरक्षित ठाउँमा सारिसकेका पनि छौं । आवश्यकता र समस्या हेरेर सुरक्षित ठाउँमा बस्ती स्थानान्तरण गरिरहेका छौं । केही ठाउँका पीडितलाई सुरक्षित ठाउँमा सार्न बाँकी छ । बाह्रबिसेबासीलाई निकट भविष्यमै सुरक्षित ठाउँमा स्थानान्तरण गर्छाैं,” उनले भने ।
चार सिडियो फेरिँदा पनि बाह्रविसेबासीले सुरक्षित ठाउँ पाएनन् । अहिले सुरक्षित ठाउँमा स्थानान्तरण हुने आधार के छन् भन्ने प्रश्नमा उनले भने, “कार्यविधिअनुसार पालिकाले बस्ती पहिचान, नयाँ जग्गाको पहिचान तथा खरिद भएपछि निर्माण प्रक्रियाअघि बढ्छ । पालिकाले कार्यविधिअनुसार प्रतिवेदन दिएपछि सुरु हुन्छ,” सिडियो लम्सालले भने ।
बाह्रेविसेबासीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने प्रक्रियाअन्तर्गत विभिन्न ठाउँमा जग्गा हेरिसकेको गजुरी गाउँपालिकाका निर्वतमान अध्यक्ष राजेन्द्रविक्रम बस्नेतले बताए । उनले भने, “त्यो बस्ती बस्न योग्य छ छैन भनेर खानी तथा भू–गर्भ विभागको प्रतिवेदन कुरिरहेका छौं । रिपोर्ट आउने बित्तिकै सुरक्षित ठाउँमा बस्ती स्थानान्तरणको काम अघि बढ्नेछ,” उनले भने ।

अस्थायी टहरामा सानी नानी काखी च्यापेर खान बनाउने तयारी गर्दै सीता तामाङ ।

प्रतिक्रिया दिनुहोस्